काठमाडौँ – लगातार दुई दिन बढेको शेयर बजार बुधबार घटेको छ । सोमवार ५६ र मङ्गलवार ५९ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से बुधबार भने ११ दशमलव ८१ अङ्कले घटेर एक हजार ९ सय ७२ दशमलव १५ विन्दुमा झरेको हो ।
बुधबार फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
शेयर बजारसँगै बुधबार कारोबार रकम पनि घटेको छ । दुई सय ५७ वटा कम्पनीका ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब १५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको आठ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । बुधबार माहुली लघुवित्त वित्तीय संस्थाको शेयर सबैभन्दा धेरै पाँच दशमलव २० प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्सुरेन्स, धौलागरिरि लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया