देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मत नजिते पनि मन जिते गगनले

देशान्तर

काठमाडौं । ठूलो रस्साकस्सीबीच महामन्त्री गगन थापालाई एकमात्र उम्मेदवार बनाउन सफल नेपाली कांग्रेसमा इतरपक्षको नामले चिनिएको शेखर–गगन समूह संसदीय दलमा पाएको मतका कारण भविष्यमा टिकिरहने सक्छ भन्ने शंका बढ्न थालेको सोही समूहका एक नेताले देशान्तरलाई बताए ।

प्रत्यक्षमा ३० प्रतिशत र समानुपातिकमा २० प्रतिशत टिकट पाएको यो समूहबाट ३२ सांसद निर्वाचित भएको दाबी थियो । त्यसमा संस्थापन पक्षबाट टिकट पाएको भनिएका महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल थपिएपछि यो समूहको संख्या ३४ पुगेको भनिएकोमा महामन्त्री गगन थापाले २५ मत मात्र पाउँदा ‘शंकाले लंका जलाउने’ अवस्था सिर्जना भएको छ ।

आफ्नो संसदीय दलको चुनावमा पनि २१ मतले स्पष्टरूपमा अगाडि रहँदासमेत पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र उनको समूहले अपनाएको चुनावी हत्कण्डालाई समग्र राजनीतिक क्षेत्रले सत्तालिप्साको चरम नमुनाको रूपमा लिइरहँदा आम निर्वाचनमा समेत बर्जित गरिएको मोबाइल फोन लान पाउनुपर्ने अडानलाई झनै तल्लोस्तरको सत्ताकांक्षामा अथ्याइएको छ ।

२१ मतले अगाडि देउवाले ३९ मतान्तरले जित्नुमा यिनै तल्लास्तरका हर्कतलाई नै आधार मानिएको छ । आफ्नै समूहका ७ जनाले मन्त्री पद र अन्य प्रलोभनका कारण देउवालाई मत दिएर भारी अन्तरले जिताउँदासमेत समग्र मुलुकको राजनीतिमा ‘मतले नजिते पनि गगनले मन जिते’ भन्ने कुरा स्थापित भएको छ ।

८९ जना सांसद रहेको कांग्रेसमा थापाले २५ मत ल्याउँदा अर्का उम्मेदवार प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले ६४ मत ल्याएर विजयी भए । गगनले २५ मत पाउँदा उनको पक्षमा मतदानको अघिल्लो दिन साँझसम्म प्रष्टरूपमा देखिएको ७ मत पनि देउवातिर गयो । यस अर्थमा आफ्नै पक्षकाले समेत गगनलाई धोका दिएर कित्ता परिवर्तन गरेका छन् । थापालाई संसदीय दलको नेता पदमा उम्मेदवार बनाउन सहयोग गर्नेहरूबाटै धोका भएको चर्चा गगन समूहमा छ ।

गगन पुस्तान्तरणको एजेन्डा लिएर देउवा समूहबाट क्रस भोट गराउन चाहन्थे । तर उनले आफ्नो समूहको क्रस भोटसमेत रोक्न सकेनन् । सांसदहरूले मत हालेको फोटो खिच्न थालेपछि उनको पराजय निश्चित भइसकेको थियो । कतिपय शेखर–गगन पक्षकै सांसदले फोटो खिचेर आरजु देउवालाई ह्वाट्सएप गरेका थिए । गगनको उदयमा कुण्ठा पाल्ने केही नेता शेखर गगन गुटमै छन् । उनीहरूले शेखरले समर्थन गरेपछि गगनको पक्ष लिएको देखाए पनि भित्र मतदानमा देउवालाई मत दिएर त्यसको प्रमाण बालुवाटार पु¥याएको आरोपसमेत छ ।

गएको महाधिवेशनको समीकरणअनुसार कोइराला र थापा समूहमा रहेको भनिएका सांसदहरू, शेखर कोइराला, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, योगेश गौचन थकाली, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, तेजुलाल चौधरी, राजु थापा, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, सीता मिजार, मुक्ताकुमारी यादव, बिनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापामगर, मैना रावल थिए ।

यीमध्य कस्ले कस्ले धोका दिए भनेर अहिले नदेखिए पनि सरकार बनेर त्यसमा पर्ने मन्त्रीहरूको अनुहारले गगनको चुनावमा उनकै गुटका क–कसले धोका दिए भन्ने अनुमान लगाउन सकिनेछ ।