देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीले सांसदको शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने

देशान्तर

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ ।

नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिएका छन् । शपथपछि संसदीय दलको बैठक बस्ने उनको भनाइ छ ।

माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने उनको दाबी छ । “दलको नेतालाई लिएर हाम्रो पार्टीमा विवाद छैन, शपथ मात्र कुरिएको हो”, उनले भने, “संसदीय दलको नेता प्रचण्ड नै हो ।”

सङ्घीय संसद् सचिवालयले यही पुस ७ गते प्रतिनिधिसभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । प्रतिनिधिसभामा माओवादीको १८ प्रत्यक्ष र १४ समानुपातिक गरी कूल ३२ सांसद् छन् ।

केही दिनअघि बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको थियो ।