काठमाडौं- भ्रष्टाचारकाे मुद्दा खेपिरहेका कांग्रेस सांसद तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ ।संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वतस् निलम्बनमा परेको जनाएको हो ।गुरुङ नेपाली कांग्रेसको तर्फबाट मनाङबाट निर्वाचित भएका थिए ।
प्रतिनिधिसभाका सदस्य टेकबहादुर गुरुङउपरको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेकोमा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था छ ।
कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका व्यक्ति भए पनि त्यसविपरीत बिहीबार सांसद पदको शपथमा सहभागी भएका थिए । गुरुङमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलिरहेकोले उनको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।
प्रतिक्रिया