देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केदारमानसिंह ‘वन म्यान आर्मी थिए’


वरिष्ठ पत्रकार केदारमान सिंहको भौतिक उपस्थिति अब रहेन । उनको देहावसानबाट नेपालमा स्वतन्त्र पत्रकारिताका निम्ति भएको लामो र अथक संघर्षका एक त्यस्तो योद्धाको अन्त्य हुन पुगेको छ, जो एक्लै पनि एक पल्टन बराबर थिए । उनी भाग्यमानी थिए, तसर्थ उनलाई एएफपी र बीबीसीजस्ता विश्वविख्यात् सञ्चार माध्यमको प्रतिनिधि भएर काम गर्ने दुर्लभ अवसर मिल्यो ।

उनको योग्यता र क्षमता यस्तो थियो कि सञ्चारका ती प्रभावशाली माध्यमको उपयोग उनले आफ्नो सुख र समृद्धिका निम्ति मात्र होइन, देशमा चलिरहेको प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनको विश्वव्यापीकरणका पक्षमा मोड्न पनि समर्थ भए । त्यसैले एक समय उनलाई वन म्यान आर्मी भन्ने गरिन्थ्यो ।

इतिहासको विशेष कालखण्डमा प्रजातन्त्र र प्रेस स्वतन्त्रताका लागि जति योगदान दिए, त्यसलाई अरूले बिर्से पनि प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिर्सन सक्तैनन् र मिल्दैन पनि ।

नेपालका अरू पत्रकार, जो स्वतन्त्र पत्रकारिताका तिनै मूल्य र मान्यताका निम्ति संघर्ष गरिरहेका थिए, उनीजत्ति भाग्यशाली थिएनन्, त्यही कारण उनीहरूले जेलको यातना र भुक्तमान झेल्नु परेको थियो ।

उनले प्रतिनिधित्व गरेका सञ्चारका संस्थाहरूका प्रतिष्ठालाई आफ्नो रक्षाकवच बनाउन उनी सफल मात्र भएनन्, तिनका माध्यमबाट नेपालको प्रजातान्त्रिक आन्दोलनको तत्कालीन अवस्थालाई शेष विश्वका प्रजातन्त्रवादीहरू सामु पुर्‍याउनसमेत सफल भए ।
विसं २०३० देखि २०४६ सम्मको अवधि उनको सक्रिय पत्रकारिताको यस्तो युग थियो, जसमा उनले दुईधारे तरबारमा टेकेर काम गर्नु परेको थियो । बीबीसी र एएफपीलाई हरेक घटनाको आन्तरिक कारण र परिणाम चाहिन्थ्यो, जसलाई त्यसबेलाको दरबारले सार्वजनिक गर्न अनुमति दिँदैनथ्यो ।

उनी पेशेवर पत्रकार भएकाले दरबारलाई रुचिकर लाग्ने समाचार मात्र दिन पनि सक्तैनथे । उनले दुवैतिरबाट बच्नु परेको थियो, यथार्थ जनसमक्ष ल्याउनु पनि परेको थियो । व्यवहार कुशल पत्रकार भएकाले उनी त्यस्तो सन्तुलन योग्यतापूर्वक कायम गरेर अघि बढ्थे ।

दिवंगत पत्रकार केदारमान सिंह

सर्प मर्ने तर लठ्ठी भने नभाँचिने कला लागू गर्न उनी सिद्धहस्त थिए । त्यही कारण उदार बीबीसी र अनुदार नारायणहिटी दरबार दुवैलाई उनले नारेर जोत्न सकेका थिए । उनले जतिसुकै प्रतिकूल परिस्थितिमा पनि राजदरबार र सिंहदरबारका पुल भत्काउने काम गरेनन् ।

त्यसलाई आफ्नो पक्षमा प्रयोग गर्न पनि छाडेनन् । बीबीसीको अंग्रेजीको वल्र्ड सर्भिस, हिन्दी सेवा र नेपाली भाषामा प्रसारित हुने कार्यक्रममा काठमाडौंबाट केदारमानसिंहको डिस्प्याच सुन्न संसारभरिका नेपाली श्रोता अधैर्य प्रतीक्षा गरिरहन्थे । उनका समाचार तथा टिप्पणीबाट कुराको चुरो बुझेपछि मात्र धेरैलाई खाना हजम हुने गथ्र्यो ।

२०४६ को ऐतिहासिक जनआन्दोलनका सुरुका दिनमा पञ्चायत सरकारले आन्दोलनलाई ह्याकुल्लाले मिचेर बढ्ने अभिप्रायले भनेको थियो, ‘मुठ्ठीभरिका व्यक्तिले चलाएको कथित् आन्दोलनलाई बीबीसीले अतिरञ्जित तुल्याएको मात्र हो ।

त्यो केही दिनमै सामसुम भएर जान्छ ।’ तिनताका केदारमानसिंहलाई सरकारमा रहेका वरिष्ठ अधिकारीको त्यस्तै धम्की आउँथ्यो, जस्तो हिटलरका सञ्चारमन्त्री ग्वेवेल्सले नाजीविरोधीलाई दिने गर्दथे । त्यत्ति मात्र होइन, उनीहरू समाचार सम्प्रेषणमा अवरोध खडा गर्ने काम पनि गर्थे, जसले गर्दा वैकल्पिक प्रविधि अपनाउन उनी वाध्य हुन्थे । तैपनि उनी निरुत्साहित भएनन् । न थाके, न भागे । प्रजातन्त्रका प्रतिको उनको निष्ठा कहिलै डगमगाएन ।

नेपालमा प्रजातन्त्रको पुनस्र्थापनापछि वाक तथा प्रकाशन स्वतन्त्रता बहाल भयो । नेपालका राजनीतिक दलहरूमा उनको आस्था र निष्ठा नेपाली कांग्रेसप्रति थियो । त्यसैले माओवादी जनयुद्धको उनले कहिलै समर्थन गरेनन् ।

त्यसलाई आतंकवादी क्रियाकलाप मान्नेहरूमध्ये उनी पनि एक थिए । त्यसैले उनले बाह्रबुँदे दिल्ली सम्झौता सफल हुनेमा सदैव शंका प्रकट गर्ने गर्थे । कम्युनिस्टले प्रजातन्त्र र प्रजातन्त्रवादीले कम्युनिस्ट पद्धति आत्मसात् गर्लान् भन्ने विश्वास उनको थिएन । उनका दर्जनौं लेखहरू त्यसका साक्षी छन् ।

उनले नेपालको इतिहासको विशेष कालखण्डमा प्रजातन्त्र र प्रेस स्वतन्त्रताका लागि जति योगदान दिए, त्यसलाई अरूले बिर्से पनि प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिर्सन सक्तैनन् र मिल्दैन पनि ।

तर उनीहरू दुवैले केदारमानसिंह श्रेष्ठको निधनपछि सम्मानपूर्वक अन्त्येष्टिको व्यवस्था त गरेनन् नै, समवेदना व्यक्त गर्ने कर्तव्यसम्म पूरा गरेको नदेख्दा प्रजातन्त्र र प्रेस स्वतन्त्रताको मर्म र महत्व नेताहरूका नजरबाट कति टाढा भएछ, त्यो पनि छर्लंग हुन पुगेको छ ।

मित्र र सहयोगी साथीहरूभनेपछि हुरुक्क हुने उनले नेताहरूबाट सम्मान नपाए पनि अपमान व्यहोर्न नपरेको भए राम्रो उदाहरण स्थापित हुने थियो । त्यो सम्भव भएन । उनले अब कसैप्रति त्यस्तो गुनासो गर्ने सम्भावना पटक्कै छैन, तर बाँचेकाहरूका लागि भने त्यसको थकथकी लागिरहनेछ ।
उनको अमर आत्माले शान्ति पाओस् । हार्दिक श्रद्धाञ्जलि ।