देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्य पाँच पार्टीका अध्यक्ष र सभापतिहरु विजयी : रवि लामिछानेलाई सर्वाधिक मतान्तर

देशान्तर

काठमाडौँ – प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ७५ वटाको नतिजा सार्वजनिक भएको छ ।
प्राप्त पछिल्लो नतिजा अनुसार कांग्रेस २८, एमाले १६, माओवादी केन्द्र ८, एकीकृत समाजवादी ७ र राष्ट्रिय स्वतन्त्र पार्टी ६ ठाउँमा विजयी भएका छन् ।

यस्तै, राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा समान दुई ठाउँमा विजयी भएका छन् । जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टीले एकरएक ठाउँमा जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले एउटा क्षेत्रमा जितेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा प्रमुख पाँच दलका नै शीर्ष नेताहरु नै विजयी भएका छन् । डडेल्धुरामा प्रतिनिधि सभातर्फ प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् । देउवा र ढकालबीच १२ हजार ४ सय ९२ मतान्तर छ।

झापाको क्षेत्र नम्बर–५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २८ हजारभन्दा धेरै मतसहित विजयी भएका छन्। उनले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५ सय ७६ मतले हराए। ओलीले ५२ हजार ३ सय १९ र कांग्रेसका अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याए । संसदीय चुनावमा ओलीको यो छटौँ जित हो ।

गोरखाको निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । उनले २६ हजार १ सय ३ मत प्राप्त गरेका छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाएका छन् । प्रचण्डको १३ हजार ४ सय ६७ को मतान्तर छ।

एमालेका अब्दुस मियाँले ७ हजार ३ सय ९२ मत ल्याएका छन् । गोरखा–२ मा ५४ हजार ५३ मत खसेको थियो । चुनावअघि प्रचण्ड सर्वाधिक मतान्तरले विजयी हुने चर्चा समेत सुनिएको थियो । तर त्यसो हुन सकेन ।

रौतहट क्षेत्र नम्बर–१ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले ३३ हजार ५ सय २२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाए । उनीहरुबीच ६ हजार ६ सय मतान्तर रहेको छ ।

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् । चुनावको केही महिना अगाडि मात्रै गठन भएको स्वतन्त्र पार्टीका सभापति लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् ।

लामिछाने ३४ हजार १ सय ७० मतान्तरसहित विजयी बनेका छन् । यो मतान्तर अहिलेसम्म आएका नतिजामध्येकै सर्वाधिक हो ।