काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विश्वस्तरकै स्टार खेलाडीका रुपमा स्थापित भइसकेको नाम हो । सन् २०१८ मा विश्वकै सर्वाधिक चर्चित फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग आईपीएलमा डेब्यु गरेयता उनले पछाडि फर्कनु परेन ।
३ सिजन आईपीएलमा विताएका सन्दीपले विश्वस्तरका अधिकांश फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेल्दा नेपालको नाम विश्व स्तरमा पु¥याउन ठूलो योगदान गरे । खेलाडी आफैमा पर्यटन सद्भावना दूत पनि भएकाले उनको प्रगतिमा नरमाउने को नै नेपाली होला र ? तर अहिले उनीमाथि लागेको गम्भीर आरोपले सवै नेपालीको शीर एक पटक निहुरिएको छ । गत भदौ ६ गते नेपाली टिमको नेतृत्व गर्दै सन्दीप केन्या पुगेका थिए ।
केन्यामा भएको ५ खेलको टी २० सिरिज ३–२ ले जितेपछि उनी पूर्व निर्धारित तालिका अनुसार वेस्टइन्डिजमा भएको क्यारेवियन प्रिमियर लिग क्रिकेट सीपीएल खेल्न लागे । तर यसबीचमा भदौ ५ गतेको घटनाभन्दा काठमाडौंको गौशाला प्रहरीमा नावालिकाले सन्दीपविरुद्ध बलात्कारको आरोप पत्र दर्ता गरिन् । त्यसपछि एक कान दुई कान मैदान भनेजस्तै यो घटना सार्वजनिक भएपछि सन्दीपले सीपीएल छाडेर चाँडै नेपाल फर्कने बताएका थिए । सामाजिक सञ्जालमार्फत काठमाडौं आइपुग्ने बताए पनि उनी अझैं नेपाल नफर्कनुलाई सवैले रहस्मय तरिकाले बुझेका छन् । वेस्टइन्डिजबाट सामान्यतया २ दिनमा नेपाल आउन सकिन्छ तर हप्तादिन वित्न लाग्दा पनि उनी नेपाल आएका छन् । उनी अहिले कुन ठाउँमा छन् भन्ने विषयमा प्रहरीले खोजी गरिरहेको छ ।
अहिले उनी कानुनी परामर्शका लागि सिंगापुरमा रहेको बताइए पनि यसको स्वतन्त्र पुष्टि भने भएको छैन । उनी रातो पासपोर्ट धारी सन्दीपलाई विश्वका कुनै पनि ठाउँमा यात्रा गर्न अप्ठेरो नपर्ने भएकाले उनी अहिले सिंगापुर या कतारमा रहन सक्ने अनुमान पनि गरिएको छ । उनी नेपाल आएर अनुसन्धानलाई अघि बढाउन पहल गर्नुपर्नेमा नआए पछि के गर्ने भन्ने अन्योल पनि रहेको छ । तर कानुन अनुसार अभियुक्त नआएमा एकतर्फी मुद्दा अगाडि बढाउने प्रावधान रहेकाले जहिले पनि उनी कानुनी फन्दामा पर्ने छन् । यदि उनीमाथि बलात्कार गरेको आरोप प्रमाणित भएमा १२ वर्ष जेल सजाय भोग्नु पर्ने छ । प्रहरीले अदालतमा मुद्दा दर्ता गरेपछि सन्दीपलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अघि बढाउने तयारी पनि गरेको छ । तर सन्दीपका नजिक रहनेहरुले उनी चाँडै काठमाडौं आइपुग्ने र उनी प्लेनबाटै आउने देशान्तरलाई जानकारी दिएका छन् ।
प्रतिक्रिया