काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज (आइतबार) साँझ ५ बजे सकिँदै गर्दा हिजो अबेरसम्म सत्ता गठबन्धनको सरकार बन्ने÷नबन्ने निक्र्योल हुन सकेको छैन, यसको प्रमुख कारकको रूपमा माओवादी अध्यक्ष प्रचण्डको ढिँडलाई लिइएको छ ।
गठबन्धन गरी चुनावमा जाँदा आलोपालो प्रधानमन्त्रीमा सहमति भए पनि कुन चाहिँ दलको नेता सुरुमा प्रधानमन्त्री बन्नेबारे सहमति नगर्दा अहिलेको अवस्था सिर्जना भएको राजनीतिक विश्लेषकहरूको ठम्याइँ छ, चुनावबाट संघमा कुनै पनि एक दल र गठबन्धनको समेत स्पष्ट बहुमत नआएकोले जनादेश मिलिजुली सरकार बन्ने स्पष्ट भएपछि संघमा गठबन्धनको पहिलो र ठूलो दल नेपाली कांग्रेसले झन्डै तेब्बर संख्यामा परिणाम प्राप्त गर्दा उसको सुरुमा प्रधानमन्त्री बन्ने दाबीलाई स्वाभाविक रूपमा लिँदा गठबन्धनमा दोस्रो र समग्रमा तेस्रो दलको रूपमा उपस्थित माओवादी र प्रचण्डको दाबीलाई अस्वाभाविक रूपमा लिइएको छ ।
त्यसमा पनि संसदीय दलको नेतामा भारी मतले विजयी, उमेरका कारण पनि पाको र गठबन्धन सरकार सफलतापूर्वक सञ्चालनमा अनुभवी कांग्रेस सभापति शेरबहादुर देउवाको चाहनालाई समग्रमा अन्य दलले समेत स्वाभाविक मानेका छन् । तर, अघिल्लो संसद्मा पार्टी फुटाएर प्रत्यक्षमा २३ सिटमात्र जितेको कांग्रेसलाई प्रधानमन्त्री बनाएर गुण लगाएका कारण माओवादी र प्रचण्डको दाबी स्वाभाविक हो भन्ने पनि गठबन्धनमा रहेका दलहरू र तिनका नेताहरू छन् । प्रधानमन्त्रीको टुंगो नलागेसम्म अन्य प्रमुख पदहरू राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र मुख्यमन्त्रीहरूको भागबन्डामा दलहरू प्रवेश नै गरेका छैनन् । तर, आलोपालो प्रधानमन्त्री पद तय भएमा कांग्रेसले राष्ट्रपति पनि नछाड्ने ‘बटमलाइन’ बनाएको कांग्रेस सूत्रको भनाइ छ । यो अडानमा कांग्रेस एक ढिक्का छ ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रधानमन्त्रीको कार्यकाल बाँड्ने सहमति भए पनि कुन दलले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा निरन्तर छलफल चलिरहेको छ । यो विवादमा गठबन्धनमा रहेका एकीकृत समाजवादी, लोसपा र जनमोर्चा भने मौन छन् । कांग्रेस र माओवादीबीचको सहमति आफूहरूलाई मान्य हुने उनीहरूको भनाइ छ ।
अन्तिम समयमा निर्णय गर्न बानी परेका दलहरूले यसपालि पनि प्रधानमन्त्रीमा दाबी गर्न अन्तिम समयकै प्रतीक्षा गरिरहेका छन् । आइतबार अपराह्न गठबन्धनका तर्फबाट बहुमत (संविधानको धारा ७६, २ बमोजिम) प्रधानमन्त्रीमा दाबी पेस गरिने गठबन्धनका नेताहरूले बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने कि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नेमा सहमति जुटिसकेको छैन । देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने तयारीमा छन् भने दाहाल तेस्रो पटक बन्ने सुरसारमा छन् । यसअघि सबै राजकीय पदमा प्याकेजमै सहमति गर्ने भन्दै आइरहेका गठबन्धनका दलहरू अहिले को पहिला प्रधानमन्त्री बन्नेमा केन्द्रित छन् । यही विषयमा शुक्रबार र शनिबार दिनभर छलफल भए पनि टुंगोमा पुगिनसकेको तर, सहमति नजिक पुगेको नेताहरूको दाबी छ । आइतबार बिहान सहमतिमा पुग्छौं र दिउँसो गठबन्धनकै तर्फबाट राष्ट्रपतिसमक्ष दाबी पेस हुन्छ, कांग्रेसका एक नेताले देशान्तरलाई बताएका छन् ।
नयाँ सरकार गठनलगत्तै प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयन गरिनेछ भने त्यसपछि राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनेछ । सातै प्रदेशमा नयाँ सरकार बन्ने छन् । राष्ट्रियसभाका अध्यक्षको कार्यकाल पनि सकिन लागेकाले यो पदलाई गठबन्धन दलहरूले बाँडफाँटमा राखेका छन् । राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष चयनलाई पनि सँगै राखेर पद बाँडफाँटको गृहकार्य भइरहेको छ ।
ठूलो दलको हैसियतले प्रधानमन्त्रीको पहिलो कार्यकाल कांग्रेसले आफैं राख्ने तयारी गर्दा माओवादीले अन्य दलसँग छलफल अगाडि बढाएपछि शंका उत्पन्न भए पनि अहिलेकै गठबन्धनबाट बाहिर नजाने माओवादीको प्रतिबद्धतापछि गठबन्धन दल फेरि एक ठाउँमा आएका हुन् । राष्ट्रपति कांग्रेसलाई दिन गठबन्धनका सबै दल सहमत भएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बन्ने सम्भावना बलियो छ । गत वर्ष भएको कांग्रेसको चौधौं महाधिवेशनमा देउवालाई अप्रत्यक्षरूपमा सघाएका पौडेलले संसदीय दलको चुनावमा भने पौडेल देउवाको प्रस्तावक बनेका थिए । पौडेल प्रधानमन्त्री बन्न इच्छुक रहे पनि देउवाकै पहलमा उनी राष्ट्रपति बन्ने सम्भावना बढेको हो । गठबन्धनका अन्य दल पनि पौडेललाई राष्ट्रपति बनाउन सहमत भइसकेका छन् ।
पहिला को प्रधानमन्त्री बन्ने विषय टुंगो नलाग्दा सभामुख कुन दलले लिने भन्नेमा पनि सहमति जुटेको छैन । कांग्रेसले पहिला प्रधानमन्त्री नपाए राष्ट्रपति र सभामुख पाउनुपर्ने प्रस्तावमा पनि गठबन्धनमा छलफल अगाडि बढेको छ । सभामुखमा एकीकृत समाजवादीले पनि दाबी गरेकाले त्यसको असर प्रधानमन्त्री चयनमा परेको बताइन्छ । राष्ट्रपति र सभामुख लिएर प्रधानमन्त्रीको पहिलो कार्यकाल माओवादी अध्यक्ष दाहाललाई छाड्न छलफलमा सहभागी अधिकांश कांग्रेस नेता सहमत देखिन्छन् । तर, उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने पहिलो कार्यकालमै देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा छन् । देउवा पनि आफैं पहिले प्रधानमन्त्री बन्ने र दुई वर्षपछि माओवादी अध्यक्ष दाहाललाई सत्ता हस्तान्तरण गर्ने बताउँदै आएका छन् ।
गठबन्धनलाई फुटाउने र आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने एमाले अध्यक्ष केपी ओलीको भित्री चलखेलका कारण पनि गठबन्धन दल दबाबमा छन् । ओलीलाई देखाएर दाहालले देउवामाथि दबाब बढाएका छन् । देउवाले पनि गठबन्धनका अन्य दल र गठबन्धन बाहिरका केही दलको समर्थन आफूलाई हुने र त्यो समर्थन दाहाललाई दिलाउन कठिन हुने तर्क गरिरहेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भइसकेकाले त्यसमा सहजीकरण गरिदिन देउवाले नेपाललाई पनि अनुरोध गरेको बुझिएको छ । नेपाल भने दाहाललाई प्रधानमन्त्री बनाउने पक्षमा रहेको स्रोतको दाबी छ ।
आइतबार बिहानसम्म प्रधानमन्त्रीसहित सबै पदहरूमा सहमति हुने र संघदेखि प्रदेशसम्म नयाँ सरकारको खाका तय गरिने नेताहरूले दाबी गरे पनि तत्काल सबै पदहरूमा सहमति जुट्ने सम्भावना भने कम देखिएको छ ।
प्रतिक्रिया