कांग्रेसको ओठे जवाफ हुने गर्छ– प्रजातन्त्र दियो । त्यो भनेको आवधिक निर्वाचनका माध्यमबाट जनताले आफ्ना प्रतिनिधि रोज्न र फेर्न पाउने अधिकार हो । त्यस्तो अधिकार भारत, बेलायत, अमेरिका र जापानका जनतालाई प्राप्त छ । तर चीन, उत्तर कोरिया, भियतनाम र क्युवाका जनतालाई भने त्यो अधिकार प्राप्त छैन । ती कम्युनिस्ट देशमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि गाउँस्तरका शासक छान्ने र नियुक्त गर्ने अधिकार, केबल कम्युनिस्ट पार्टीलाई मात्र हुन्छ, अरू पार्टी र विचारधारको त्यहाँ गुञ्जायस नै हुँदैन । यो तथ्य सर्वविदित छ कि कम्युनिस्ट पार्टीको एकदलीय अधिनायकवादमा नागरिक स्वतन्त्रता र मानवअधिकार हुँदैन । ती सबै कम्युनिस्ट पार्टीले खटाएर जे दिन्छन्, त्यसैलाई मानवअधिकार र राजनीतिक स्वतन्त्रता मान्न उनीहरू अभिशप्त छन् । त्यसका अतिरिक्त अलिकता पनि स्वतन्त्रता खोज्ने स्वाभिमान नागरिकले सुधार क्याम्प अर्थात् जेलमा गएर प्रजातन्त्र तथा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने पसल हो भन्ने वाक्यांशको मर्म र महत्वबोध गर्नुपर्ने हुन्छ ।
यो सवाल, यत्तिखेर किन उठ्यो ? किनभने मंसिर ४ गतेको चुनावका लागि कम्युनिस्टहरूले त्यो सवाल फेरि उठाएका छन्– कांग्रेसले देशलाई के दियो ? २०४६ सालमा पञ्चायतको अन्त्य गरेर संसदीय व्यवस्था पुनस्र्थापित भएपछि सबैभन्दा बढी समय सत्तामा बसेको कांग्रेसले देश र जनताका लागि केही गरेन । जनतालाई केही दिएन । उसले प्रजातन्त्रको रडाको मात्र दियो, विरोध र गालीगलौजको गाईजात्रा मात्र दियो, जसलाई खाएर पेट भर्न सकिन्न । त्यसलाई ओढेर राति सुत्न सकिन्न ।
प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, जुलुस र प्रदर्शनको स्वतन्त्रता, संगठन खोल्ने स्वतन्त्रता दिएर कांग्रेसले सडकमा उफ्रने र रेलिङ भाँच्ने स्वतन्त्रता त दियो तर गाँस, बास र कपासको व्यवस्था गर्ने मेलोमेसो बसाली दिएन ।
तिनै प्रचारका आधारमा जनताको मन भाँडेर उनीहरूलाई कांग्रेस विरोधी बन्न प्रेरित र प्रोत्साहित गरिरहेछन् ।
कांग्रेसले निजीकरणका नाममा नेपालका उद्योगधन्दा कौडीको मूल्यमा बेचेर कमिसन कुम्ल्यायो, युवाहरू बेरोजगार भए, विदेश जान बाध्य तुल्याइयो, नदीनाला बेच्यो, विदेशी ऋण लिएर जनताका थाप्लामा बोझ थपिदियो । रोजगारी बढाउने, महँगी घटाउने काम पटक्कै गरेन, त्यसैले देशका ऊर्जावान् युवाहरू रोजगारीका लागि विदेश जान थाले । त्यसरी उनीहरू विदेशतिर पलायन भएकाले गाउँमा खेती गर्ने मान्छे भएनन्, जो बचेका थिए ती पनि सुविधासम्पन्न सहरतिर पलायन भए । पहाड उजाड र बाँझो मात्र भएन, निर्जन पनि भयो ।
यी त कम्युनिस्टले कांग्रेसकाविरुद्ध चलाएका प्रचार युद्धका केही नमुना मात्र हुन् । तिनै प्रचारका आधारमा जनताको मन भाँडेर उनीहरूलाई कांग्रेस विरोधी बन्न प्रेरित र प्रोत्साहित गरिरहेछन् । कतिसम्म भने कांग्रेसलाई केही गर्न नसक्ने लाक्षी र निकम्माहरूको जमात सवित गर्न न्यारानदेखिको बल निकालेर घृणा अभियान चलाई रहेछन् । कांग्रेसले कोसी, गण्डकी, कर्णाली र महाकाली भारतलाई बेच्यो भनेर नथाक्ने कम्युनिस्टहरू सगरमाथाको दक्षिणतिरको आधा भाग चीनले कसरी लियो ? कसले त्यो नेपालको हो भनेर प्रमाण प्रस्तुत गरेको थियो र कसले त्यसलाई चीनमा बुझायो, त्यो चाहिँ खोतल्दैनन् । किन ? किनभने चीन उनीहरूको पितृभूमि हो । चीनको विरोध गर्नु कम्युनिस्टको विरोध हुन्छ, दानापानी खोसिन्छ । त्यसैले त्यो महापाप हो भन्ठान्छन् भने भारतको विरोध गर्नुलाई उनीहरू आफ्नो परम कर्तव्य र धर्म ठान्छन् ।
कांग्रेसले कम्युनिस्टहरूको आक्षेप र आरोपको अहिलेसम्म सशक्त खण्डन गर्ने गरेको छैन । २०४६ पछि कांग्रेसले देश र जनतालाई के दियो ? त्यसको मुखभरिको जवाफ दिने खाँचो पनि उसले अनुभव गरेको छैन । कांग्रेसको त्यही मौनतालाई जनसंख्याको ठूलो भागले कम्युनिस्टहरूको प्रचार नै साँचो रहेछ भनेर बुझेका मात्र छैनन्, त्यसमा कांग्रेस, शतप्रतिशत दोषी हो भनेर ग्रहण गर्ने गरेका छन् ।
२०४६ सम्म देशमा त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालय गरेर जम्मा दुई मात्र विश्वविद्यालय थिए । त्यसमा पनि संस्कृत विश्वविद्यालय नाम मात्रको थियो । आज कति छन् ? देशभरिमा गरेर अहिले १५ विश्वविद्यालय छन् । (१) त्रिभुवन विश्वविद्यालय,(२) काठमाडौं विश्वविद्यालय, (३) पोखरा विश्वविद्यालय, (४) नेपाल संस्कृत विश्वविद्यालय, (५) पूर्वाञ्चल विश्वविद्यालय, (६) लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय,(७) एग्रिकल्चर एन्ड फोरेस्ट्री विश्वविद्यालय, (८) मध्यपश्चिम विश्वविद्यालय, (९) सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, (१०) बीपी कोइराला इन्स्टिच्युट अफ मेडिकल साइन्सेज, (११) नेसनल एकेडेमी अफ मेडिकल साइन्सेज, (१२) पाटन एकेडेमी अफ साइन्सेज, (१३) कर्णाली एकेडेमी अफ हेल्थ एन्ड साइन्सेज, (१४) नेपाल ओपेन युनिभर्सिटी, (१५) राजर्षि जनक युनिभर्सिटी, जनकपुर । त्यसका अलावा नर्स तथा कम्पाउन्डरजस्ता दक्ष जनशक्ति तयार पार्न तालिम प्रदान गर्ने संस्थाहरू पनि पर्याप्त खुलेका छन् ।
यो भनिरहन आवश्यक छैन कि माथि उल्लेखित विश्वविद्यालयअन्तर्गत खुलेका मेडिकल तथा इन्जिनियरिङ कलेजको संख्या कति छ र त्यसबाट वर्षमा कति डाक्टर र इन्जिनियर उत्पादन हुन्छन् ? ती विश्वविद्यालय र कलेजमा कति जनशक्ति कार्यरत छन् र उनीहरूले कतिलाई रोजगारी प्रदान गरेका छन् ? त्यसको पनि कांग्रेसले कहिल्यैै हिसाब दिने गरेको छैन ।
२०४८ सालमा गठन भएको पहिलो निर्वाचित कांग्रेसको एकमना सरकारले विकासका लागि चाहिने पूर्वाधार तयार गर्न अर्थ व्यवस्थामा खुलापन तथा विश्वभरि प्रचलित बजारमुखी व्यापार नीति अपनाएकाले देशले त्यो उपलब्धि हासिल गरेको हो । नेपाली कम्युनिस्टले जुन प्रजातान्त्रिक व्यवस्था ध्वस्त पार्न क्रान्ति गर्ने भनेका थिए, त्यसलाई बीचमै छाडेर कांग्रेस र भारतसँग सम्झौता गरेर लोकतन्त्र सकार्न पुगेपछि पटकपटक सत्तामा पुग्दा पनि त्यो नीतिलाई परिवर्तन गर्ने आँट गरेनन्, किनभने शरीर विज्ञानका हिसाबले उनीहरू तेस्रोलिंगी भइसकेका छन् । उनीहरूको थुतुनो मात्र चल्छ, अरु केही चल्दैन ।
आर्थिक विकासमा फड्को मारेका कथाहरू देशान्तर साप्ताहिककाे अर्को अंकमा पनि जारी रहनेछ ।
प्रतिक्रिया