देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीओको १० प्रतिशत हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याउने नियम कार्यान्वयनमा

देशान्तर

काठमाडौँ – प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्दा निष्कासित शेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याउने कानुन कार्यान्वयनमा आएको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा संशोधन गरेर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चित गरेको हो ।

अब कम्पनीहरूले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नुभन्दा अघि १५ दिनको अवधि तोकेर वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्रस्ताव आह्वान गर्नुपर्नेछ । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओ भर्दा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स बचत खाताबाट मात्रै भुक्तानी गर्न पाइनेछ । यो खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको देशबाट जम्मा गरेको हुनुपर्नेछ ।

विदेशबाटै आईपीओ भर्नका लागि आस्वा सदस्य बैंक अथवा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट सम्बन्धित व्यक्तिलाई सीआरएन नम्बर उपलब्ध गराउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

यसले गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंक खाता बढ्ने, खातामा पैसा बचत हुने र फजुल खर्च कम हुने सरकारको अपेक्षा छ ।