मंसिर ४ गतेको निर्वाचनले मुलुकमा घण्टी बजायो । चार महिनाअघि स्थापना भएको घण्टी पार्टीले ४ गते नै कांग्रेस, कम्युनिस्ट सबै ठूलो भनी टोपल्ने पार्टीको सातो उडायो । निर्वाचनपछि दलहरूले कोठेसमीक्षा गरेर घण्टीलाई पश्चिमाहरूले चलाएको आरोप पनि लगाए ।
बिचरा दुई दशकअघितिर पानी ट्याङ्कीतिर बरालिएर हिँडेको केटोलाई दाजु हरिले ‘यहाँको चलन’ भन्दै टीभीका पर्दातिर उतारिदिएपछि त्यही मेलोमा अमेरिकातिर पलायन भएका थिए ।
अमेरिकातिर पलायन भएको केटो उताको स्वतन्त्रता देखेर हो कि कुन्नी के हो सातफन्को घुम्दै भित्र्याएकी दुलही छाडेर निकै तिकडमतिर लागे । बहुविवाहमा रमाए । कहिले के, कहिले के विवादमा परिनै रहे । स्वतन्त्रताको बखान गर्न हजार शेषनाग भएकाले पनि नसक्ने र नथाक्ने गरी शंखध्वनि गुञ्जाए जस्तै गरेका यी सूर्यका किरण विभिन्न ऐनाका ढ्वाङमा फलाक्दाफलाक्दा कहिल्यै थाकेन् ।
अरू त सबै ब्वाँसा हुन्, भ्रष्ट हुन्, तानाशाह हुन् त्यसैले यिनलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँच्चु भन्दै कुर्लनुसम्म कुर्लिए । सामन्ती नेताहरू भन्दै घोक्रो फुट्ने गरी फलाक्ने यी सूर्यका किरण मंसिर ४ गते पछि आफैं सामन्ती भएर पो निस्किए ।
छविलाललाई १७ हजारका हत्या गरेर सत्तालोलुप हुने ? झापा काण्ड मच्चाउँदै राज्यको ढुकुटीबाट किड्नी फेर्दै बस्ने खड्गप्रसादहरूले मात्र देशको दोहन गर्ने भन्दै कुर्लिने गरेका यिनलाई मंसिर ४ ले अर्को सामन्तको नाइके बनाइदिएको छ ।
स्वतन्त्र पार्टीको नामबाट घण्टी हल्लाउँदै चितवनबाट निर्वाचित भएका यी गैंडालाई के को भूत चढेछ कुन्नि निर्वाचित भएका सांसदमाथि कु गर्न लागेछन् । आफूचाहिँ बोलेको बोल्यै गर्ने र सांसदहरूले चाहिँ बोल्न नपाउने गरी उर्दी हानेछन् ।
निर्वाचित भएका सांसदलाई बोल्न रोक लगाउने सामन्तवाद सोच बोकेर कसरी स्वतन्त्र पार्टीका अध्यक्ष भए ? बैरी हँसाउने पनि तरिका हुन्छ नि गाँठे । कि यस्तै रहेछ यहाँको चलन भन्दै सामन्तवाद नै मन पराएको हो । कतै शक्तिशाली देशमा लठ्ठ भएको मान्छे सारा पार्टीभन्दा म मात्र शक्तिशाली हुँ भन्ने तुजुक देखाउन खोजेको हो ?
सुरुमा यस्तै त हो नि ब्रो भन्दै आफैं मात्र जान्ने सुन्ने बन्ने अनि अरूलाई पूरै दास बनाउने घण्टीको रालोको तयारी हो भने अर्को चोटी कक्कु थापा जस्तै भइएला । भुइँमा नै भाँडामा हुनु राम्रो होइन । स्वतन्त्रको नाम भजाएर आफ्नैलाई दास बनाउने सामन्ती सोचले परिवर्तन हुँदै नि ब्रो ।
पानीट्याङ् पछाडिको चौरमा फुटवल हान्या हो र लाजनीति ! यहाँ छ थरीथरीका भेषमा चलाउने ड्राइभरहरू अरू नै छन् । बोल्न रोक नै लगाउने तुजुक बढ्यो भने त बाबुको पनि लाँस्टा त्यही होला ।
राष्ट्रियता नै त्यागेर हिँड्न सक्ने हरिलठ्ठकले केही मजा त दिलाउँला तर भावी पुस्ताले सुकामोरसहित हिसाबकिताब त गर्ला नि गाँठे स्वतन्त्रको पगरी ओडेर बैरी हँसाउने ? होइन ओई हरि केही बोल न यार भन्छन् त सिंहदरबारतिरका स्यालहरूले ?
र्यालेका स्यालहरू बैरी भइराख्या बेलाँ मौन बस्नु पनि अर्थ हुन्छ नि हरि ? कि फेरि यस्तै रहेछ, यहाँको चलन भन्दै उफ्रने हो ? २० सिटे भएको डिङ हाँक्न खोज्या त होइनन् नि । ऊ बेला गाईको अनुहार लिएर गोरु बनेकालाई पनि मकवानपुरतिर चिलिम फर्कादिएका छन् । हालत त उही हो ।
विदेशी कठपुतली बनेर वाक स्वतन्त्रतामाथि नै प्रतिबन्ध लगाउन खोज्ने बज्रस्वाँठलाई के भन्ने होला हरि ? पानी ट्याङ्कीको चिसो पानी ख्वाउनुपर्ने हो कि उतैतिरको होलिवाइन चाहिने हो ? जन्मिन नपाउँदै तीन पात भन्थे बुढापाकाले त्यस्तै देखियो त ?
बैरीका आँखा नपरुन् भनेको तानाशाहविरुद्ध नागरिकता काण्ड आइसक्यो । चितवनमा त जनताले सम्झाएर बुझाएर झ्यालखानाबाट निकालेर पठाए । यस्तै हो भने कि त फेरि समुन्द्रपारिको त्रास किन बागेश्वरीतिरको बास होला नि बाबै । एउटा माघले जाडो जाँदैन, बाघले घाँस पनि खाँदैन । जनता बबुरा त बाघ हुन् बाघ । जीवनभर बाघ बनेकालाई पनि स्याल बनाई दिइसके ।
पश्चिमाहरूको ‘कलसाइन’ बोकेर स्वतन्त्रका नाममा उही तानाशाह बन्ने सपना वोक्ने ढुण्डुकारीलाई के भन्नु र खै ?
प्रतिक्रिया