सत्तारूढ गठबन्धनको एक घटक एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले विगतमा केपी ओलीका कारण एमालेबाट विद्रोह गर्नु परेको बताउँदै त्यो विद्रोह सही सावित भएको बताएका छन् । दुईदुई पटक संसद् विघटन गरेर संविधानमाथि प्रहार गरेका कारण नै एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गरिएको बताए । एकीकृत समाजवादी पार्टी गठनसँगै अहिलेको गठबन्धन पनि निर्माण भएकाले यो गठबन्धन संविधान रक्षाका लागि सफल भएको बताए । वर्तमान गठबन्धन स्थिर सरकार निर्माणका लागि आउँदो चुनावमा जाने र जनजीविकाका सवालमा काम गर्ने पनि ज्वालाले बताए । देशान्तर साप्ताहिकका लागि मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै ज्वालाले अहिले पनि सिट बाँडफाँटको काम चलिरहेको बताउँदै सबैले धेरै दाबी गर्दा सहमति जुट्न नसकेको स्वीकार गरे । गठबन्धनले चुनाव जित्नेमा ढुक्क रहेको बताउँदै उनले आफू सल्यानबाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने पनि बताए । ज्वालासँग गरिएको कुराकानीको सम्पादित अंश :-
एकीकृत समाजवादीको चुनावी तयारी कस्तो छ ?
चुनाव आउन ३ महिना बाँकी छ । मंसिर ४ गतेको आम निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउने निर्वाचन आयोगले कार्यतालिका प्रकाशित पनि गरिसकेको छ । चुनावका लागि अन्य राजनीतिक दलहरूजस्तै हाम्रो पार्टी एकीकृत समाजवादी पनि जुटिरहेको छ । अहिले हामी समानुपातिकको सूची तयार पार्नेदेखि घोषणापत्र बनाउनेसम्मका काममा केन्द्रित छौं । निर्वाचन आयोगले तोकेको समय सीमाभित्र संघ र प्रदेशका समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउँछौं ।साथै प्रत्यक्षतर्फका उम्मेदवारको चयन गर्ने र निर्वाचनको अभियान अघि बढाउँदै गएका छौं ।
तपाईंहरूको पार्टी नयाँ भएकाले घोषणापत्र कस्तो आउँछ भन्ने चासो पनि छ ?
घोषणापत्रमा छुट्टै अलग्गै विषय लेख्नेभन्दा पनि हामीले हाम्रो पार्टी पुनर्गठन गर्दाखेरि राजनीतिक रूपमा र राष्ट्रको आर्थिक, सामाजिक परिवर्तनका निम्ति जे संकल्प गरेका छौं, र हिजो स्थानीय तहको निर्वाचनमा या २०७४ को निर्वाचनमा गरेको प्रतिबद्धताहरूलाई पुनः जनताका बीचमा दोहोर्याउने र कतिपय नयाँ इस्यु नयाँ एजेन्डाहरूजनताको बीचमा पुर्याउनु पर्नेछ, ती विषयहरूलाई सम्बोधन गरेर घोषणापत्र तयार गर्दैछौं ।
तपाईंहरूले जुन उद्देश्य लिएर एमालेबाट विद्रोह गर्नुभएको थियो, त्यो उद्देश्य पूरा भएको हो ?
हामी जसरी एमालेबाट हामीले प्रतिगमनका विरुद्धमा विद्रोह गर्यौं । राजनीतिक रूपमा जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि जुन प्रहार हुने काम भएको थियो, जसरी व्यवस्था र संविधानमाथि केपी ओलीले पटकपटक प्रहार गरेपछि त्यसका विरुद्धमा प्रतिगमनका विरुद्धमा विद्रोह गर्दै आन्दोलनमा गएका थियौं । हामीले आन्दोलनमार्फत त्यो प्रतिगमनलाई पराजित गरेर संविधानलाई सही बाटोमा ल्याएका छौं । त्यस हिसाबले हाम्रो विद्रोहको औचित्य पुष्टि हुन जान्छ । त्यसैगरी कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीकाविरुद्धमा जसरी घात हुने काम भएको थियो र दक्षिणपन्थी अवसरवादका विरुद्धमा जुन संघर्ष गर्दै आएका थियौं र दक्षिणपन्थी अवसरवाद र कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनका विरुद्धमा भएका क्रियाकलापकाविरुद्धमा हामीले जुन विद्रोह गरेका थियौं त्यो औचित्यपूर्ण र सही थियो र छ ।
तपाईंहरूकै विद्रोहका कारण नेपालको कम्युनिस्ट आन्दोलन कमजोर भयो पनि भन्छन् त ?
आरोप त जसले जसलाई जे लगाए पनि हुन्छ । जसरी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै हामी राष्ट्र, राष्ट्रियता, जनजीविकाको निम्ति अगाडि बढ्दै थियौं, कम्युनिस्ट आन्दोलन सुदृढ बन्दै थियो, कम्युनिस्ट पार्टीले संसद्मा करिबकरिब दुई तिहाइ बहुमत पनि ल्याएको थियो । दुई तिहाइ बहुमतको सरकार पनि बनाएका थियौं । पाँच वर्ष हामीले जनताकोबीचमा राम्रो काम गर्न सक्ने अवसर थियो । समाजवादका आधारहरू निर्माण गर्न सक्ने मौका थियो, त्यो सबै अवसर र सम्भावनालाई क्षत्विक्षत बनाउने हामीले गरेनौं ।
तपाईंहरूले काम पनि त गर्न दिनु भएन ?
काम गर्न हामीले रोकेका थिएनौं ।सरकार निर्माण भएको थियो, प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो । उहाँनै पार्टीको शीर्ष नेतृत्वमा पनि हुनुहुन्थ्यो । पार्टीलाई ठीक ढंगले चलाउने र सरकारलाई जनता राष्ट्रको पक्षमा, परिवर्तन र रूपान्तरणको पक्षमा सरकारलाई उपयोग गर्ने कुराको निम्ति कोही कसैले रोकेको थिएन । हामीले त्यही काम गर भनेर निरन्तर दबाब दियौं खबरदारी गर्यौं । त्यो भएन, सरकार उल्टो बाटो हिँड्यो, एकातिर पार्टी ध्वस्त बनाउने र सरकारले पनि जनताको पक्षमा काम नगर्ने ढंगले जाँदाखेरि हामी बाध्य भएर कदम चालेका हौं । त्यतिबेला हामीले ओलीले जे गरे गर्नुहुन्छ भनेर आत्मसमर्पण गर्नु पर्ने थियो, कि भने हामीले विद्रोह गर्नुपर्ने थियो । हामीले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनका साथै संविधान र अहिलेको व्यवस्था जोगाउनका लागि विद्रोहलाई रोज्यौं र त्यसमा हामी सफल पनि भयौं ।
तपाईंहरू जोगाउन भन्नुहुन्छ, एमालेले कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्नका लागि भन्छ ?
कसले के भन्छ भन्दा पनि घटनाक्रमले के कुराहरू पुष्टि हुँदै गयो भन्ने कुरा होला नि। घटनाक्रमहरूले सवै कुरा त प्रष्टरूपले देखाउँदै आएको छ ।
एकीकृत समाजवादीले चुनावमा कति सिटमा उम्मेदवार उठाउँदै छ ?
देशभर संघीय संसद्तर्फ प्रत्यक्ष निर्वाचित हुने प्रणालीमा १६५ सिट र प्रदेशको ३३० सिट छ । ती सवै सिटहरूका निम्ति र समानुपातिकका निम्तिसबै निर्वाचन क्षेत्र, जिल्ला, प्रदेशबाट उम्मेदवारको सिफारिस गराएर पनि आइसकेको छ । समानुपातिकका निम्ति त हामीले हाम्रो पार्टीका तर्फबाट संघमा ११० जना र प्रदेशमा २२० जनाको तयारी गरिसकेका छौं । हामी त्यसैअनुसार बढ्दै छौं । जहाँसम्म प्रत्यक्षको कुरा छ, पाँच दलकोबीचमा गठबन्धन छ, गठबन्धनकाबीचमा छलफल पनि भइरहेको छ । संघीय संसद्को १६५ मध्ये १०० सिटमा सहमति पनि गरिसकेका छौं । यस्तो अवस्थामा प्रत्यक्षमा गठबन्धनको सहमतिअनुसार हाम्रो पार्टीको भागमा पर्ने सिटमा हामीले उम्मेदवार बनाउँछौं । यद्यपि हामी सबै सिटको निम्ति तयार पनि छौं ।
त्यो भन्या संख्या कति ?
अहिले पनि संख्याको विषयमा छलफल चलिरहेको छ । हामीले गठबन्धनको बैठकमा संघीय संसद्को ४० सिट दाबी गरेका छौं । त्यसमा तलमाथि हुने कुरा होला । कांग्रेस, माओवादी, जसपा सबैको दावी त अलिकति बढी नै हुने भयो । अहिले संख्याका विषयमा सबैका कारणले सहमति भएको छैन । सबै सहमत भए भने टुंगो लाग्छ । सहमति गर्दा संख्या र निर्वाचन क्षेत्रको हकमा पनि कम्प्रमाइज गर्नु पर्नेछ । करिब १०० सिटमा एकल दाबी भयो । एकल दाबी भनेको टुंगिएको अवस्था हो । कतिपय क्षेत्रमा दुई पार्टीको मात्रै दाबी छ । दुई पार्टीको दाबी भएको क्षेत्रमा दुई पार्टीकाबीचमा पनि छलफल गरिरहेका छौं । कुनै कुनै निर्वाचन क्षेत्रमा तीन पार्टीका दाबी छ । कतिपय निर्वाचन क्षेत्र मिलाउन पनि पर्नेछ । त्यसकारणले हामी सिट बाँडफाँटको सहमतिको अन्तिम अवस्थामा छौं ।
तपाईंले सहमतिको अन्तिम अवस्थामा भन्नुहुन्छ, कतिले त फेरि अझैं पनि गठबन्धनको टुंगो छैन, बरु वाम गठबन्धन बन्छ भन्छन्, सम्भावना छ ?
अहिलेको वाम लोकतान्त्रिक गठबन्धन धेरै अगाडि बढी सकेको छ । अहिलेको गठबन्धनले प्रतिगमनकाविरुद्धमा सँगसँगै आन्दोलन गरेका थियौं । प्रतिगमनलाई पराजित गरेर सरकार बनायौं, राष्ट्रियसभाको निर्वाचन सँगै लड्यौं, स्थानीय तहको निर्वाचनमा एक खालको तालमेल गर्यौं । अहिले पनि हामी गठबन्धनमा छौं । त्यस हिसाबले अहिलेको अवस्थामा वाम लोकतान्त्रिक गठबन्धन नै अघि बढ्छ ।
तपाईं कहाँबाट, संघ कि प्रदेश ?
म हाम्रो पार्टीबाट सल्यानको प्रतिनिधिसभाको उम्मेदवार बन्छु, साथीहरूले मलाई अहिले सिफारिस गर्नुभएको छ ।
यसअघि प्रदेशमा हुनुुहुन्थ्यो, यस पटक किन केन्द्रमा आकांक्षा देखाउनुभयो ?
एकै ठाउँमा दोहोर्याउनु पर्छ भन्ने पनि छैन । म एक पटक प्रदेशसभामा गएर काम गरिसकेकाले अहिले केन्द्रमा आउन खोजेको हुँ । पहिला पनि त प्रदेश संरचना नहुँदा सांसद भएको थिएँ । म जहाँ भए पनि राष्ट्र र जनताका निम्ति गर्न सकिने योगदान गर्ने हो ।
तपाईंका एजेन्डाहरू के के हुन् ?
आम एजेन्डाहरू देशभरका एकै नै छन् । राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरण र परिवर्तनको सबालमा सबैका एजेन्डा एउटै हुन्छन् । खासगरी म सल्यानबाट प्रतिनिधिसभा, संविधानसभा रहँदामा र पछिल्लो समय संघीयता कार्यान्वयन गरौं भनेर अझै नजिकको सरकारको रूपमा प्रदेश सरकारमा सहभागी भए । प्रदेश सरकारका तर्फबाट गरेका कामहरू, त्यहाँका जनताका मन मस्तिष्कमा प्रष्ट छन् । विकास निर्माणको दृष्टिले पछाडि पारिएको केन्द्रबाट उपेक्षित गरिएको जिल्ला सल्यान पनि हो । त्यस्तो उपेक्षित जिल्लालाई राज्यको मूल प्रवाहमा ल्याउने मेरो पहिलो प्राथमिकता हुनेछ । त्यसैगरी अहिले पनि बाँकी कामहरू छन् । त्यहाँको सडक, बाटोघाटो, बिजुली, खानेपानी, स्वास्थ्य क्षेत्रलगायतका समस्या समाधानका लागि मेरो पहल हुन्छ ।
अब हामीले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने कुरा, बेरोजगार युवाहरूलाई रोजगारी दिने कुरा सकेसम्म देशभित्रै रोजगारी दिने र बाहिर जानुपर्ने अवस्थामा उनीहरूलाई सुरक्षित रोजगारीको सम्भावना खोजी गर्ने कुरामा ध्यान हुन्छ । यसैगरी सल्यान भनेको अदुवाको राजधानी पनि भएको र यहाँका मानिसहरूको जीविकोपार्जनको मुख्य आधार अदुवाका साथसाथै सुन्तला जातका फलफूल र बेमौसमी तरकारी पनि हो । त्यसैले सल्यान जिल्लालाई कृषिमा आत्मनिर्भर बनाएर निर्यात गर्न सक्ने अवस्थामा पुर्याउनु पर्नेछ । यी एजेन्डाहरू विगतमा पनि हामीले उठाएका थियौं, अहिले पनि पूरा नभएका योजनाहरूलाई पूरा गर्ने गरी मंसिर ४ गतेको चुनावमा केन्द्रित हुन्छौं ।
गठबन्धनका उम्मेदवार विजयी हुने आधार के हो ?
पछिल्लो समय गठबन्धनको राजनीति मौलाउँदै गएको छ । हामीले २०७४ सालको चुनावमा पनि वाम गठबन्धन बनाएका थियौं । यतिबेला केपी ओलीले पनि राप्रपालगायतका दलहरूसँग गठबन्धन गर्दै हुनुहुन्छ । हामीले पनि गठबन्धन गर्दैछौं । चुनावी हिसाबले गठबन्धन गर्दै जाने कुरा छँदै छ । गठबन्धनका बीचमा विश्वासिलो भरपर्दो आधार निर्माण गर्ने, निर्वाचनलाई निष्कर्षमा पुर्याउने निर्वाचनपछि राष्ट्रलाई स्थिरता दिने राष्ट्रलाई समृद्धिको यात्रामा अगाडि बढाउनका निम्ति हामी सबै एक भयौं भने गठबन्धन विजयी हुन्छ ।
२०७४ मा वाम गठबन्धनलाई जनताले पत्याए, तर तपाईंहरू नै सफल हुनुभएन, अब फेरि वाम लोकतान्त्रिक गठबन्धनलाई किन पत्याउने ?
राजनीति भनेको देशको विशिष्ट अवस्थाअनुसार अगाडि बढ्छ । नेपालका सन्दर्भमा निरंकुश पञ्चायतका विरुद्धमा, राजतन्त्रका विरुद्धमा आम रूपमा सामन्तवादका विरुद्धमा कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरूकोबीचको तालमेलपछि वाम लोकतान्त्रिक गठबन्धनले पञ्चायत र राजतन्त्र फाल्यौं र देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भयौं । यहाँको विशिष्टताअनुसारको अभ्यासमा हामी सफल भयौं । हामीले संविधान निर्माण गरेर संघीयताको कार्यान्वयन गराउँदैछौं । संघीयतालाई अझ बलियो बनाउँदै राष्ट्रलाई समृद्धिको यात्रामा अघि बढाउनका लागि राजनीतिक स्थिरता चाहिन्छ । राजनीतिक स्थिरताका लागि दलहरूकाबीचमा एकता हुनुपर्छ । त्यो एकता निर्वाचनमा पनि व्यक्त हुनु पर्यो । निर्वाचनपछि फेरि संयुक्त सरकार बनाएर अघि बढ्नु पर्नेछ । हाम्रा राजनीतिक आस्था फरकफरक भए पनि मुलुकको हितको निम्ति हामीले गठबन्धन गरेकाले यो गठबन्धनलाई जनताले अनुमोदन गर्नुहुन्छ ।
अहिलेको गठबन्धनले स्थिर सरकार दिन्छ ?
हामी स्थिर सरकार दिन्छौं । अघिल्लो पटक जुन आशा र भरोसाका साथ जनताले मत दिए, त्यसमाथि तुषारापात गर्ने काम केपी ओलीबाट भयो । यो कुरा जनताले प्रष्टसँग बुझेका छन् । त्यसैले त्यस्ता शक्तिलाई जनताले सजाय दिन्छन् । अहिलेको गठबन्धन एकताबद्ध भएर जाँदा जनताले भरोसा गर्छन् । त्यसैका आधारमा हामीले स्थिर सरकार बनाउँछौं ।
प्रतिक्रिया