देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गठबन्धन फुटाउने ओलीको दाउ

देशान्तर

काठमाडौैं । चुनावअघि आफैं बहुमत ल्याउने र बालकोटबाट बालुवाटार जाने उद्घोष गरेका केपी ओलीको एमालेले आम निर्वाचनमा सफलता हात पार्न नसकेपछि अहिले सत्तारूढ गठबन्धनलाई विभाजित गर्ने खेलमा लागेको छ । स्थानीय तहको निर्वाचनपछि नै गठबन्धनलाई विभाजित गर्न खोज्दा असफल भएका एमाले अध्यक्ष केपी शर्मा ओली आम निर्वाचनमा दक्षिणपन्थी गठबन्धन गरेर चुनावमा गएका थिए ।

तर उक्त गठबन्धनबाट पनि फलिफाप नभएपछि अहिले दोस्रो दलमा झरेको एमालेका नेताहरूले गठबन्धन फुटाउने विषयलाई प्राथमिकतामा राख्दै आएका छन् । एमालेका अध्यक्ष ओलीसहितका नेताहरू अहिले सत्ता बनाउने खेलमा नलागेको देखाउनकै लागि उपत्यका बाहिरका कार्यक्रममा केन्द्रित भए पनि दोस्रो तहका नेताहरूले आन्तरिक छलफल तीव्र पारेको बुझिएको छ । एमाले अध्यक्ष ओलीले अहिलेको अवस्थामा सुरुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेका थिए ।

तर यसबीचमा माओवादीबाट सकारात्मक जवाफ उनले पाएनन् । सत्तारूढ गठबन्धनले आफ्नै नेतृत्वमा सरकार बनाउने सैद्धान्तिक निर्णय गरेर अघि बढेको अवस्थामा प्रचण्डले बेलाबेला कांग्रेसलाई धम्क्याए पनि कांग्रेसले पहिलो चरणमा माओवादीलाई प्रधानमन्त्री दिन नसकिने अडान राखेको छ ।

उता एमालेका अध्यक्ष ओलीले शनिबार आयोजित एक कार्यक्रममा प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकिएको बताएपछि राजनीतिक क्षेत्र फेरि तरंगित भएको छ ।
एमाले अध्यक्ष ओली अहिले माओवादी र एकीकृत समाजवादीलाई बाहिर राखेर कांग्रेससँग सहकार्य गर्नका लागि तयार रहेको बुझिएको छ । कुनै पनि हालतमा गठबन्धन तोड्न कम्मर कसेका ओली कांग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्रीमा सघाउन तयार रहेको जनाउ दिए पनि कांग्रेसले सत्तारूढ गठबन्धन तोड्ने मनसाय अझै बनाएको छैन ।