देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको बिचल्ली

देशान्तर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको बल र साथमा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका नेता माधवकुमार नेपाललाई अहिले तिनै दाहाल प्रधानमन्त्री बन्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुगेसँगै उनको बिचल्ली बन्न पुगेको छ ।

केपी ओलीले दाहाललाई प्रधानमन्त्री दिन अस्वीकार गरेपछि तत्कालीन नेकपा (एमाले र माओवादी केन्द्र मिलेर गठन भएको पार्टी) मा दरार सुरु भएको थियो । दाहाललाई प्रधानमन्त्री बनाउन हामी यहाँ छौं भन्दै माइतीघरको सडकमा पलेँटी कसेर बस्नसमेत दाहाल र नेपाल पछि परेनन् ।

ओलीविरुद्ध एक ठाउँमा उभिएका दाहाल र नेपालको दोस्तीका दृश्य पछिल्लो दुई वर्षमा धेरै देखियो । जब १० पुसको बिहानसम्म पनि दुई नेता एक ठाउँमा थिए । तर सत्ता समीकरणमा आएको फेरबदलसँगै दाहाल प्रधानमन्त्री बन्दा नेपाल किनारामै छुटेका छन् ।

चुनावी तालमेलका कारण प्रत्यक्षतर्फ १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टीसमेत बन्न नसक्दा नेपाल माथि उनकै नेता तथा कार्यकर्ताको पनि पार्टी एकताका लागि दबाब पर्दै आएको छ । तर, एमाले अध्यक्ष ओलीले नेपाल र अर्का नेता झलनाथ खनालबाहेकका नेतालाई आफ्नो पार्टीमा सधैं स्वागत रहेको बताउँदै आएका छन् । कांग्रेस नेतृत्वको गठबन्धन कायम हुँदा फेरि सत्तारोहणको सम्भावना नेता नेपालले देखेका थिए भने पार्टीका नेता तथा कार्यकर्तालाई राज्यका विभिन्न ठाउँमा व्यवस्थापन र अवसरको आश्वासन दिँदै आफू नेतृत्व पार्टीमा अड्याउँदै आएका थिए । उस्तै परे दाहाल नेतृत्वको माओवादीसँग पार्टी एकीकरण गरेर समाजवादी केन्द्र बनाउने नेपालको तयारी थियो । तर, दाहालले उनलाई बीचमै छाडेर एमालेसँग सत्ता साझेदारी गरेसँगै नेता नेपाल अहिले घर न घाटको बन्न पुगेका छन् ।

नेता नेपाल आफूलाई ओलीबाट जस्तै दाहालबाट पनि धोका भएको भन्दै सरकारमा सहभागी नहुने पक्षमा छन् । तर, उनका पार्टीका नेता तथा कार्यकर्ताले सरकारमा सहभागी हुन नेतृत्व माथि दबाब खडा गरिरहेका छन् भने एमालेसँग हरहालतमा पार्टी एकता गर्नुपर्ने भन्दै नेपाललाई सुझाउँदै आएका छन् । पार्टी एकीकरण गरेर एमालेको भागमा परेको राष्ट्रपति बन्न उनलाई केहीले सुझाउँदै आएका छन् । जीवनको उत्तराद्र्धमा रहेका नेपाललाई उक्त पदले केही आकर्षण गरेको छ । तर, उक्त पद पाउने निश्चित कहीँ कतैबाट देखिएको छैन । ओलीले उनलाई पार्टीमा ल्याएर राष्ट्रपति देलान् भन्नेमा नेपाल आफैं ढुक्क देखिएका छैनन् । जसले गर्दा के गर्ने भन्ने अन्योल र दोधारमा रहेका नेपाल निरन्तर पार्टीको बैठकमा छन् ।

विभिन्न तहका नेता तथा कार्यकर्तासँग छलफलमा जुटेका उनलाई आफ्नो स्वार्थ र अनुकूलतामा सुझावहरू दिएका छन् । त्यसले थप अन्योलता बढाएको छ भने दाहाल नेतृत्वको सरकारमा सहभागी नहुँदा पाँच वर्ष नै सत्ताको किनारामा परिने त होइन भन्ने आशंका पनि उनीमा छ ।

सहभागी हुँदा पनि अहिलेको गठबन्धन कति टिकाउ हुन्छ भन्नेमा नेपाल आस्वस्त हुन सकेका छैनन् । सरकारमा नजाने निर्णय गर्दा पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन सांसद पनि एमाले र माओवादीमा गएर आफ्नो अवस्था थप कमजोर हुने त होइन भन्ने आशंकाको भुँमरीमा नेता नेपाल पुगेका छन् । जसले गर्दा नेपालका लागि दाहाल नेतृत्वको सरकार नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाबुको अनुहार जस्तो भएको मात्र छैन उनमा देखिएको दुविधा र विचलनले आगामी दिन थप चुनौतीपूर्ण बन्ने देखिएको छ । यसबीचमा एकीकृत समाजवादीले अहिले नै एमालेसँग कुनै पनि हालतमा एकता पनि नहुने र वर्तमान सरकारमा पनि सहभागी नहुने प्रष्ट पारेको छ । शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले यसबारेमा प्रस्टसँग ब्रिफिङ गरेका छन् ।