हामी जुन बिषय छलफल गर्न गइरहेका छौं । यो बिषय विकासको नाममा ल्याइएको विनाशको मार्ग, स्थानीय विकासलाई देखाएर स्थानीयलाई नै अधिकारबाट वञ्चित गर्दै विदेशीलाई पानी पोस्ने सोच र दीर्घकालीन रूपमा देशलाई भड्कालोमा पार्ने कटु यथार्थताबारे उल्लेख गर्न खोजेका छौं ।
हामी कालीगण्डकी डाइभर्सन भनेको के हो, यस्ले के उद्देश्य भनिएको छ । यो आयोजनाको लागत कति छ, लागतअनुसार यस्को उपलब्धि के हुने हो ? यसरी हेर्दा आयोजना कति उचित कति अनुचित, विवरण यथार्थ र तथ्यमा आधारित छन् की तर्कमा छन् ? वर्तमान राज्यको निर्देक सिद्धान्त र यस्को परिपालनाअनुसार विकासको मोडेल सत्ता–सहअनुभूती र दीर्घकालीन विकासअनुसार रहेको छ, कि छैन ? यो आयोजनामा कस्तो विधि अपनाउन खोसिएको छ, यस्को आन्तरिक सबल र दुर्बल पक्ष के के छन् ? खराब पक्ष के छ । यस्को तत्कालको प्रभाव र दीर्घकालीन प्रभाव कस्तो पर्छ ? सभ्यता, धार्मिक–सांस्कृतिक क्षेत्र, पर्यटन, पर्यावरण माथि कस्ता प्रभाव पार्छ भन्ने कुराको उचित लेखाजोखा गर्नु नै यस्को बारेमा छलफल चलाएको भन्नु सान्दर्भिक होला ।
कालीगण्डकी डाइभर्सन भन्नु कालीगण्डकी नदी, जून दामोदर कुण्ड र मुक्तिनाथ मन्दिरको धार्मिक आस्था जडित धारा रहेको मुहानहरू कागबेनीमा आएर मिसिएर भएर देवघाटसम्म बग्दछ जस्लाई हामी कालीगण्डकी नदीका नामले चिन्दछौं । त्यही कालीगण्डकी नदीलाई पाल्पा–स्याङ्जाको सिमाना राम्दी पुलदेखि केही तलबाट तिनाउ नदी÷खोलामा पानी खसाल्न (पथान्तरण) भनी गर्न खोजिएको कार्यलाई कालीगण्डकी डाइभर्सन (पथान्तरण) कार्य हो भनेर सुन्दै आएका छौं । यस्ले गर्ने भनिएको अथवा लिएको लक्ष्य तथा उद्देश्य भनेर कपिलवस्तु–रूपन्देही–सुस्ता पश्चिम नवलपरासी बर्दघाटसम्मको सिँचाइ गर्न बाँकी रहेको भूभागलाई सिँचाइ गर्न, खानेपानी र दुई स्थानमा विद्युत् उत्पादन गर्ने गरी करिब १२८ मेघावाट विद्युत् उत्पादन गर्ने भनिएको छ । यस्को अनुमान लागत करिब १ खर्व ३१ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यो पनि आजको मूल्यमा आँकडा प्रस्तुत गरेको हामी सुन्दछौं । पछि सम्पन्न गर्दा हुँदा आउने खर्चबारे अझ ब्यापक रूपमा डीपीआर बनिसकेपछि आउने नै होला ।
हामी नेपालीहरूको प्रमुख समस्या भनेको समान क्षेत्रीय विकास नहुनु, सम्भावित स्थानीय प्राकृतिक स्रोत, साधन, (प्राकृतिक कानुन नियम जो विधिशास्त्रीय मान्यता छ) त्यही स्थानीय क्षेत्रको विकासमा प्रयोग गर्ने नीति अख्तियार गर्नु पर्नेका विरुद्ध गई गलत विधि र कार्यक्रममा लाग्नु जस्ले गर्दा विकासका सम्भावना र उचित अवसरबाट पर छौं र आज विभिन्न खाले द्वन्द्व र विकासको दृष्टिकोणबाट अन्धकारमा नै रहिरहेका छौं ।
कालीगण्डकी डाइभर्सन जो गर्ने भनिएको छ । जुन उद्देश्य लिएको छ, के त्यो गर्न सम्भव छ ? उद्देश्य हासिल गर्न सम्भव छ ? पर्यावरण, सम्यता, संस्कृति, धार्मिक, सांस्कृतिक क्षेत्र सबै पक्षलाई लिएर हेर्दा दुवै तर्फमा भूगोल र जनसंख्या अनि समग्र राष्ट्रको हितको पक्षमा छ ? प्रश्न यहाँनेरबाट सुरु भएको छ ।
नेपालको सबै भूगोल समान र सम्भावनासँग नजिक रहेर प्रचुर विकास हुन जरुरी छ । हामी चाहान्छौं– बुटवल क्षेत्र (कपिलवस्तु–रूपन्देही, बर्दघाट सुस्तापश्चिम नवलपरासी) का जनताले पानी पिउन पाउनुपर्छ । त्यो क्षेत्रको सिँचाइ हुनु पर्दछ । के यो आयोजनाले त्यतातर्फ काम गर्न खोजेको छ, पक्कै पनि सन्देह यही नेर छ, कदापि यसो गर्न खोजिएको छैन । यस्का लागि हामी यो आयोजना बनाउन खोजिएको–अपनाइएको विधि, पानी खसाल्ने क्षेत्र, सिँचाइ र पिउने पानीले आवश्यकता भएको भनिएको क्षेत्रको खास विस्तृत विवरण नै तयार नगर्नु र हतार–हतार यस्को कार्यालय उद्घाटन, डीपीआर नबनाइकनै आयोजनाका लागि उल्लेख्य रकम विनियोजन, वर्तमान राजनीतिक अवस्था देशको राज्य निर्देशक सिद्धान्त संघीयताको मूल मर्म विपरीतको विधि, राम्दीदेखि देवघाटसम्मका जनता, त्यस क्षेत्रको करिब ३ लाख ५० हजार हेक्टर जमिन क्षेत्र, मानव सभ्यता, जलचर समग्र कालीगण्डकी सभ्यता, पर्यावरणको प्रभावलाई नादेख गर्नु आदि कार्यले गर्दा यो आयोजना आफैंमा अपत्यारिलो र गलत रहेको छ सजिलै भन्न सक्छौं ।
भौगोलिक अवस्था
राम्दी–तिनाउँ डाइभर्सन गर्ने भनिएको स्थान सिद्धबाबा भनिएको क्षेत्र शिवालिक पहाड अत्यन्तै कान्छो पहाड हो । जहा बर्सेनि वर्षायाममा र अन्य ऋतुहरूमा समेत सामान्य पानी परेका बखत ठूला–ठूला ढुङ्गासहितको पहिरो खस्छ जस्को कारण उक्त स्थानमा यात्रुबस पुर्ने, आवाजजावत समस्या पर्ने र उक्त दुर्घटना पहिरोबाट जनधनको क्षति भएको जुन प्रत्यक्ष भोग्दै आइरहेका छौं । उक्त कमजोर पहाड क्षेत्रमै किन सुरुङ ? किन पानी खसाल्नु पर्यो ? साथै पानी खसाल्ने भनिएको स्थान तिनाउँ नदी-खोला जमिन मुनिको सतहमा पानी रहेको र खहरे प्रकृतिको (वर्षात्का समयमा अत्यधिक ठूलो, सोलोडोलो सबै क्षेत्रको पानीको निकास र हिउँदमा कम पानी र पानीको सतह कम हुने स्रोत पानी जमिनमुनि रहन जाने) खोला हो । जस्ले गर्दा हरेक वर्षामा उक्त खोलाले बुटवल–खस्यौली, बटौलीलाई भूक्षयीकरण र असुरक्षित बनाएको पनि कैयन प्रमाण छन् ।
भने यस भन्दा करिब दुई वर्ष अघि उक्त तिनाउ खोलाले एउटा झोलुंगे पुलसमेत बगाएको थियो । यस्तो प्रकृतिको खोलामा किन पानी नखसाली भएन ? यो अर्को महत्वपूर्ण सवाल हो ? के यो गहिरो अवस्थामा रहेको उक्त खोलाबाट उचाइमा रहेको रूपन्देहीको मुर्गिया, कपिलवस्तुको जितपुर, सूर्यपूरा क्षेत्रसम्म सजिलै भौगोलिक बहावको स्थितिबाट पानी जान सम्भव छ ? सामान्य बुझाइले भन्न सकिन्छ जाँदै जाँदैन । त्यस्तै पूर्वपट्टिको खोला सतहभन्दा माथिल्लो उचाइमा रहेको सुनवलपूर्व नवलपरासीको बर्दघाटसम्म पानी जान सम्भव छ ? यो पनि आयोजनाबाट हेर्दा न्यून स्थिति छ । साथै उक्त क्षेत्रमा पानी पिउन सिँचाइ गर्न अन्य पानीका स्रोत छैनन् ? भए कुन अवस्था कति स्रोत रहेका छन् ? ती कुन कुन हुन् ? के ती बारेमा अध्ययन गरियो ? ती कुनै तथ्यांकमा छन् ? यतातर्फ कुनै खोजी गरिएको छैन । जस्तै– बर्दघाटभन्दा केही मुनि रूपैलिया नजिकको देवचुली जंगलबाट पानीको मूल निस्कन्छ र उक्त मूलको पानी सीधा भैसालोटन मिसिन्छ उक्त पानीको स्रोत, सुस्तापश्चिम नवलपरासी र रूपन्देहीको सीमा खैरहनी नजिकको रुक्मिडी खोलाको पानीको स्रोत, तिनाउकै थप सिँचाइ सम्भाब्यता, पानी पिउनका लागि भूमिगत पानीको स्रोत, साथै राप्ती नदीबाट सूर्यपूरा खोलामा पानी खसाली कपिलवस्तु र नहर निर्माणद्वारा बर्दघाटसम्म सिँचाइको लागि ल्याउन सकिने सिँचाइको सम्भाव्यता, आदि बारे कुनै तथ्यांक निकालिएको छैन । यी सारा कार्य नगरी एकाएक कालीगण्डकीको पानी राम्दीबाट कमजोर भूभाग सिद्धबावा क्षेत्रमै किन खसाल्न हतार ?
हामी के प्रष्ट हुन जरुरी छ भने अवको बुटवल साबिकको खस्र्याली–बटौली क्षेत्र हो ? बर्दघाटदेखि पश्चिम, बाणगंगा–चन्द्रौटा सूर्यपूरादेखि पूर्वको बर्दघाटसम्म समेटिएको समग्र बुद्ध जन्मस्थल समेटेर बनेको ऐतिहासिक लुम्बिनी क्षेत्र बुटवल हो । आजकै अवस्थामा भनिएको १ लाख ६ हजार हेक्टर जमिन साँच्चिकै तथ्यगत रूपमै सिँचाइ अपुग हो त ? कि अबको बुद्ध सर्किट समग्र बुटवलको ५० वर्षसम्मको हुन सक्ने आवादी, सहरीकरण, औद्योगीकरणको अध्ययन गरेर बाँकी सिँचाइ क्षेत्र छुट्ट्याई त्यहाँको पानीका स्रोत प्रयोगबारे कार्ययोजना तयार गरी अपुग खानेपानी र सिँचाइका लागि विस्तृत कार्ययोजना अनुरूप चल्नुपर्ने हो । खै यसबारे अध्ययन ? यसो नगरी एकाएक किन तिनाउमै पानी खलास्न हतार ?
साथै हामी भन्न सक्छौं कालीगण्डकी नदीको डाइभर्सन गरियो भने उक्त क्षेत्रको प्रवाह क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको जलचर, वनस्पती, वन्यजन्तु र उक्त निकुञ्ज वनक्षेत्र पनि विनाश हुनेछ । यो कार्यले यसबारे प्रभावको अध्ययनबिना नै यो हतारको काम केका लागि ?
सभ्यताबारेको कालीगण्डकी
कालीगण्डकी एउटा सफल र अनुशासित सभ्यता हो । यस्को उद्गम थलो दामोदरकुण्ड र मुक्तिनाथदेखि देवघाटसम्म तटीय क्षेत्रमा बसोबास गर्ने सबै जाति–समुदायका मानिसहरूको संस्कार र जनजीवनसँग यो जोडिएको छ । यस भूगोलका सबै जातिहरूको संस्कार कालीगण्डकीमै गरिन्छ । ऐतिहासिक प्रमाण पनि के हो भने आगो पानी र जंगल क्षेत्र नै मानव सभ्यता र उत्पतिका स्थान हुन् । त्यसैले भन्न सक्छौं भूगर्भमै प्रत्यक्ष ज्वलन्त रूपमा अग्नि उत्पति भइरहेको मुक्तिनाथदेखि यस नदीका हरेक घाट तीर्थाटन–धार्मिक विश्वास र जनजीवनसँग जोडिएका रहेका छन् । यसकारण यो एउटा असल र सफल सभ्यता पनि हो । यो आध्यात्मिक क्षेत्र हो । यस नदीको मुहान मुस्ताङ जिल्लामा अथाहा खनिज रहेको छ । आस्थाले शालीग्राम र पदार्थले रसायन (युरेनियम) र सुनमिश्रित ढुंगा शालीग्राम पाइन्छ । शालिग्राम हिन्दुहरूको ठूलो आस्थाको प्रतीक पनि हो । यदि यो नदीको मुहानदेखिको प्रवाह र यस्को संरक्षणमा नलागे यस्को विनाश हुन्छ । यस्लाई किन कम महत्व दिइएको छ यो अर्को प्रश्न हो ।
अर्को तर्फमा मानव उत्पति र मानव विकासलाई पढ्ने क्रममा आदिमानव (विज्ञानले) रामापिथेकसलाई नै मान्दै र भन्दै आइरहेका छौं । मानव उत्पत्तिका प्रथम मानव नाम रामापिथेकसको बंगारो सिद्धबाबा क्षेत्रमा पाइएको पुष्टि भइसकेको छ भने हामीले पढ्ने विज्ञान भनिएको आधुनिक शिक्षामा पश्चिमा सामाजिक मानवशास्त्रीय विकास अध्ययनले नेपालको मौलिक सामाजिक एवं मानव उत्पत्तिको विकासको अध्ययनलाई अस्वीकार गर्ने र हाम्रो अध्ययन पश्चिमा भनाइको प्रमाणलाई स्वीकार गर्र्नेमा आधारित छ । यस्ले हाम्रो नेपालमा मानवजाति समुदायबीच खाडल, भड्खालो हाल्ने विभिन्न जाति, समुदाय र तिनका बीच गलत तथ्य समावेश गराई आपसमा उत्पत्ति र संस्कारबारे द्वन्द्व खडा गर्ने, विरोध खडा गर्ने र खास उत्पत्ति र सामाजिक विकासमा तगारो हालेर हाम्रो सर्वाङ्गीण विकासको अध्ययन हुन नदिन केही विदेशीहरूले र ती विदेशीहरूको स्वार्थमा लाग्ने सक्रिय रहेको प्रष्ट हुन्छ । यसकारण पनि यो आयोजना बारे हामी गम्भीर किन नहुने ? यो अझ महत्वपूर्ण सवाल ज्यूँका त्यूँ छ ।
पानीका प्रयोगका हिसाबले हामी के भुल्नु हुँदैन भने तिनाउमा विगतकालदेखि बुटवल पारी फर्सटिकर हुँदै जाने भारतको कुलो छ । उक्त कुलो माथि पानी किन खसाल्न आवश्यक भयो ? हामी सामान्य रूपमा बुझ्दछौं कि स्रोतमा पानीको मूलमा वृद्धि भए तलका हकदारहरूको समानुपातिक या समान हक लाग्छ त्यो त्यहाँ पनि लागू हुने नै छ । यस्ले गर्दा हाम्रो पानी भारतीय उक्त कुलोले वृद्धि भएको मात्राअनुसार दाबी गर्ने नै छ र यथार्थ पनि हो । प्राथमिक कानुनी नियमका हिसाबले पनि उक्त कुलोले प्राप्त गर्छ यो हामी किन गर्न खोजेका छौं ? साँच्चिकै हाम्रो भूगोल मात्रै सिँचाइ गर्ने सोच राखेका भए अन्य विकल्पबारे किन सोच राखिएन ? एवं आयोजना बनाउने सोच भएका नेतृत्वले यसबारे ध्यान किन पु¥याएनन् वा पु¥याउन चाहेन ? आफैंमा शंका छ ।
प्रतिक्रिया