काठमाडौं – सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ ।प्रधानमन्त्रीमा २/२/१ वर्षको पालो गर्ने पनि सहमति जुटेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २-२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् ।
सुरुमा को प्रधानमन्त्री हुने भन्नेमा देउवा र प्रचण्डको दाबी कायमै रहेको छ । आ–आफ्नो पार्टीमा छलफल गरेर भोलि विहान सहमति जुटाएर भोलि नै दाबी पेश गर्ने नेताहरुले बताएका ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा शक्ति बाँडफाँटबारे कुराकानी भएको थियाे ।बैठक भोलि बिहान ९ बजे बस्नेगरी स्थगित भएको नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उनले प्रधानमन्त्रीको टुंगो भने भोलिमात्र लाग्ने बताए। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री पद आफूले नै पाउनुपर्ने अडान राख्दै आएका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित, कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का र ज्ञानेन्द्र कार्की सहभागी थिए।
त्यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत र एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, नेताहरू राजेन्द्र पाण्डे र बेदुराम भुसाल सहभागी थिए ।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय भोलि अपरान्ह ५ बजे सकिँदैछ ।
प्रतिक्रिया