देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहयोगीलाई सखाप पार्ने देउवा नीति

देशान्तर

काठमाडौं ।  सधैं धोका, बेइमानी छलकपट र खरिद बिक्रीलाई अस्त्र बनाई आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै ढिँडका कारण सरकारसहित सब राजकीय पदबाट नेपाली कांग्रेस विमखु बन्दा पनि विगतकै अस्त्र अहिले आफ्नामाथि प्रयोग गर्न छाडेका छैनन् ।

विरोधीहरूमाथि यस्तो अस्त्र प्रयोग गर्नुपर्नेमा उनी अव आफ्नै सहयोगीहरूलाई समेत यही नीति अख्तियार गर्न थालेका छन् । यसको पछिल्लो पात्र उनलाई निरन्तर हरेक प्रकारका सहयोग गरी आएका पार्टीका युवा व्यक्तित्वहरू इन्द्र बानियाँ, राजीवविक्रम शाह र अमृत अर्याल भएको स्पष्ट छ ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री बनाउने आश्वासन दिएर केन्द्रीय सदस्य राजीवलाई जाजरकोटको प्रदेशसभामा देउवाले पठाएका थिए । त्यहाँ गठबन्धनबाट सवै सिटमा सफलता हात पार्दा राजीव मुख्यमन्त्री बन्नका लागि कर्णाली प्रदेशको संसदीय दलको नेताका लागि आकांक्षा देखाएका थिए । तर अन्तिममा देउवाले उनलाई रोक्दै समर्थक र प्रस्तावक बस्नेलाई पनि तारो बनाउने रणनीति अपनाएपछि राजीव पछि सर्न बाध्य बने । उनी अहिले देउवाले आफ्नो राजनीतिक करियर नै ध्वस्त पारेका भनी बताउने गरेका छन् । राजीव संसदीय दलको नेता बन्ने सम्भावना नभएपछि अहिले पनि जीवनबहादुर शाही नै सर्वसम्मत कर्णाली प्रदेशको संसदीय दलको नेता बनेका छन् ।
यता, काठमाडौंमा हरेक प्रकारले सहयोग गर्दै आएका बागमती प्रदेशका सभापतिसमेत रहेका इन्द्र बानियाँमाथि पनि देउवा कठोर देखिएका छन् ।

लामो समयदेखि मुख्यमन्त्री बन्ने प्रयासमा रहेका बानियाँ संसदीय दलको नेतामै पराजित हुन पुगे । हुन त केन्द्रमा गठबन्धन भत्किएकाले अहिले नै मुख्यमन्त्री बन्ने सम्भावना नरहे पनि देउवाले नुवाकोटबाट निर्वाचित बहादुरसिंह लामालाई मत हाल्नका लागि निर्देशन दिएका थिए । हेटौंडामा भएको संसदीय दलको चुनावमा लामाले २१ मत प्राप्त गर्दा १६ मत मात्रै पाएका थिए । बागमती प्रदेशमा नेपाली कांग्रेसले ३७ सिट जितेको छ ।

उता, मुख्यमन्त्री बन्ने लक्ष्यका साथ प्रदेशमा झरेका अर्का नेता हुन् अमृत अर्याल । प्रदेश १ मा मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दा कृष्ण सिटौला पक्षका उद्धव थापाले बाजी मारे । संस्थापन पक्षबाट दुई जना उम्मेदवार भएकाले दोस्रो चरणमा मात्रै नतिजा आउने अपेक्षा गरिए पनि थापाले बाजी मार्दा देउवाका विश्वासिला भएर काम गरेका अर्याल भने तेस्रो स्थानमा रहे । अझ रोचक कुरा के हो भने संसदीय दलको उम्मेदवार बन्नका लागि प्रस्तावक र समर्थक पनि चाहिन्छ । यसरी हेर्दा उनी आफूसहित प्रस्तावक र समर्थक गरेर कम्तीमा ३ मत आउनुपर्ने हो ।

तर अर्यालले जम्मा २ मतमात्रै प्राप्त गरेपछि पार्टीभित्रै यस विषयमा व्यापक चर्चा भइरहेको छ । संसदीय दलको नेतामा उद्धव थापा १८ मत पाएर विजयी हुँदा शेखर कोइराला निकट केदार कार्कीले ९ मत पाएर दोस्रो भए । संस्थापन पक्षमा पनि सभापति शेरबहादुर देउवा निकट मानिएका मोरङका अमृत अर्याल भने आफ्नै समर्थक र प्रस्तावकको पनि मत पाउनबाटै वञ्चित बने ।
देउवा पक्षमा ११ सांसद थिए । सिटौला र शेखरका पक्षका सांसदको संख्या समान ९–९ जना थियो । अर्याल निकटहरूले सभापति देउवाले सिटौलाको कुरा सुनेर आफ्नो पुराना सहयोगीलाई धोका दिएको आरोप लगाएका छन् ।
माथिका तीन वटा संसदीय दलको नेता चयन गर्ने चुनावको नतिजाका कारण पनि देउवाले अब छानीछानी आफ्नै विश्वासिलाहरूलाई पाखा लगाउँदै गएको प्रष्ट देखिन्छ ।