देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस्तो छ,नेसपाको चुनावी घोषणापत्र

देशान्तर

काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा)ले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेसपाले संविधान संशोधन, आर्थिक, सामाजिक, परराष्ट्र, कृषि, रोजगार लगायतका विषय समेटिएको घोषणापत्र सार्वजनिक गरेको हो ।

नेसपाले संविधान संशोधनलगायतका माध्यमबाट मुलुकको राजनीतिक र आर्थिक रूपान्तरण गर्न सकिने भन्दै घोषणापत्रमा संकल्प उल्लेख गरेको छ । माओवादी केन्द्रको चुनाव चिह्न ’हँसिया हथौडा’ लिएर चुनावी मैदानमा उत्रिएको नेसपाले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरूको व्यवस्था गरिने उल्लेख गरेको छ ।

त्यसका लागि संविधान संशोधन गर्न सहमत राजनीतिक दलहरूलाई दुई तिहाइ मत दिन अपील गरिएको छ । राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था पनि गर्ने उल्लेख छ । राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने नेसपाको घोषणापत्रमा उल्लेख छ ।

भ्रष्टाचार अन्त्य गर्नका लागि जनलोकपालदेखि कर्मचारीतन्त्रको रुपान्तरणसम्मका योजना नेसपाले घोषणापत्रमा राखेको छ । ’नेपालको राज्यव्यवस्था र भ्रष्टाचार पर्यायवाची जस्तै बनेका छन् । नेपालमा उद्यमशील पुँजीवादभन्दा बहुराष्ट्रिय निगमका एजेण्टहरू मार्फत कमिशनखोर पुँजीवाद फष्टाइ रहेको छ । राजनीतिक दल, कर्मचारीतन्त्र र न्यायालय लगायत राज्यका सबै अङ्गहरू यसका बाहक बनेका छन्,’ घोषणापत्रमा भनिएको छ ।

भ्रष्टाचार अन्त्य गर्नका लागि सदाचार ऐनको व्यवस्था, जनलोकपाल गठन, संवैधानिक आयोग, विश्वविद्यालय तथा प्रतिष्ठानहरूको पदाधिकारीहरूको नियुक्तिमा दलीय भागबन्डाको अन्त्य, राष्ट्रिय योजना आयोगको पुनःसंचरना, नीति अनुसन्धान प्रतिष्ठानको सवलीकरण, निजामती सेवा प्रणालीको रूपान्तरण गरिने नेसपाको घोषणापत्रमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र महिन्द्र राय यादव अध्यक्ष रहेको नेसपाले छिमेकी मित्रराष्ट्र तथा अन्य मुलुकहरूसँग भाइचाराको सम्बन्ध स्थापित गरी नेपाली वस्तु तथा सेवा बजारको दायरा बढाउने, उनीहरूको पुँजी र प्रविधिलाई नेपाल भित्र्याएर राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्ने नीति लिनुपर्ने कुरा घोषणापत्रमा उल्लेख गरेको छ ।