देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्ने छैन : सांसद रमा पौडेल

देशान्तर

काठमाडौँँ – नेपाली कांग्रेसका महिला सांसदहरूले नयाँ सरकार आफ्नै पार्टीको नेतृत्वमा हुनुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका उनीहरूले जनतासँग मत माग्न जाँदा देशको नेतृत्व कांग्रेसले नै गर्छ भनिएको भन्दै वाचा पूरा गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका हुन् । उनीहरूले कांग्रेस वर्तमान अवस्थामा देशकै ठूरो राजनीतिक दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद रमा पौडेलले अबको सरकार कांग्रेसकै नेतृत्वमा बन्नेमा विश्वस्त हुन आग्रह गरिन् । गठबन्धनमा आबद्ध दलहरूले कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्नेमा उनले जोड दिइन् ।

“अबको गठबन्धन १० वर्षसम्म जान्छ । यो गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वको लागि हो । हामी महिला सांसदहरूले आज प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर हामीले प्रजातान्त्रिक पार्टीले देशको नेतृत्व गरेर स्थायित्व सुशासन दिन्छ भनेर हामीले मत मागेका थियौँ, सबै गठबन्धनका नेताहरूले त्यसलाई पालना गर्नुहोस् भन्ने आग्रह हो । भोलिको भागबन्डाभन्दा पनि तत्कालको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ भनेर सभापतिलाई भनेका छौँ,” उनले भनिन् ।

सांसद पौडेलले कांग्रेसले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्ने भन्ने नरहेको भन्दै यीबाहेकका उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरूको पदहरूमा गठबन्धनमा आबद्ध दलहरूसँग भागबन्डा गर्न सकिने बताइन् ।