देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सियोलमा भागदौड मच्चिँदा १५० भन्दा बढीको मृत्यु

देशान्तर

सियोल – दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा १५० जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

ईसाई धर्माबलम्बीहरूले प्रत्येक बर्ष अक्टोबर ३१ मा मनाउने ‘हेलोवीन’मा सहभागी मानिसहरू राजधानीको प्रसिद्ध इटावोन जिल्लामा भागदौड हुँदा शनिबार उत्सवमा सहभागी राति एक लाखभन्दा बढी मानिस त्यस क्षेत्रका साँघुरा गल्ली र घुमाउरो सडकहरूमा थुनिएपछि उक्त अप्रिय घटना भएको प्रहरीले जनाएको छ ।

घटनाप्रति दुःख ब्यक्ति गर्दै दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले आइतबार राष्ट्रिय शोकको घोषणा गर्दै टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भने, ‘एउटा त्रासदी र विपत्ति आयो जुन हुनु हुँदैनथ्यो ।’ उनले भने, ‘सरकारले घटनाको विस्तृत अनुसन्धान गर्नेछ र भविष्यमा फेरि यस्तै दुर्घटना नहोस् भनी आवश्यक सुधार गर्नेछ तथा सावधानी अपनाउनेछ ।’

‘दुर्घटनास्थलको भ्रमण गर्नुअघि र उद्धारकर्मीहरूसँग कुरा गर्नुअघि सञ्चारकर्मीसँग बोल्दै राष्ट्रपति योलले भने, ‘घटनापछि मेरो हृदय भारी बनेको छ र पीडा नियन्त्रण गर्न गाह्रो भएको छ ।’

प्रत्यक्षदर्शीहरूले साँघुरो, ढलान भएको गल्लीमा फसेका मानिसहरू एकअर्कामाथि ढलेका र घुँडा टेकी उठ्ने र भीडबाट बाहिर निस्कन कोसिस प्रयास गर्दागर्दै भीडले कुल्चेर जीवन त्याग्न बाध्य भएका बताएका छन् ।

स्थानीय समयानुसार राति १०:०० बजे भएको भागदौडमा परी १९ विदेशीसहित कम्तीमा १५१ जनाको मृत्यु भएको अग्नी नियन्त्रण विभागले जनाएको छ । मृत्यु हुनेमा अधिकांश २० वर्ष भन्दा कम उमेरका युवती रहेको र ८९ जना घाइते भएको बताइएको छ ।

गृह मन्त्रालयले मृतकमध्ये अधिकांशको पहिचान भइसकेको जनाएको छ । ‘हेलोवीन घटनाका क्रममा धेरैलाई कुल्चिएका कारण हताहत हुनेको सङ्ख्या धेरै हुनगएको छ,’ अग्नि नियन्त्रक चोइ सियोङ-बिओमले घटनास्थलमा रहेका पत्रकारहरूलाई बताए । घटनामा कैयौँ व्यक्ति सख्त घाइते भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने उनले बताए ।