देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी र समाजवादीका कारण ‘घण्टी’को उदय

देशान्तर

काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्नो हैसियतभन्दा बढी सिट माग गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । एकीकृत समाजवादी भर्खरै एमालेबाट फुटेर गठन भएको पार्टी हो भने माओवादीको जनाधार सहरमा कमजोर बन्दै गएको थियो । स्थानीय तहमा पनि गठबन्धन गरेर सकारात्मक नतिजा हात पारेको माओवादीको प्रभाव पहाडमा बढी रहे पनि काठमाडौं जस्तो सचेत मतदाता रहेको स्थानमा सिटका लागि अड्डी कस्दा त्यसको प्रत्यक्ष फाइदा रास्वपाले लिन पुग्यो ।

एक निजी टेलिभिजनको जागिर छाडेर पाँच महिनाअघि राजनीतिमा आएका व्यक्ति हुन्, रवि लामिछाने । उनी राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेर अध्यक्ष पनि भए । सुरुमा रविले मात्रै चुनाव जित्ने आकलन गर्दै आएका पुराना राजनीतिक दलहरूलाई अहिले उनी रविको पार्टी नै चुनौती बनेर देखा परेको छ । ‘घण्टी’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ सिटमा जित निकालिसकेको छ भने १ ठाउँमा अग्रता लिइरहेको छ । विगतमा एमाले र माओवादी मिलेर वाम गठबन्धन गर्दा खुम्चिएको नेपाली कांग्रेसले अहिले लोकतान्त्रिक वाम गठबन्धन गरेर आफूलाई प्रत्यक्षतर्फ शीर्ष स्थानमा राखे पनि देशभर ७४ ठाउँमा उम्मेदवार नै नदिँदा समानुपातिकतर्फ मत घट्न पुगेको छ ।

अहिले रास्वपाको उपस्थिति काठमाडौंसहित देशका मुख्य सहरहरूमा केन्द्रित रहेको छ। सांगठनिक संरचना बिनै चुनावमा उत्रिएको रास्वपाले समानुपातिकतर्फबाट गरी झन्डै १० लाख मत कटाउँदै राष्ट्रिय हैसियत बनाउँदा एकीकृत समाजवादीलगायतका दलहरूले यो हैसियत नपाउने अवस्था देखिएको छ । सत्तारूढ गठबन्धन गर्दा हैसियतभन्दा बढी माओवादी र एकीकृत समाजवादीलाई सिट दिँदा सहरमा स्वतन्त्र पार्टीको उदय भएको रूपमा पनि हेर्न सकिने राजनीतिक विश्लेषकहरूको भनाइ छ । उनीहरूले सहर बजारमा कम्युनिस्टहरूको अवस्था खस्किँदै गएको अवस्थामा कांग्रेसले, माओवादी र एकीकृत समाजवादीलाई सिट छाड्दा त्यसको फाइदा स्वतन्त्रले लिएका हुन् । काठमाडौंका १० मध्ये क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठ बाहेक ४ ठाउँमा स्वतन्त्र पार्टी र ५ ठाउँमा नेपाली कांग्रेस विजयी भएको छ ।

अहिले रास्वपाको उदयलाई नेपाली राजनीतिका लागि एउटा महत्वपूर्ण प्रस्थान बिन्दु बन्न सक्ने विश्लेषकहरूले बताएका छन्।

देशमा मूलधारका दलहरूका कारण निम्तिएका कैयौँ विसंगति माथिको जनआक्रोश भएको विश्लेषकहरू बताउँछन्। राजनीतिक विश्लेषक मुमाराम खनाल अहिलेको माओवादी र एकीकृत समाजवादीका कारण पनि रास्वपाको काठमाडौंमा उपस्थिति देखिएको बताउँछन्। देशान्तरसँग कुरा गर्दै उनले भने ‘माओवादी पार्टी प्रचण्डको प्रालि भएको र उम्मेदवार छनोट लगायतका कुरामा ध्यान नदिँदा काठमाडौंमात्रै होइन देशभर नै उसको अवस्था खस्किएको छ।’