नेपाली समाजमा कुप्रथालाई तिलाञ्जलि दिइए पनि व्यवहारिक रुपमा भने अझैं सतप्रतिशत तिलाञ्जलि दिन नसकिएको दृष्टान्त हाम्रा सामु घाम जत्तिकै छर्लङ्ग छ ।
कानुनमा कुप्रथा अन्त्यका दस्तावेज कोरिए तर कानुन त मान्नेका लागि मात्र न हो, नमान्नेका लागि कानुनका दस्तावेजले पनि कुनै अर्थ राख्न सकेका छैनन् । परिणामतः साहित्यमा यस्ता विषयवस्तु बारबार उठान गरिन्छ ।
यस्तै विषयवस्तु बोकेको चलचित्र ‘निरमाया’ हाे । पश्चिम नेपालकाे दाङका दुई नायक अनुबन्धित भएर निर्माण कार्य सम्पन्न भई प्रदर्शनको तयारीमा ‘निरमाया’ चलचित्र रहेकाे छ । चलचित्र निरमायामा लामो समयदेखि कलाक्षेत्रमा सक्रिय रहँदै आएका दाङका अजित लामिछाने र जेबि डिसी नायकका रुपमा रहेका छन् । चलचित्र निरमायाको केही दिन अघि टिजर सार्वजनिक गरिएको छ ।
मदानी मुभिजको प्रस्तुतीमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को फर्स्टलुक पोस्टरसहित टिजर सार्वजनिक गरिएको छ । परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ ।
अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुती रहेको नेपाली सामाजिक चलचित्र ‘निरमाया’को निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको चलचित्र ‘निरमाया’ ले नेपाली समाजको यथार्थ कथा बाेकेकाे छ ।
चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जे।एन। घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ ।
रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द, कमल अधिकारी, रिमेश कुमारको संगीत रहेको छ । विनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको हो ।
एक मिनेट ४५ सेकेन्ड लामो टिजरले वर्षौं देखि जरो गाडेको जातिय छुवाछुतको मुद्दालाई उजागार गर्न खोजेको छ । टिजर मदानी मुभिज एण्ड इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
नेपाल सरकारको संविधानमा १७ वर्ष अघि अन्त्यको घोषणा गरिएको जातीय छुवाछुतको वर्तमान अवस्थामा पनि शहर केन्द्रित भएको तर गाउँ गाउँ कुना कन्दरासम्म यसको प्रभाव अझै रही रहेको र यस चलचित्रले उक्त विषय माथि आम जनमानस र नयाँ पिंढीहरुलाइ सकारात्मक संदेश दिई समाज र सोच परिवर्तन गर्न सफल रहने बिस्वाश निर्माण टिमको रहेको छ । निर्माण टिमले यस चलचित्रलाई नेपाल सरकारको सहयोगमा देशभर विभिन्न शोजहरु गरि जना चेतना जगाउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया