काठमाडौं । नेपाल क्रिकेट संघ क्यान निलम्बन फुकुवा गर्दा राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सर्त नै राखेको थियो । तत्कालीन सदस्यसचिव केशवकुमार विष्टले रमेश सिलवालको नाममा क्यानको तदर्थ समिति बनाएपछि निलम्बनमा परेको क्यान आईसीसीको गाइडलाइनअनुसार चलेपछि नयाँ कार्यसमिति निर्वाचित भएर आयो । हो यही अहिले कायम रहेको चतुरबहादुर चन्द नेतृत्वको कार्यसमितिले पदभार ग्रहण गरेपछि क्रमशः आईसीसीले निलम्बन फुकुवा गरेको थियो भने एक वर्ष अघिमात्रै आर्थिक अधिकार पनि पायो । पहिला क्यानले कार्यक्रम तयार पारेपछि त्यसका लागि मात्रै फन्डिङ गर्दै आएको आईसीसीले अहिले पूर्ण अधिकार क्यानलाई दिइसकेको छ । तर, क्यानभित्रको आन्तरिक राजनीतिका कारण भनेजस्तो सहज अवस्थामा छैन । निर्वाचित सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिए भने अहिले कार्यवाहक सचिवले काम गरिरहेका छन् । क्यान पहिलो पटक नियुक्त गरेको जनरल म्यानेजर पनि अहिले बाहिरिएर नयाँ आइसकेका छन् ।
क्यानका अध्यक्ष चन्दले निर्वाचित भएर पहिलो पटक सार्वजनिक रूपमा मिडियामा बोल्दा क्यानले आफ्नै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताएका थिए । यस विषयमा त्यतिबेला नै पक्ष र विपक्षमा कुराहरू आए पनि अन्ततः क्यानको साधारणसभाले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नेपाल टी २० लिग आयोजनाका लागि जिम्मा दियो । ८ करोडमा राइट्स बेचेपछि क्यानकाबारेमा संसद्मै समेत केही सांसदहरूले यसको विरोध गरेका थिए भने, यसअघि क्यान निलम्बनमा परेका बेला फ्रेन्चाइज क्रिकेट गर्दै आएका आमिर अख्तरले सर्वोच्च अदालतदेखि अख्तियारसम्म र संसदीय समिति जताततै उजुरी हालेका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि क्यानले प्रतियोगिता आयोजना गर्न पाएको हो । पटकपटक सर्दै आएको नेपाल टी २० लिग शनिबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । ६ टिमले प्रतिस्पर्धा गर्ने खेलको विजेताले नगद ५५ लाख, उप विजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुने टिमले ५ लाख प्राप्त गर्नेछन् ।
यसैगरी ए श्रेणीका खेलाडीले १५ लाख, बी श्रेणीका खेलाडीले १० लाख र सी श्रेणीका खेलाडीले ५ लाख प्राप्त गर्दैछन् । नेपाली क्रिकेटलाई ब्यावसायिकतातर्फ लैजानका लागि क्यानले सुरु गरेको नेपाल टी २० लिग आफैंमा राम्रो प्रोजेक्ट भए पनि यसभित्र र बाहिर देखिएका कुराहरूले भने आम नेपाली क्रिकेट समर्थकलाई भने निराश नै बनाएको छ । क्रिकेट पूर्वाधारका कुरा गर्ने हो भने त्रिवि क्रिकेट मैदानबाहेक अन्यत्र अन्तर्राष्ट्रिय स्तरको मैदान अझै तयार भइसकेको छैन ।
क्यानका अध्यक्ष चन्दले पूर्वाधार निर्माणका लागि क्यानले पहल गरिरहेको बताए पनि सवै संरचना राखेपअन्तर्गत रहेकाले सरकारले यसमा विशेष ध्यान दिनुपर्नेमा जोड दिन्छन् । यसैगरी नेपाली क्रिकेट बिगार्नका लागि अहिले विभिन्न व्यक्ति र शक्तिहरू लागिपरेको बताउँदै राम्रो उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएकाले कसैको स्वार्थपूर्तिका लागि क्रिकेट बन्धक बन्न नदिने बताउँछन् । उनले केही गल्ती कमी कमजोरी भए बसेर छलफल गर्दा समस्या समाधान हुने तर धम्क्याउँदै आफूहरू डराएर प्रतियोगिता नै नगरी बस्ने कुरा नहुने देशान्तरलाई बताए ।
उनले क्यानको चुनावमा हारेदेखिका शक्तिदेखि विभिन्न ठाउँमा उजुरी गर्नेहरू नै नेपाली क्रिकेटको विकास रोक्नका लागि लागि परेको बताए ।
‘खेलाडीलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ नेपाल टी २० लिगको अवधारणा अघि बढाएका थियौँ । एसोसिएट राष्ट्रले यसका लागि ठूलै हिम्मत गर्नुपर्ने रहेछ,’ क्यानका अध्यक्ष चन्दले भनेका छन् ।
क्यानले आठ वर्षका लागि सेभेन थ्री स्पोर्टसँग सम्झौता गरेको बताउँदै चन्दले नाम उल्लेख नगरी एभरेस्ट प्रिमियर लिग (ईपीएल)का संस्थापक अमिर अख्तरको क्रियाकलाबले प्रतियोगिताको तयारी प्रभावित भएको दाबी गरेका थिए । उनले भने ‘क्रिकेटका केही शुभचिन्तक भन्ने साथीहरूले नेपालमा अदालत, संसद्, अख्तियार, सम्पत्ति शुद्धीकरण, राखेपलगायत सबै संस्था र अन्तर्राष्ट्रिय निकायमा समेत उजुरी गरेका छन् । हामीले सबैलाई कन्भिन्स गरेर नियमसंगत हिसाबले अघि बढेका छौँ ।
उता सेभेन थ्री स्पोर्टस्का जतिन हलुवालियाले समर्थकले उत्कृष्ट क्रिकेट हेर्न पाउने दाबी गर्दै आफूहरूले राम्रो प्रयास गरिरहँदा भइरहेको आलोचनाले आफू नै अचम्ममा परेको बताए ।
नेपाल टी २० लिग गर्ने क्यानले निर्णय गरेपछि एभरेस्ट प्रिमियर लिगसँगको विवाद सुरु भएको थियो । क्यान र ईपीएलबीचको मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा रहेको छ । क्यानले नेपाल टी २० लिगमात्र नेपालको लिग हुने र अरु लिगले क्षेत्रीय मान्यतामात्र पाउने स्पष्ट गरिसकेको छ ।
प्रतिक्रिया