देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा मन्त्रीका आकांक्षीहरू

देशान्तर

काठमाडौं । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आज अपराह्न ५ बजेसम्मको समय सीमा तोकेपछि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने तयारीका साथ सहमति जुटाउन लागिपरेका छन् । सत्तारूढ गठबन्धनकै सरकारको नेतृत्व कांग्रेस वा माओवादी केन्द्र जसले गरे पनि सरकारमा जानका लागि नेपाली कांग्रेसभित्र दौडधुप सुरु भइसकेको छ ।

तर, संविधानमै २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्थाका कारण कांग्रेसभित्रका मन्त्रीका आकांक्षीहरूको व्यवस्थापन गर्नका लागि सभापति देउवालाई भने सकस नै परेको छ ।
सधैं देउवालाई साथ दिँदै आएका पूर्वउपसभापति विमलेन्द्र निधि अहिले उपप्रधानसहितको जिम्मेवारीका साथ सरकारमा जाने गरी तयारी गरेको बुझिएको छ ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले पनि मन्त्री बन्ने इच्छा देखाएका छन् । उनको समूहबाट दीपक गिरी र दीपक खड्काको पनि मन्त्रीमा चर्चा भने चलेको छ ।

गठबन्धनलाई नपुगेको बहुमत पु¥याउन जनमत पार्टीका अध्यक्ष सीके राउतलाई देउवा र प्रचण्डसँग वार्ता गराएर सहज वातावरण बनाएका छन् भने १४औं महाधिवेशनमा सभापति देउवालाई सहयोग गरेका प्रकाशमान सिंह पनि त्यसको बदलामा सरकारमा आफूलाई लैजान आग्रह गर्दै आएका छन् । उनी पनि अहिले पछिल्लो समय सत्तारूढ गठबन्धनका बीचमा कुरा मिलाउन प्रचण्ड र माधव नेपालसहितका नेताहरूलाई भेटेर शेरबहादुरलाई प्रधानमन्त्रीमा स्वीकार गर्न आग्रह गर्दै आएका छन् । उनको लक्ष्य पनि उपप्रधानमन्त्री भएर सरकारमा जाने नै रहेको छ ।

यसैगरी अहिले पनि सरकारमा रहेका र चुनाव जितेका मन्त्रीहरूको इच्छा दोहोरिने नै रहेको छ । देउवा गुटबाट अहिले पनि राम्रो मन्त्रालयमा रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको दाउँ अर्थ मन्त्रालय रहेको छ भने परराष्ट्रमन्त्री डा.नारायण खड्काले पनि कुनै एक मन्त्रालय दिन देउवालाई आग्रह गर्दै आएका बुझिएको छ ।

देउवालाई सधैं साथ दिँदै आएका तर यसपटक चुनाव जितेका नेताहरूले मन्त्रीका लागि आफ्नो लविङ गर्दै आएका छन् । देउवाका किचेन क्याबिनेटमा रहने एनपी साउद, मोहन बस्नेत, रमेश लेखक र किशोरसिंह राठोर पनि यसपटक मन्त्री हुने लक्ष्यमा रहेका छन् । यस्तै देउवाका उपत्यकामा विश्वासिला पात्रको रूपमा रहेका भक्तपुरका दुर्लभ थापा र ललितपुरका उदयशमशेर राणा पनि मन्त्रीको आकांक्षी छन् । दुर्लभलाई जिताउन आग्रह गर्दै देउवाले चुनावीसभामा मन्त्री बनाएर पठाउने वाचा नै गरेकाले उपत्यकामा उनको सम्भावना मन्त्री बन्ने धेरै नै रहेको छ । यस्तै वीरबहादुर बलायर, रमेश रिजाल र अजय चौरसियाले पनि मन्त्री बन्ने दाउमा रहेका छन् । संस्थापन इतर अर्थात् शेखर गगन गुटबाट उपसभापति धनराज गुरुङ, चन्द्र भण्डारी, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारको पनि मन्त्रीमा चर्चा छ ।

पार्टीमा साथ दिँदै आएका कृष्ण सिटौला समूहबाट प्रदीप पौडेललाई मन्त्री बनाउने चर्चा पनि चलेको छ । पौडेल संसदीय दलको नेता चयन गर्दा गगन थापाको समर्थका रूपमा प्रस्तुत भए पनि युवालाई पनि मन्त्री बनाउन दबाब रहेकाले प्रदीपको सम्भावना बढी रहेको छ ।

संसदीय दलको नेता बन्दा प्रस्तावक नै बसेका रामचन्द्र पौडेल पक्षका दुई जनाले मन्त्री बन्ने आकांक्षा देखाएका छन् । पौडेल पक्षका रामकृष्ण यादव र तेजुलाल चौधरी मन्त्री बन्ने दौडमा रहेको बुझिएको छ । महिलातर्फ एक मात्र प्रत्यक्ष जितेकी सीता गुरुङलाई मन्त्री बनाउनुपर्ने आवाज पनि कांग्रेसभित्र उठेको छ । साथै संसदीय दलको चुनावका बेला संस्थापन इतर पक्षका सांसदको मत लिन मन्त्री बनाउने आश्वासन दिएकाले त्यो व्यवस्थापन गर्नका लागि पनि देउवालाई चुनौती नै रहेको छ ।