देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म पनि सुकुम्बासी

देशान्तर

शहरमा अहिले हुकुमवासीहरूको चर्चा छ । हुकुम आदेशले सुकुम्बासीको उठीबास लगाउने भो रे भनेर डिङ्ग हाँक्दै बालकोटे आदेश आयो । थापाथलीतिर रमिता गर्न पाइन्छ ? रमिता नै गर्ने हो भने टुँडिखेल तिरै गए भैगो नि ?

बालकोटेको आदेशलाई शिरोपर गर्दै झुस्स दाह्री कनाउँदै सेतो टावरको छेउबाट जवाफ दिई हाले । रमिता त ३२ वर्षदेखि नै यो मंसिरा ठण्डीमा भएकै हो नि ? खुरुखुरु उखान टुक्का भन्ने अर्काको काममा भाँजोे नहाल्ने । कुरो बुझ्या हो नि ?

रातोकोटमा बालकोटेले भनेको पनि ठिकै हो ३२ वर्षदेखि कुनै न कुनै रमिता थापाथलीतिर भैराकै छ । कहिले के भनेर रमिता केहिले के भनेर रमिता ? बैरी लागेपछि कसको बाउको के लाग्छ र ! ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने जस्तै । आफ्नै माकुराहरूले जालो हालेको बेलामा दाह्रीमाथि प्रतिउत्तर फर्काउन कानुनले पनि बन्देज नगरेको भए पनि बालकोटेको मुख बन्द ।
बालकोटेको मुख किन बन्द भनेको त उता थापाथलीतिर नगर रक्षकको टाउको फुटाउने परिश्रमी बालकोटतिरकै खल्तीबाट निकालेको भक्षक रैछन् । त्यही भएर पो नगर रक्षकलाई बालकोटे भक्षकले राम्रै धुलाइ गरेका रे ।

थापाथलीतिर खुकुरी तरबारसहित हुकुमवासीहरूको ताण्डव नृत्यमा रमाउँदै बैरी पनि दंग । अब त बैरीलाई पनि भाको ४ तल्ले सिमेन्टको छाप्रो बेचेर थापाथली नदी किनारामा स्नान गर्न जान मन लाग्यो रे !
किन भनेर मट्याङ्याले सोध्नमात्र के खोज्याथ्यो बैरीले बोली खस्न नपाउँदै भन्दियो । बागमतीमा स्नान गर्न पनि पाइने, सानो तिनो खुँडा लिएर रक्षकहरूलाई धपाउन पनि पाइने । त्यत्ति गरेरै दुईचार आना पाउने भएपछि यो बैंकमा टेन्सन लिएर किन ब्याज तिरेर छाप्रा बस्नु । यता अर्कालाई जिम्मा लगाएर सुको थाप्ने, उता मुठो कुम्ल्याउने दुवै हातमा लड्डु । केही परे रातोकोटमा बालकोटेले झट्का दिई हाल्छन् के को टनटन !

मट्याङ्याको खोपडीलाई पनि मान्नै पर्छ परिश्रमीभन्दा पनि टाडो मट्याङ्या देखिएपछि बैरीलाई पनि झोक चलेछ क्यार चुपचाप चारतल्ले सिमेन्टको छाप्रा गएर चिच्याउन थाल्यो । फट्याङ्ग्री ए फट्याङ्गी कहाँ मरी छ यो । मेरो सिरानीमा भएको खुकुरी निकाल अनि सबै झिटी झ्याम्टो बोकेर हिँड !

बैरीले अर्धांगिनी फट्याङ्गीलाई अह्राएको सुनेर तीन छक्क पर्छे । होइन यी बैरीले आज दिउँसै तिनपाने भ्याएछन् कि क्या हो । बेला न कुबेला कुखुरी बोकेर हिँड् भन्छन् ? कहाँ जाने आनन्दले घाम ताप्न छाडेर ?

के को घाम ताप्ने वहाँ बालेनको टायर सकिन लागिसक्यो । यहाँ बसेर हुन्छ ? दुईचार दिन खुकुरी नचाएरै जग्गा हान्न पाउने भएपछि छिटो गर न छिटो । हतार भइसक्यो टाउको फुटाउन । टाउको फुटाउन ! फट्याङ्ग्री तीन छक्क ! हैन हो कसको टाउको फुटाउने ? कसले के गर्‍यो र ?

बैरीले फट्याङ्ग्रीलाई हर्कादै भन्यो के गर्‍यो होइन, अब गर्ने ? थापाथली जाने खुकुरी नचाउने जग्गा नामसारी गर्न लगाउने बुझिनस् ? विचरी फट्याङग्रीले के बुझ्दी हो । बोल्न नसकेर चुप लागेर पो बसी । त्यसको चालामाला देखेर बैरीलाई झ्वाक्क चलेछ क्यार । कोठाभित्र आफैं छिर्‍यो र सिरानीमुनि राखेको खुकुरीसहित एउटा ओड्ने बोकेर निस्कन खोज्यो ।

बैरीको पारा देखेर फट्याङ्ग्री अक्क न वक्क परी । होइन यो दिउँसै खुकुरी बोकेर ओड्नी लिएर कहाँ मुन्ट्टिन लाग्या छौं तमासा गर्न । तमासा त अब गर्ने हो । खुरुक्क हिँड । उहाँ हामीले थापाथलीमा जोगाको जग्गाको पाल दाह्रीका खलक आएर लैजान लागिसके । बालकोटेको आदेश आइसक्यो । यहाँ बसेर उहाँ कसले जोगाउने । जोगाउनु परेन अब हामी हुकुमवासीको अधिकार । त्यसैले आजबाट म पनि सुकुम्वासी ! बैरीको कुरा सुनेर फट्याङग्री पुक्लुक्क ढली ।