काठमाडौं । सरकारमा पुगेका मन्त्रीबीच पदीय हैसियतको विषयलाई लिएर मनमुटाव सुरु भएको छ ।
वरीयताक्रममा को ठूलो भन्ने विषयले अनौपचारिक रूपमा गठबन्धनभित्र प्रवेश पाएको छ ।
नवगठित मन्त्रिमण्डलमा प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरीयताको पहिलो नम्बरमा छन् ।
कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सरकार बनाएका प्रचण्डले एमालेका नेता विष्णु पौडेललाई दोस्रो वरीयतामा राखेर उपप्रधानमन्त्री बनाएका छन् ।
पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिएर काम सुरु गरिसकेको अवस्थामा पहिलो दिन नै उपप्रधान तथा भौतिक पूर्वाधार मान्त्रीको रूपमा माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि काम सुरु गरेका थिए ।
नारायणकाजी अहिले तेस्रो वरीयतामा रहेका छन् । चौथो वरीयतामा भने यसै पटक संसद्मा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने रहेका छन् । उनी उपप्रधान तथा गृहमन्त्री हुन् ।
खासगरी अहिले वरीयता विवाद श्रेष्ठ र पौडेलका बीचमा देखिएको हो । श्रेष्ठले आफू मर्यादाक्रममा दोस्रो हुनुपर्ने माग गरिरहेका छन् । यदि यो मागको सुनुवाइ नभए उनी सरकारमा नबस्नेसम्मको मनस्थिति बनाएका छन् । मर्यादाक्रमको असन्तुष्टिकै कारण श्रेष्ठ मन्त्रालय पनि नगएको बुझिएको छ । शपथग्रहणपछि कार्यभार सम्हाल्न मन्त्रालय पुगेका श्रेष्ठ त्यसपछि गएका छैनन् ।
मन्त्री श्रेष्ठले मन्त्रालय नजानुको कारण आफू अस्वस्थ रहेको बताए पनि मर्यादाक्रमप्रतिको असन्तुष्टि रहेको उनी निकट स्रोतले देशान्तरलाई बतायो । यसैलाई बुझेर प्रधानमन्त्री प्रचण्डले एकसाता भित्रै यो निर्णय सच्याउन तयार भएको पनि बताइएको छ ।
तर यस्ले एमाले र माओवादीबीचको सत्ता समीकरणमा तिक्तता ल्याउन सक्ने राजनीतिक क्षेत्रमा विश्लेषण पनि हुन थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली यो निर्णयप्रति सकारात्मक हुन्छन् या हुँदैनन् त्यो हेर्न भने बाँकी नै रहेको छ । ओलीकै चाहनामा पौडेललाई दोस्रो वरीयतामा राखिएको हो । तर इतिहास र वरीयताको अभ्यास हेर्दा श्रेष्ठ नै दोस्रो वरीयतामा रहनुपर्ने हो ।
किनकि उनी पौडेलभन्दा पहिले नै उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहेका थिए । यही पदीय मर्यादाक्रमको कारण पौडेल वा श्रेष्ठले सरकार छोड्ने अवस्था आयो भने वर्तमान गठबन्धन सहज ढंगले अघि बढ्नेमा शंका छ ।
प्रतिक्रिया