काठमाडौँ – थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आगामी वर्षको मे महिना अगावै थाइल्याण्डमा हुने आमनिर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । प्रयुत सन् २०१४ मा भएको ‘कू’ मा सेना प्रमुखका रूपमा सत्तामा आएका थिए । उनले सन् २०१९ को चुनावबाट आफूलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गराएका थिए ।
बैंककस्थित प्रधानमन्त्रीको सरकारी निवासबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “नवगठित युनाइटेड थाई नेशन पार्टी’ले मलाई अर्को निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्न सहयोग गर्ने प्रस्ताव गरेको छ । “आज मैले यो भूमिकामा सामेल हुने निर्णय गरेको स्पष्ट पार्छु । प्रयुतले सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको पलाङ प्रचारथ पार्टी (पीपीआरपी) छोड्ने अपेक्षा गरिएको छ ।
पिपिआरपीले आफ्ना नेता तथा कार्यवाहक उपप्रधानमन्त्री प्रवित वोङसुवानलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने घोषणा गरेको छ । प्रयुत र प्रवित दुवैले थाइल्याण्डको सेनामा सेवा गर्नुभएको थियो । उहाँहरूको राजनीतिक भाग्य दशकौंदेखि गाँसिएको छ ।
प्रयुतले भने, “दुई नेताबीचको सम्बन्ध अझै बलियो छ, यद्यपि उनीहरूको राजनीतिक बाटो अलग छ । गत सेप्टेम्बरमा संवैधानिक अदालतले प्रयुतको आठवर्षे कार्यकाल सन् २०२५ मा समाप्त हुने फैसला सुनाएको थियो । निर्वाचनको मिति तय गरिएको छैन, तर यदि यसलाई चाँडै विघटन गरिएन भने मार्चमा संसदको कार्यकाल समाप्त हुनेछ । संसदको कार्यकाल सकिएसँगै आगामी मेमा मतदान गर्नेगरी निर्वाचनको तयारी हुनेछ ।
विपक्षी दल फेउ थाईले निर्वाचनमा उच्च सफलता पाउने सर्भेक्षण नतिजाहरूले देखाएका छन् तर सैन्य शासनअन्तर्गत निर्माण गरिएको वर्तमान थाई संविधानले प्रणालीलाई सेनासँग सम्बन्धित दलहरूको पक्षमा खडा गरेको छ ।
प्रतिक्रिया