देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गगन थापा : हार्ने हल्लादेखि जित्ने सम्भावनासम्म !

देशान्तर

  • नारायण सापकोटा

                           सुरुमा हार्ने हल्ला
चुनाव नजिकिंदै गर्दा काठमाडौं–४मा गगन थापाले हार्छन् भन्ने चर्चा व्यापक थियो । उम्मेदवारी दर्ता हुनु अगाडिसम्म धेरैले भन्थे, ‘यसपालि गगन थापालाई मुस्किल छ ।’ स्वतन्त्र उम्मेदवारी दिन्छु भन्ने डेढ दर्जन बढी आकांक्षी उम्मेदवारहरूको एउटै स्वर थियो– ‘गगन थापालाई हराएरै छोड्छौं ।’उनीहरू आफ्नो जितको भन्दा बढी गगन थापाको हारको कुरा गर्थे । यस्तो लाग्थ्यो, गगन थापा हारे उनीहरूलाई पुग्छ । यो नै तिनको उम्मेदवारीको मूल ध्येय हो । दिनहुँ सामाजिक सञ्जालमा गगन थापा विरुद्ध एउटा न एउटा स्वतन्त्र उम्मेदवारका आकांक्षीको हुङ्कार सुनिन्थ्यो ।

गगन थापा भने गठबन्धन र पार्टीका वैठकबाट बाहिर निस्कने फुर्सद नै पाइरहेका थिएनन् । यसले गर्दा कांग्रेसकै कार्यकता पनि डर देखिन्थ्यो– कतै साँच्चै अप्ठेरो पर्ने त होइन गगनलाई ! सर्वसाधारण जनता पनि स्वतन्त्रको लहरको मूल्याङ्कन गर्न सकिरहेका थिएनन् ।

यसैबीच पार्टीको तर्फबाट गगनको नाम सर्लाही –४ र कास्की – १ बाट पनि सिफारिस भयो । यसले काठमाडौं क्षेत्र नं.–४ का गगनका प्रतिस्पर्धीहरूले खुशी हुँदै हल्ला चलाउन थाले– गगनले काठमाडौंमा हार्ने डरले अर्कै निर्वाचन क्षेत्र रोजे । कांगे्रसकै कार्यकर्ताबीच पनि हल्ला चल्यो, ‘गगन सर्लाही जाने र काठमाडौंका गगनका ठाउँमा चुनाव लड्न स्वर्णीम वाग्ले आउने ।’

सर्लाहीबाट आएको कांगे्रसका नेता कार्यकर्ताको टोलीले पनि गगनलाई उतैबाट चुनाव लड्न अनुरोध गरेको थियो । उनीहरूको भनाइ थियो– गगन सर्लाही गएमा सिङ्गो तराईमा कांग्रेसको लहर आउँछ । त्यो भनाइ सही पनि थियो । मधेशवादी दलहरू आ–आफ्नै खिचातानीले छिन्नभिन्न हुँदै गएर कमजोर बनेका थिए ।

मधेसकेन्द्रीत दलको लहरमा लहरिँदै त्यतै हराएका नेताहरूले कांग्रेसभित्र भने खेलिरहेकै अवस्थामा गगन त्यहाँ गएर चुनाव लड्दा राम्रैसँग कांग्रेसको पक्षमा लहर आउने विश्लेषण गगनको टिमले पनि गरेका थियो । तर, हल्ला भने निर्णय नलिँदै सार्वजनिक भएको थियो ।

सर्लाही प्रसङ्गको फाइदा

रोचक कुरा के थियो भने, गगन सर्लाही जाने हल्लाले काठमाडौं–४ मा एकाएक गगनको पक्षमा चुनावी माहौल बन्न पुग्यो । एकातिर अघिल्लो चुनावमा गगनलाई मतदान गरेका र यो चुनावमा पनि गगनलाई मतदान गर्न चाहनेहरू आक्रमक रूपमा गगनको पक्षमा उत्रिए ।

उनीहरूले गगनलाई यो निर्वाचन क्षेत्र नछोड्न अनुरोध गरे । अर्कोतिर, कसलाई भोट दिने भन्ने टुङ्गोमा नपुगेका मतदाताले पनि ‘फुत्केको माछो ठूलो’ भनेझैं गगन सर्लाही जानु भनेको काठमाडौं–४ का लागि घाटा हुने विश्लेषण गर्न पुगे । यसरी सर्लाही प्रसङ्ग गगनको पक्षमा चुनावी माहौल बनाउने एउटा कडी बन्न पुग्यो ।

उम्मेदवारी दर्तापछि आएको लहर

जब गगनले उम्मेदवारी दर्ता गरे, केही स्वतन्त्र आकांक्षीहरूले गगनलाई नै समर्थन गरे । बाँकी स्वतन्त्र उम्मेदवारको चर्चा पनि घटेर गयो । मतदाताले स्वतन्त्रकोे कुरालाई ध्यान दिएनन् । फुटबल खेलमा क्वाटर फाइनल र सेमिफाइनलमा सबै प्रतिस्पर्धीटिम पाखा लागेर फाइनलमा दुईवटा मात्र बाँकी रहे जस्तो चुनावी मैदानमा मुख्य प्रतिस्पर्धीका रूपमा देखापरे, गगन थापा र एमालेका राजन भट्टराई मात्र । गगन पनि सिट बाँडफाँडको काम सकिएकाले चुनावी प्रचारप्रसारमा देखापरे । गगन प्रतिस्पर्धीप्रति आरोप प्रत्यारोपमा नलागी आफ्ना कामहरूको प्रचार प्रसारमा लागे । यसरी थोरै दिनमा गगनको पक्षमा चुनावी लहर बढेको देखियो ।

घरदैलो कार्यक्रममा देखिएको उत्साह
निर्वाचन आयोगले १७ गतेबाट घरदैलो कार्यक्रमको अनुमति दिएको थियो । यसदिनबाट गगनको चर्चा अझ चुलियो । आम मतदाताले गगनको अनुहार चिन्दथे । उनको आवाज पनि टेलिभिजन र सामाजिक सञ्जालबाटै भए पनि सुनेका थिए । यसको फाइदा गगनलाई भयो । उनीसँग सेल्फी खिच्नेहरूको भीड लाग्न थाल्यो । गगन मतदाताहरूसँग सहज र सरल रूपमा प्रस्तुत हुन सके । उनको प्रस्तुति देखेर धेरै मानिसहरूले भने, ‘गगनले मुसुक्क हाँसेर मीठो बोलेपछि भोट दिन्नँ भन्नेलाई पनि दिऊँ दिऊँ लाग्छ ।’

मीठो मुस्कानका भरमै मत त कहाँ दिन्छन् र मतदाताले ! उनीमाथि अनेक प्रश्नको वर्षा पनि गरे । गगनले नअक्मकिई हरेक प्रश्नको ठोस रूपमै जबाफ पनि दिए । उनका प्रतिस्पर्धींले छरेका भ्रमलाई पनि चिरे । जबाफ दिने क्रममा उनले तथ्य प्रस्तुत गरे, प्रमाण दिए । यसका लागि उनको चुनाव प्रचार–प्रसार समिति अत्यन्तै चुस्त देखियो । कुनै पनि प्रश्नमा उनी अक्मकिएनन् । उनका प्रतिस्पर्धीहरूले खहरेको प्रश्न उनका लागि निकै पेचिलो बनाउने प्रयास गरेका थिए ।

उनले यसको सहज उत्तर दिए, ‘म यसको समाधान विज्ञहरूको सल्लाह अनुसार गर्नेछु । जनतालाई त्यो सल्लाह मन नपरे विज्ञसँग अर्को विकल्प माग्नेछु । जनताको चित्त नबुझ्नेगरी म कुनै कार्य गर्ने छैन ।’
यसरी गगनको प्रस्तुति अन्य उम्मेदवारको भन्दा निकै प्रभावशाली देखियो । गगन आफूले गरेका काममा आधारमा भोट मागिरहेका थिए भने उनका प्रतिस्पर्धीहरू गगनप्रति आक्षेप लगाउने काममै बढी सक्रिय भइरहे ।

सामाजिक सञ्जालले लहर र राजनको अकमक्याइ

गगन थापाको पक्षमा लहर बढाउन सामाजिक सञ्जालको पनि ठूलो भूमिका रहेको छ । उनका लागि देश विदेशबाट सामाजिक सञ्जालमा प्रचार गर्ने मानिसहरूको संख्या उल्लेख्य छ । स्वतःस्फुर्त रूपमा उनलाई जिताउन उनका प्रशंसकहरू लागिपरेका छन् । जो काठमाडौं क्षेत्र नं.–४ का मतदाता होइनन्, त्यस्ताहरूको ठूलो संख्या गगनको चुनावी प्रचारमा लागेका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मादेखि अर्थविद् डा.स्वर्णीम वाग्ले जस्ता नेताले गगनको पक्षमा मत मागेका क्लिप टिकटकमा छ्याप्छ्याप्ती छन् ।

उनीहरूले गगनलाई भावी प्रधानमन्त्रीकै रूपमा प्रस्तुत गरेका छन् । वामपन्थी विचारका आलोचनात्मक दृष्टिकोण राख्ने प्रसिद्ध साहित्यकार खगेन्द्र सङ्ग्रौलादेखि चिकित्सा क्षेत्रको सुधारका लागि अहोरात्र लागिपरेका डा. गोविन्द केसीजस्ता सामाजिक जीवनमा प्रतिष्ठा र विश्वास आर्जन गरेका व्यक्तित्वको साथ पनि गगनलाई प्राप्त हुनुले मतदातामा उनीप्रतिको विश्वास अझ बढेको छ ।

गगनको चुनाव प्रचारप्रसारमा लागेको टिम आश्चर्य प्रकट गर्दै भन्छ– हाम्रो सम्पर्कमा नआएका, हामीलाई जानकारी नभएका धेरै मानिसहरू अहिले गगन थापालाई जिताउन प्रचारमा हुनुहुन्छ । आम मतदातामा २०७४ सालमा भन्दा अहिले बढी उत्साह देखिएको छ ।’ यो भनाइ सही पनि देखिन्छ । यसपाली नेपाली कांग्रेसपार्टीका कार्यकर्ता र समर्थक बाहेकका उल्लेख्य सङ्ख्यामा मतदाताले गगनलाई मत दिऔं भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । अनलाइन पोर्टलहरू र टेलिभिजनमा पनि गगनकै वर्चस्व देखिन्छ । गगनका प्रतिस्पर्धी यस कार्यमा निकै पछि देखिन्छन् ।

कतिसम्म भने, ऋषि धमलाले लिएको एउटा अन्तर्वार्तामा राजन भट्टराईलाई भने, ‘म तपाईंसँगै गगन थापालाई राखेर बहस गराउँछु ।’ यो सुनेर राजन उत्साहित हुनुको सट्टा केहीबेर अक्मकिए र भने, ‘अँ..अँ.. … त्यो पछिको कुरा हो ।’ राजनको अक्मक्याइले गगनको चुनावी लहरलाई भने अझ उर्जा प्राप्त भयो ।

गगनको कमजोरीभन्दा बढी शक्तिको चर्चा
चुनावी मौसममा पनि मतदातामाझ गगनको कमजोरीको चर्चा कम तर उनको शक्ति, प्रभाव र सफलताको चर्चा बढी देखिएको छ । अहिले गगन कंशको सभामा श्रीकृष्ण जस्ता पात्रका रूपमा देखापरेका छन् । कंशको सभामा गोपिनीले कृष्णलाई हिरोजस्तो देखेथे, ज्ञानीले तत्वदर्शीजस्तो, पहलमानले बज्रजस्तो, बूढाबूढीले बालकजस्तो, गोठालाले आफूजस्तै गोठालो देखेथे भने कंशले महाकालजस्तो ।

अहिले गगनलाई युवाले आफूजस्तै विद्रोही र उर्जा भएको टिप्पणी गर्दै छन्, प्रौढले योजनाबद्ध ढङ्गले कार्य गर्ने क्षमता भएको प्रभावकारी नेताजस्तो भन्दैछन अनि वृद्धले हुने विरुवाको चिल्लो पात देख्दैछन् । कसैले राजनीतिको फोहोर सफा गर्नसक्ने शक्तिशाली नेतृत्वजस्तो भन्दैछन् । अर्थात् सबै उमेर, वर्ग र समुदायका मानिसले आफूले खोजेजस्तो उम्मेदवारका रूपमा उनलाई प्रस्तुत गर्दैछन् ।

यसको पछाडिको एउटा कारण गगनले हिजोका दिनमा सडक, सदन, सरकार जता हुँदा पनि निर्वाह गरेको प्रभावशाली भूमिका हो । पार्टीमा उनले बढाउँदै लगेको कद र आयाम पनि हो । नेपाली कांग्रेसको महामन्त्रीजस्तो शक्तिशाली पदमा उनी अत्याधिक मतले विजयी हुनुले मतदातामा उनीप्रति थप आशा सँगसँगै भरोसा पनि पलाएको देखिन्छ ।

प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चर्चा
मतदाताहरू गगन थापाप्रति आकर्षित हुनुको कारणमध्ये एउटा प्रमुख कारण उनले संसदीय दलको नेताका लागि उम्मेदवारी दिएर जितेमा प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने भन्दै जनाएको प्रतिबद्धता पनि हो । देशभर वैकल्पिक शक्तिको लहर चलेको समयमा गगन थापा दलभित्रैबाट विकल्प बन्दैछन् ।

पटक पटक प्रधानमन्त्री भएकाहरुले यसपटक पनि आकांक्षा राखिरहँदा उनले प्रधानमन्त्रीको लागि ‘एटेम्ट गर्छु’ मात्र भन्दा पनि ठूलै शाहसको रुपमा उनको चर्चा भएको छ । परिवर्तित व्यवस्थाप्रति भरोसा बढाउनका लागि चुनाव भनिएपछि अहिलेसम्म कुनै पनि प्रमुख दलमा संसदीय दलको चुनाव हुने लक्ष्यण देखिंदैन । कांग्रेस, एमाले र माओवादीसहितका ठूला दलमा यसरी नेतृत्व विरुद्ध संसदीय दलमै लड्छु भन्ने आँटिला युवा देखा परेका छैनन् ।

जस्तो कि नेकपा एमालेले भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा नै केपी शर्मा ओलीलाई अघि सारेको छ, त्यहाँ कुनै युवाले म संसदीय दलको नेता बन्न केपी ओलीलाई चुनौति दिन्छु भन्ने हिम्मतै गर्ने अवस्था देखिएको छैन । त्यस्ता पात्रहरु पनि देखा परेका छैनन् ।

माओवादी केन्द्रमा त पुष्पकमल दाहाल प्रचण्डको जीवनमा उनले नै म विदा लिन्छु भनेर अरु कसैलाई अघि सारेको अवस्थामा बाहेक उनले इच्छा गरुन्जेल अर्को व्यक्ति उभिनसक्ने अवस्था नरहेको माओवादीका युवाहरु नै बताउँछन् । नेपाली कांग्रेसमा मात्र उमेरले पाँच दशक नटेकका गगनले देउवालाई चुनौति दिन आँट गरेका छन् । वर्तमान राजनीतिबाट निराश मतदातामा यसले आशा जगाउने कार्य गरेको छ । उनीहरूले यस कुरालाई पत्याएका पनि छन् ।

गगन कांग्रेसको राजनीतिका लागि मात्र आशा बनिरहेका छैनन् सिङ्गो युवा पुस्ताको ढ्ुकढुकी बन्दैछन् । जसरी बिपी कोइराला अरू दलका पनि प्रिय नेता बन्न सफल छन्, त्यसरी नै गगन चरम विरोधी पार्टीका युवाहरुका पनि आकर्षण बन्दैछन् । त्यसैले उनीे देशको राजनीतिमा लागेका देखि ‘आइ हेट पोलिटिक्स पुस्ता’सम्मका सेलिब्रेटी छन् ।

उनको यो लोकप्रियता अहिलेका लागि जति अनुकूल बनिरहेको छ भोलिका दिनका लागि त्यति नै चुनौती पनि हो । एउटा पुस्ताले नै आशा गरेको नेता सानो ठाउँमा चुक्यो भने त्यो उनका लागि धान्न नसक्ने आक्रमणको कारण बन्न सक्छ । उनको शैलीले जसरी राजनीतिमा चासो नराख्नेहरुलाई छुन्छ त्यसरी नै भोली उनीबाट हुने कमजोरीले त्यो वर्गलाई आक्रामक बनाउने जोखिम हुनसक्छ । त्यसैले गगनका लागि अहिलेको चुनाव भन्दा भोलिको राजनीतिक जीवन बढि चुनौतीपूर्ण छ ।

उनले संसदीय दलमा उम्मेदवारी मात्र दिएनन् भने पनि उनको इमान्दारितामा प्रश्न उठ्न सक्छ । गृहमन्त्री वा अन्य कुनै देउवाका प्रस्तावमा उनी लोभिए भने त्यो उनको दीर्घकालिन राजनीतिको एउटा दुर्घटना बन्न सक्छ । त्यसैले उनले देउवालाई संसदीय दलमा चुनौती मात्र गरेर पार्टीभित्रको बलियो र इमान्दार प्रतिपक्ष बन्न सकेभने उनीबाट आम नेपालीले गर्ने अपेक्षित भूमिका राजनीतिलाई थप बिग्रन नदिनु नै हुनेछ ।

उनी शेरबहादुरसँग लडन् डराए वा उनले पदको लोभ गरे भने नेपाली पाएको साथ उनले गुमाउन सक्छन् । तर, संसदीय दलको नेताबाट पराजीत भएर कुनै मन्त्रालयको जिम्मेवारी पाए भने उनको मूल्यांकन त्यो पदको सफलता असफलतामै सीमित हुनेछ । त्यसैले गगन थापाका लागि मंसिर–४को चुनाव भन्दा त्यसपछिको राजनीतिक यात्रा चुनौतीपूर्ण हुनेछ ।