काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन् ।
मंगलवार काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएसँगै उपस्थित भएका मतदाताहरुलाई सम्बोधन गर्दै उनले संसदीय दलको नेताका लागि निर्वाचनको तयारीमा जुट्ने बताए । उनले मतदाताले देश हाँक्ने नयाँ नेतृत्व खोजेको भन्दै मतदाताले व्यक्त गरेको मनको कुरालाई मनन गर्न निर्वाचित हुनुहुने प्रतिनिधि सभाका सदस्यहरुलाई आग्रह गरे ।
उनले भने – ‘म आजैबाट, अब नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको तयारीमा आजैबाट म जुट्छु । र यसमा तमाम साथीहरुको सबैको स्नेह, माया, यसै गरीकन मसँग रहन्छ । र निर्वाचित भएर आएका नेपाली कांग्रेसका सांसद साथीहरुले पनि आफ्नो मतदाताले के भनेर पठाउनुभएको छ, त्यो मतदाताको मन के छ ? मतदाताले मत मात्र दिनुभएको छैन, मतदाताले सँगसँगै उनले आफ्नो मनको कुरापनि व्यक्त गर्नुभएको छ । त्यो मनको कुरालाई पनि सम्मान गरेर खासगरी नेपाली काँग्रेसको तर्फबाट देशलाई हाँक्नको निम्ति नयाँ नेतृत्वको खोजि भएको कुरालाईसमेत मनन गर्दै सबै साथीहरु नयाँ जोशका साथमा र नयाँ चिन्तनका साथमा संसदभित्र आउनुहुन्छ भन्ने विश्वास व्यक्त गर्छु ।’
उनले जनताले स्थिर सरकारका साथसाथै देश हाँक्ने नयाँ चालक पनि खोजेको बताए । देश हाँक्ने नयाँ चालक नेपाली काँग्रेस पार्टीले मात्रै दिनसक्ने उनले बताए । त्यसको लागि पार्टीभित्र छलफल शुरु भइसकेको उनको भनाई छ ।
प्रतिनिधि सभा सदस्य थापाले पार्टीले देशलाई नयाँ नेतृत्व दिन आवश्यक रहेको उल्लेख गरे । नयाँ नेतृत्वले पार्टीलाई मजबुत र गठबन्धनलाई दिगो बनाउँदै जनतालाई विश्वस्त बनाउने उनको भनाई छ ।
उनले यस निर्वाचनबाट सत्तारुढ गठबन्धनले बहुमत प्राप्त गर्ने र गठबन्धनकै सरकार बन्ने विश्वास व्यक्त गरे । उनले नयाँ सरकारले आम जनतालाई दिनप्रतिदिन राम्रो भइरहेको छ भन्ने कुराको विश्वास दिलाउन सक्नुपर्ने बताए । थापाले निर्वाचन परिणाम हेर्दा मतदाताले मतसँगै आक्रोश पनि व्यक्त गरेको उल्लेख गरे । उनले निर्वाचनका क्रममा गरेका प्रतिवद्धताहरु पूरा गर्ने संकल्प समेत गरेका छन् ।
प्रतिक्रिया