देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खबरदार ! कांग्रेसले हात छाड्न नपरोस् !


अपना काम बन्ता, भाँड मैं जाये जनता
गुंगे बहरें है सब, यहाँ कौन किसका सुनता ।

यो सलमान खानको प्रसिद्ध हिन्दी सिनेमा– ‘जय हो’ को गीत हो । यो गीत, कतिपय छद्म सभ्य तथा आडम्बरीहरूका लागि कर्णप्रिय अथवा श्रुति मधुर लागे पनि देखिने गरेको भने छैन । त्यसैले रेडियोमा धेरै बज्ने गीतमा यो गर्दैन । तर समाजमा त्यसको असर कति छ, त्यो बिहावारी, भोज तथा सभा–समारोहपछिका कार्यक्रममा अनिवार्य बज्ने गरेका घटनाले प्रष्ट पार्दछ । वास्तवमा यो गीत पनि सिनेमाका अश्लील डाइलगजस्तै हो, जसलाई सुन्न त सबै चाहन्छन् तर देखाउन कोही तयार हुँदैनन् । किनभने गीतले जनता शब्दप्रति पाखण्ड प्रदर्शनको यशोगान गरेको छैन ।

नेपालको राजनीतिक परिप्रेक्ष्यमा त्यो गीत कति सान्दर्भिक छ, त्यो तथ्य, चुनावपछिका परिदृश्यले खुलस्त हुन पुगेको छ । पहिले जनतालाई जनार्दन भनेर नथाक्नेहरू अहिले किन र कसरी मतदातालाई भेडा र बाख्राको तुच्छ सम्बोधनले अपमानित गर्न उद्यत् रहेका छन् । वास्तवमा उनीहरूको त्यस्तो दोगलापनले त्यो गीतको सार्थकता मात्र प्रकट गरेको छैन, हाम्रो चरित्रहीनतालाई पनि उदांग पारिदिएको छ ।
निर्वाचन आयोगले २०७९ मंसिर ४ गते भएको संघीय संसद् र प्रदेशसभा सदस्यहरूको निर्वाचन परिणामको आधिकारिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइसकेकाले अब सरकार गठनको प्रक्रिया सुरु हुन मात्र बाँकी छ । त्यो पनि छिटै थालिनेछ, त्यसमा पनि कुनै शंका र अविश्वासको गुञ्जायश छैन । तर विदेशीले पालेका र उनीहरूकै स्वार्थका लागि समर्पित कथित् बुद्धिजीवी तथा राजनीतिक विश्लेषक भन्न थालेका छन्– निर्वाचन परिणामले देशलाई उज्यालो भविष्यतर्फ डो¥याउन सकेन । किनभने उनीहरूले चाहेजस्तो परिणाम नआएकाले देश अब पछाडि फर्कने भयो रे ।

उनीहरूलाई शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र माधव नेपालको नाम रेडियोबाट सुन्न र टेलिभिजनमा उनीहरूका चेहरा देख्न मन लाग्दैन रे । वाक्क दिक्क लाग्छ रे । जनताले तिनैलाई नेपालको भाग्य र भविष्यको निर्णय गर्ने जिम्मा सुम्पेकाले उनीहरू जनतासित पनि आगो बनेका छन् । मनमनै उनीहरूलाई सत्तोसराप गर्न थालेका छन् । उनीहरूका लेख, टिप्पणी र प्रतिक्रियाले त्यही वास्तविकतालाई खुलस्त पारेका छन् ।
जनतासँग उनीलाई झोक चलेको मुख्य कारण हो, पुराना नेतालाई हराउने चुनाव अगाडिको उनीहरूका जोडदार आदेश तथा निर्देशको अवज्ञा गरेर उल्टो युवाहरूलाई पो हराएर तिनै बुढाखाडालाई फेरि सत्ता सुम्पनै पर्ने परिस्थिति खडा गरिदिएकाले हो ! नेपालका बुद्धिजीवी तथा नागरिक अगुवाका नाममा आर्जन गरिरहेका विदेशी सहयोग नै रोकिने भएपछि उनीहरूलाई जनतासित झोंक त चल्ने नै भयो । उनीहरूका ईशारामा नेपाली मतदाता, जसो भन्यो, त्यही तालमा नाच्छन् भन्ने जुन धक्कु लगाउँदै आएका थिए, त्यो मित्था सावित भयो । अनि, उनीहरू किन नबहुलाउन् !

कांग्रेसमा गगन थापा, स्वतन्त्र पार्टीका रवि लामिछानेका पिछलगुवाहरू सबैलाई युवा तथा क्रान्तिकारी नेताको उपाधि प्रदान गरेर चुनाव जिताएका भए गगन थापा प्रधानमन्त्री हुने पक्कापक्की थियो । त्यस्ता होनहार युवा नेतालाई सत्तामा पु¥याउन संख्या पुग्ने अरू युवा उम्मेदवारलाई जनताले मतदान नगरिदिएकाले उनीहरूका सपना सबै हावामा उड्यो । झोक किन नचलोस् !

गगन थापाले भारतबाट भारु र रवि लामिछानेले अमेरिकाबाट डोकाभरिका भरी डलर ल्याएर देशमा उद्योगधन्दाको लहर चलाइदिएर बेरोजगार युवाहरूलाई रोजगार तुल्याउन ठिक्क पारिसकेका थिए । नेपाली मतदाताले उही देउवा र ओलीलाई आलोपालो गर्नेगरी सत्ताको साँचो सुम्पेकाले यो देशका तन्नेरीहरूको भाग्य, भूत हराएजस्तै गरी हरायो रे । अनि, उनीहरूले जनतालाई सत्तोसराप किन नगरुन् ?

देउवा र कांग्रेसले प्रजातन्त्र पुनस्र्थापनाका लागि चलेको लामो र कष्टसाध्य संघर्षलाई निष्कर्षमा पुर्‍याएर आजको अवस्था सिर्जना नगरेको भए उनीहरूले विदेशीलाई न बुद्धि बेच्न पाउने थिए, न सरकार बनाउने र बिगार्ने काममा अनावश्यक हस्तक्षेप गर्ने दुस्साहस गर्न सक्ने थिए । देउवा र कांग्रेस छन्, त्यही कारण प्रजातन्त्र छ । प्रजातन्त्र छ र उनीहरूले जनताका अगुवाको नपाएको पगरी गुँथेर सडकमा नाङ्गैै हिँड्न पाएका छन् । कांग्रेस हुँदैनथ्यो भने प्रजातन्त्र पनि आउँदैनथ्यो । त्यस्तो स्थितिमा उनीहरूको व्यापार पनि चल्दैनथ्यो ।

खबरदार ! कांग्रेस प्रजातन्त्रको मर्यादापालन गर्न कटिबद्ध छ भन्दैमा उसका बलिदानी नेताको हुर्मत लिने मात्र होइन, पार्टी र प्रजातन्त्रको पक्षमा दृढतापूर्वक खडा हुने जनतालाई मनपरी मुख छोड्न पाइँदैन । आमचुनावका माध्यमबाट जनताले देशको पहिलो शक्तिका रूपमा स्थापित गरेको कांग्रेस र त्यसका नेताको अपमान, देश र जनता दुवैथरीको असम्मान हो । कांग्रेस, संयमित मात्र छैन संवेदनशील पनि छ । उसको धैर्यको परीक्षा लिने गल्ती कसैले नगरुन् । उसले धैर्य र संयमता तोड्यो, हात र मुख दुवै छोड्न थाल्यो भने के कस्ता प्रलय आउँछन्, त्यो वास्तविकताको साक्षी इतिहास छ । त्यसको हेक्का रहोस् !