काठमाडौं । विश्वविख्यात फुटबलर पेलेको निधन भएको छ । ८२ वर्षको उमेरमा पेलेले ब्राजिलको साउपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । केही दिनअघि मात्र चिकित्सकले पेलेको क्यान्सरमा वृद्धि भएको बताएका थिए । उनको गत सेप्टेम्बर २०२१ मा आन्द्राबाट ट्युमर निकालेपछि पेले निरन्तर चिकित्सकको निगरानीमा रहेका थिए ।
कतारमा विश्वकप फुटबलको रौनक बढिरहेका बेला पेलेको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्रबार केलीले उनी र परिवारका अन्य सदस्यले पेलेको पार्थिव शरीरमा हात राखेको तस्बिर राख्दै ‘हामी जे छौं सबै तपाईंलाई धन्यवाद छ । हामी तपाईंलाई असीम माया गछौँ । हार्दिक श्रद्धाञ्जलि’ लेखेपछि उनको निधन भएको पुष्टि भएको थियो ।
सोमबार बिहान उनको पार्थिव शरीरलाई अस्पतालबाट सान्तोसनजिकै रहेको स्टेडियो अबार्नो काल्डेरामा राखिने अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् । मंगलबार साओ पाओलोको सान्तोसमा शवयात्रापछि अन्त्येष्टि गरिनेछ ।
महान् फुटबल खेलाडी पेलेको निधनमा ब्राजिलमा तीन दिनको राष्ट्रिय शोक भन्दै सार्वजनिक बिदाको घोषणा गरिएको छ । २३ अक्टोबर १९४० मा ब्राजिलको एउटा गाउँमा जन्मिएका एडसन अरान्ते दो नासिमेन्तो पैसाको अभावमा कागजका डल्ला र मोजाको बल खेल्दै हुर्किएका उनी बाल्यकालमा डिको उपनामले परिचित थिए भने नासिमेन्तोलाई पछि संसारले पेलेको नामबाट चिनेको थियो ।
अमेरिकी आविष्कारक थोमस एडिसनबाट प्रेरित भएर उनको नाम एडसन अरान्तेदो नासिमेन्तो राखिए पनि परिवारका सदस्यले उनलाई मायाले डिको भनेर बोलाउँथे ।
पेले नाम कसरी रहन गयो त ? एडसनको उच्चारणमा समस्या थियो । उनको मनपर्ने एक ब्राजिलियन क्लबको गोलकिपरको नाम बिले थियो । तर उनी, पिले भनेर उच्चारण गर्दथे । साथीहरूले डिकोलाई पेले भनेर गिज्याउन थाले । आफ्नो नाम बिगारिदिएको भन्दै एडसनले साथीहरूसँग निकै झगडा गरेको कुरा पनि उनको आत्मकथामा उल्लेख गरिएको छ । पोर्चुगिच भाषामा पेले शब्दको अर्थ नभेटिए पनि हिब्रो भाषामा पेले भनेको मिराकल अर्थात् ‘जादु’ हो ।
पेलेका पिता पनि स्थानीय स्तरमा नाम चलेका व्यावसायिक खेलाडी थिए । सानैमा फुटबलसँग जोडिएका उनलाई विश्वकप विजेता खेलाडी भ्लादिमिर डी बिर्ताले व्यावसायिक करियरमा जोडे । १५ वर्षको उमेरमै सान्तोस क्लबमा जोडिएका पेलेले पहिलो सिजनमै ३२ गोलका साथ लिगको उच्च गोलकर्ता बनेपछि पेलेलाई राष्ट्रिय टिममा बोलाइएको थियो । १७ वर्षको हुँदा सन् १९५८ को विश्वकप खेल्ने टिममा छानिएका पेलेको यात्रा फुटबलको उच्चतम् बिन्दुमा पुग्यो ।
विश्वकप खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पेले पहिलो सहभागितामै ग्लोबल स्टार बनेका थिए । उनले फाइनलमा घरेलु टोली स्विडेनलाई पराजित गर्दा पेलेले दुई गोल गरेका थिए । पहिलो पटक ब्राजिलले विश्वकप फुटबलको उपाधि जित्दा फाइनलमा उनको टिम ५–२ गोल अन्तरले विजयी भयो । पेलेको यात्रा त्यसपछि झनै उच्च लयमा पुग्यो । उनले अर्को संस्करण १९६२ मा पनि ब्राजिललाई विश्वकप दिलाउन महत्वपूर्ण योगदान गरे । ४ वटा विश्वकप खेलेको पेलेले ३ वटा विश्वकपको उपाधि नै जिते । अहिलेसम्म सर्वाधिक तीन विश्वकप जित्ने पेले एकमात्र खेलाडी हुन् । १९७० को विश्वकप फाइनलमा ब्राजिलले इटालीमाथि चार–एक गोलको जित निकाल्दा पेलेले नै पहिलो गोल गरेका थिए । सो गोल विश्वकपमा ब्राजिलको एक सयौं गोल थियो ।
६० र ७० को दशकमा पेले राष्ट्रिय टिम र सान्तोसबाट विश्वका विभिन्न ठाउँमा पुगे । जहाँ पुग्थे त्यहाँ समर्थकहरूको ओइरो लाग्थ्यो । १९६७ मा पेले नाइजेरिया भ्रमणमा जाँदा त्यहाँ गृहयुद्ध चलिरहेको थियो । तर पेलेको खेल हेर्न दुवै पक्षले ४८ घण्टा युद्धविराम गरेको कुरा उनकै पुस्तकमा पनि उल्लेख गरिएको छ । १९६१ मा ब्राजिलले, पेलेलाई स्वदेशमै रोक्न राष्ट्रिय सम्पत्ति घोषणा गरेको थियो । २२ वर्षको करियरमा एक हजार दुई सय ८३ गोल गरेका पेलेले ९२ ह्याट्रिक गरेका छन् । राष्ट्रिय टिमबाट पेलेको नाममा ७७ गोल छ । १९७७ अक्टोबर १ मा करियरको अन्तिम फुटबल खेलेका पेलेले पहिलो हाफ सान्तोस र दोस्रो हाफ कसमसबाट खेलेका थिए ।
१९६९, नोभेम्बर १९ मा करियरको एक हजार गोल पूरा गर्दा मैदानमा समर्थकको भीड लाग्यो । जसका कारण ३० मिनेट खेल नै रोक्नु परेको थियो । सन् १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट एथ्लिट अफ दी सेन्चुरी घोषित भएका पेले मैदानबाहिर पनि उत्तिकै चर्चित छन् । युनिसेफ र संयुक्त राष्ट्रसंघको दूत बनेर लाखौं बालबालिकाका लागि काम गरेका पेलेले भ्रष्टाचार निवारण र वातावरण संरक्षणमा पनि महत्वपूर्ण योगदान पु¥याए । १९९५ देखि १९९८ सम्म ब्राजिलको खेलकुदमन्त्री बनेका पेले वर्तमान पुस्ताको पनि प्रेरणाको स्रोत हुन् । यसैगरी अर्का स्टार खेलाडी अर्जेन्टिनाका डिएगो म्याराडोनाको पनि सन् २०२० को नोभेम्बर २५ मा निधन भइसकेको छ । पेलेभन्दा २० वर्ष कान्छा म्याराडोना र उनी शताब्दीकै महान् खेलाडी घोषित थिए । यी दुवै खेलाडीको निधनसँग विश्व फुटबलमा एक युगको अन्त्य भएको रूपमा अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरूले उल्लेख गरेका छन् ।
प्रतिक्रिया