काठमाडौँ – दार्चुलाको महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले भारतलाई आज मंगलबार कूटनीतिक नोट पठाउने भएको छ ।
दार्चुलाको सदरमुकाम खलंगापारि भारतले तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए । नेपाली पक्षको विरोधपछि गत आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो । जसमा नेपाली ४ बालकसहित दुबै तर्फ १४ जना घाइते भएका छन् । उक्त घटनाबारे गृह मन्त्रालयले रिपोर्ट परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार दुई पक्षको वार्तापछि तत्काल विवादित क्षेत्रमा तटबन्ध नबनाउने सहमति स्थानीय अधिकारीहरूबीच भएको छ ।
२०७० मा आएको ठूलो बाढीका कारण नेपाली पक्षतिर ठूलो क्षति भएको थियो । त्यतिबेला खलंगामा रहेका सरकारी कार्यालयसहित निजी भवनमा क्षति पुगेको थियो । त्यसपछि नेपालले महाकाली किनारमा ४ किलोमिटर लामो तटबन्ध बनाएको थियो । यो वर्ष बर्खामा नेपालतिरको ५ सय मिटरजति तटबन्ध भत्किएको थियो ।
भारतीय पक्षले अहिले आफ्नोतिर तटबन्ध बनाउनका लागि तटबन्धभन्दा ७ देखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको छ भने गाडी गुड्ने अस्थायी संरचना पनि बनाएको छ ।
प्रतिक्रिया