देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको कचौरामा सिलावरको सिक्का माग्नेहरू


लठजी आज्ञा गर्नुहुन्छ । हे बैरी हो, तिमीहरूलाई अघिल्लो अध्यायमा सेतो जंगलभित्र रंगीविरंगी चराहरूको कथा श्रवण गराए । अब तिमीहरूलाई के सुन्नको इच्छा छ बिन्ती गर । लठजीको आज्ञा सुनी बैरीहरू फेरि बिन्ती गर्दछन् । हे स्वामी सेतो जंंगलभित्र प्रवेश गरेका फिरंगी रंगीबिरंगी चराहरूले आफ्नो आहारका लागि अझ के गर्न सक्छन् ? हामी बैरीहरूले कसो गर्नु पर्ला आज्ञा गर्नु हवस् ।
बैरीहरूको मनले सुन्न इच्छा जाहेर गरेपछि लठजी आज्ञा गर्नुहुन्छ । हे बैरी हो । सेता जंगलभित्र प्रवेश गरेका रंगीबिरंगी फिरंगी चराहरूले अबका दिनमा के गर्नेछन् भन्ने कुरा तिमीलाई चिन्ता लागेको रहेछ, चिन्ता नलिनु । यिनी रंगीबिरंगीरूपमा रहेका फिरंगीहरूले आफ्नो स्वामीले हिजो जसोजसो भनेर पठाएका छन्, तिनीहरूले त्यसै त्यसै गर्नेछन् । अर्थात् तिमीजस्ता बबुराहरूका लागि यिनीहरूले केही पनि गर्ने छैनन् ।
आफ्नो स्वार्थपूर्तिका लागि, सत्तामा आसीन हुनका लागि जस्तोसुकै कुकर्म पनि गर्न तयार हुन्छन् । कसरी भने हिजो १७ हजारलाई बली चढाएका भगुवान् र सातै महिनामा उदाएका भगुवान्हरू आफूले चाहेको जस्तो भए राम्रो र आफूले भने जस्तो नभए सवै खराब हो भन्ने प्रमाणित गराउन चाहन्छन् ।

जसरी रूखको टुप्पामा बसेर टुलुटुलु हेरिरहेको र्‍याले लाटोकसेरोले आफ्ना रूखका हाँगामा पलाएका राम्रा नराम्रा फलफूललाई सम्हाल्न नसक्दा भएभरका रूखका पातहरू ओइलिएर झरे । त्यसैगरी अहिले ती रंगीबिरंगीचराहरू पनि क्रमशः पलायन हुनेछन् । फिरंगीहरूले हालेर पठाएका प्वाँखले ती चराचुरुंगी उड्न निकै कठिन हुनेछ ।

लठजीको आज्ञा सुनी बैरीहरू फेरि बिन्ती गर्दछन् । हे लठजी त्यो कसरी सम्भव होला र ! हजुरकै मुखारबिन्दबाट पाँच वर्षका लागि रंगीबिरंगीफिरंगी चराचुरुंगीले हामी माथि कब्जा जमाउँछन् भन्ने कुरा आदेश भएको थियो होइन र ?
बैरीको कुरा सुनी लठजी भन्नुहुन्छ । तिमीले मनासिब कुरा गर्‍यौं । तर, बाहिर हेर्दा जे कुरा गरिएको छ त्यो कुरा व्यवहारमा लागू भएको देखिँदैन भन्ने कुरा तिमीले बुझ्नु जरुरी छ । समुद्रपारिका स्वामी र उत्तर दक्षिणतिरका स्वामीको नुन खाएकाहरूले उनैको भक्तिगान गर्नेछन् । उहाँकै आदेशलाई शिरोपर गर्ने, ल्याए अर्‍याएको मात्र गर्ने हुन् । यिनीहरूसँग अलौकिक क्षमता भएर राजकाज सम्हाल्न आएका पटक्कै होइनन् ।

मंसिर ४ गतेसम्म गोरु नारिए झैं नारिएर सँगै हिँडेका । अर्को दशकसम्मसँगै हिँड्ने भनेर एकले अर्काको पुच्छर समाउँदै एउटै मुख बनाएर हिँडेका फिरंगीहरू आफूले चारा नपाउने भएपछि गुँड छाडेर हिँडेको तिमीले देखेका छौं । यसले गर्दा अबको ९ महिना यिनीहरूले आफूलाई चाहेको जस्तो गर्नेछन् । राज्यको ढुकुटी रित्याउँदै जानेछन् । आफ्ना भाइसालाका लागि सबै थोक गर्नेछन् । जसरी र्‍यालेका कारण रूखका पात पतिंगर सबै झरेर मात्र गएनन् अब भएभरका उडाएर लैजानेछ । दूतदेखि द्वारेसम्मलाई गलहत्याइनेछ । अनि फेरि नयाँ हुक्के, चिलिमे, द्वारे, कोठे, भान्छे नयाँरूपधारण गरेर आउनेछन् । तिमीहरूले निकै कष्ट व्यहोर्नु पर्ने देखिएको छ ।

जसरी र्‍याले लाटोकोसेरोले आफूसँग भएको र अझै धेरै कुरा प्राप्त गर्न सक्ने अवस्था हुँदाहुँदै पनि मै खाऊँ मै लाऊ भनेकै कारण सुनको कचौरामा सिलावर माग्न खोज्दा भएको सबै चिज गुमेको तिमीलाई इतिवृत्तान्त बताइसकेको छु । त्यसैले पनि अहिले सिंहदरबारमा पुगेको फिरंगीहरू पनि आफैं युद्धमा जान सक्ने अवस्था देखिँदैन । यिनीहरूको प्रमुख स्वार्थ भनेको जसरी हुन्छ । सिंहदबार कब्जामा लिने भन्ने हो । यिनीहरूले नीति निर्माण गर्ने बागडोर सम्हालेपनि मंसिर ४ गतेभन्दा अगाडि बालेको सबै कुराहरू क्रमशः बिर्सिदै जानेछन् ।

हे बैरी हो ! तिमीहरूले बुझ्नुपर्ने कुरा के छ भने अहिलेको हिमालखण्डमा रहेका सातैवटा खण्डमा जसरी हुन्छ सत्तामा पुग्ने र मोजमस्तीमा रमाउने भन्ने नै देखिन्छ । छविलालहरू सत्तामा केन्द्रित भएका छन् । र्‍यालेका कारण छविलाल र उखानेहरूले सातैवटा खण्ड आफ्नो मुठ्ठीमा पार्ने प्रयास गरेका हुन् । कलियुगको प्रभाव अहिले परिरहेको छ । कलीको अन्त्य अवस्था भएकाले पनि जसरी हुन्छ पापीहरूले नै राज गर्नेछन् । नारीहरू अवला हुनेछन् । ३३ प्रतिशतको रटान गरे पनि शक्तिमा पुग्न हरतरहबाट रोक्नेछन् । गाईको पूजा गर्न छाडेकाहरू भैंसी पूजा गरेर दरबार छिर्नेछन् । धर्मलाई नासेर कुधर्मलाई हातमा लिएर द्रव्य पिचासका रूपमा परिणत हुँदै जानेछन् । राज्यको ढुकुटी रित्याउने काम नै यिनीहरूको धर्म हुनेछ । भोका नाङ्गाहरूको नाम जपेर उनै माटो बेच्नेहरूसँग उठबस हुनेछ । तस्करी, नक्कली राष्ट्रवादको खोल ओडेकाहरू यिनीहरूको मितेरी साइनो हुनेछ ।

लठजीको कुरा सुनी बैरीहरू विरक्तिएको अनुहार लगाउँदै फेरि बिन्ती गर्दछन् । त्यसो भए हाम्रा सन्ततिले कहिले सुख पाउँलान् । कहिले पुस्तान्तरण हुने संकेत देखिन्छ त ?

बैरीहरूको जिज्ञासाले लठजीलाई निकै नै पीडाबोध हुन्छ । किनकि उनले त्यस्तो संकेत नै देखेका छैनन् । बैरीहरूका पुस्तौपुस्ताले पनि परिवर्तनको महसुस गर्न सक्ने सम्भावना देखिँदैन । तै पनि लठजी बैरीहरूलाई आज्ञा गर्छन् ।
हे बैरीहरू हो । तिमीहरूको यो पुस्तामा कहीँरूपान्तरण हुँदैन । तिम्रा छोरा बुहारीहरू, छोरी ज्वाईंहरू मुग्लान भाँसिएर त्यहाँबाट पठाएको रेमिट्यान्सले नै मुलुक चलिमात्र रहन्छ अर्थात् यहाँका तीन सरकारका मालिकहरू पाल्ने काम मात्र भइरहेको छ र भइरहनेछ । त्यसकारण पनि परिवर्तन हुँदै हुँदैन । माटोमा सुन फल्ने ठाउँमा भएर पनि विष रोप्ने र फलाउने कार्य फिरिंगीहरूले गरिरहेका छन् ।

फिरंगीहरूले तिमीहरूलाई सुखको सास फेर्न दिँदैनन् । जबसम्म तिमीले र तिम्रा पुस्ताले यस्ता फिरिंगीका दूतलाई रेमिट्यान्सको रकमले पालिरहनेछौं तवसम्म तिमीहरूलाई दुःखले छाड्ने छैन । तिमीहरू त सुनको थाली थापेर सिलावर मागिरहेका छौं । यसको अन्त्य गर्न आफैंबाट सरु गर । आजै र अहिलेबाटै सुरु गर । अनि मात्र केही होला अन्यथा पशुपतिनाथको भरोस् ।