देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनताको पनि चेत खुलोस् !


मंसिर ४ गते हुने निर्वाचन, राजनीतिक अस्थिरताको अन्त्य गरेर स्थिरता र सुशासन सुनिश्चित गर्न निर्णायक बनोस् भनेर पाँचदलीय गठबन्धनका नेताहरू गृहकार्यमा अहोरात्र लागेका छन् । सिट संख्याको बाँडफाँटमा हिसाब नमिलेकाले निर्णयमा पुग्न सकेका छैनन् । अन्योल कायमै छ । तर फुटेर एक्लाएक्लै चुनाव लड्ने आँट पनि जुटिरहेको छैन । किनभने उनीहरूलाई एमालेको भूतले लघार्न छाडेको छैन । जुटेर जित्ने कि फुटेर हार्ने विकल्पले तर्सेका उनीहरू त्यसभित्रै संख्या बढाएर आफूलाई बलियो सावित गर्ने कसरतमा लागिरहेका छन् । उता एमाले पनि विभिन्न साना दलसँग महागठबन्धन गरेर त्यसको सामना गर्ने तयारी गरिरहेकै छ । उसका नेताहरू ठूला दल त्यागेर आउनेहरूलाई रातो कार्पेट ओछ्याउन त्यसको भारी बोकेर हिँडिरहेका छन् ।

बजारको माग र आपूर्तिको स्थितिअनुसार आफ्नो लाभहानी हेरेर नीति, नियम र प्रक्रिया परिवर्तन गरिरहनु व्यापारीको धर्म र कर्तव्य दुवै हो । त्यही उनीहरूको पेसागत गुण र कौशलता हो । त्यो पेसाधारीले कुवाको पानीजस्तो जमेर बस्ने नीति अपनाए भने छिटै झोलीतुम्वा भिरेर हिँड्नुपर्ने हुन्छ । त्यो स्थान व्यवहार कुशल अर्को व्यापारीले ओगट्न पुग्छ । ठीक त्यसको उल्टो, राजनीतिमा व्यापारिक रणनीति अपनाउने पार्टीले समाज र राष्ट्रको नेतृत्व गर्न सक्तैन । उसले क्षणिक सफलता हासिल गरे पनि अन्ततः घाटा व्यहोर्नै पर्छ । किनभने राजनीतिलाई निर्देश गर्ने आदर्श र सिद्धान्तले हो, तत्कालको लाभहानी मात्र निकाल्ने व्यापारीले होइन । राजनीतिक दलका नेतालाई आफू बाँचेको युग र समाजलाई अग्रगामी दिशामा डोर्‍याउन त्यस्तो आदर्श र सिद्धान्त चाहिन्छ, जसले वर्तमानलाई मात्र होइन, भविष्यको पुस्तालाई समेत प्रेरित र प्रोत्साहित गर्न सकोस् । त्यसैले आधुनिक राजनीतिमा आदर्श सिद्धान्त र चरित्रले यत्तिविधि महत्व प्राप्त गरेको हो ।

नेपालको समस्या के छ भने संविधानले यस्तो राजनीतिक व्यवस्था अपनाएको छ, जसमा सत्ता प्राप्त गर्ने माध्यम त प्रजातान्त्रिक छ तर नेताहरूको मानसिकता, व्यवहार र चरित्र भने अधिनायकवादी छ । त्यही कारण उनीहरू निर्वाचनका माध्यमबाट सत्तामा त पुग्छन्, त्यसपछि अधिनायकवादी शैलीले सरकार र पार्टी हाँक्न खोज्छन् । त्यस प्रकार राजनीतिक पद्धति, मूल्य, मान्यता र प्रक्रियामा सामञ्जस्यता कायम गर्न नसकेर विगतमा पनि नेताहरू असफल भएका छन् । उनीहरूका कारण राष्ट्रिय राजनीति, अस्थिरताको सिकार बनेर देश पिछडिन पुगेको थियो, अहिले पनि राजनीति, घुम्दै फिर्दै फेरि रुम्जाटारको बाटो लागेको छ । गठबन्धनभित्रको सिटको खिचातानीले त्यही पुष्टि गरिरहेछ ।

प्रजातान्त्रिक पद्धतिको ठूलो तागत भनेको जतिसुकै जटिल मतभेद र गतिरोध किन नहोस्, त्यसको व्यवस्थापन विधि र प्रक्रियाअनुसार गर्नु हो । त्यसका आधारमा पार्टीहरूले ठूल्ठूला तथा गम्भीर समस्याको समाधान गर्ने गर्छन् । गरेका पनि छन् । तर त्यस्ता विधि र प्रक्रियाको पालनामा नेतृत्व तहबाट जब बेइमानी हुन्छ, तब विनाश निम्तिन्छ । अप्ठेरोमा समझदारी र सम्झौता गर्ने, अनि अनुकूलतामा त्यसको उल्लंघन गर्ने अप्रजातान्त्रिक तथा अनैतिक प्रवृत्तिबाट लगभग सबै पार्टी ग्रस्त छन् । त्यसमाथि कम्युनिस्ट पार्टीमा त्यस्तो प्रवृत्ति अझ प्रबल भएकै कारण विगतमा दर्जनौं समूहमा विभाजित हुन पुगेका थिए । सोभियत संघको विघटनको प्रभाव र २०४६ को जनआन्दोलनको दबाबले कम्युनिस्ट एकता, युगको आवश्यकता बन्न पुग्यो र वाममोर्चा हुँदै एकीकृत पार्टी निर्माणको प्रक्रिया प्रारम्भ भएको थियो । त्यसको नतिजा विगतको निर्वाचनको परिणामका हो, रूपमा रेकर्ड गरिएको दुई तिहाइ बहुमत थियो । नेकपाभित्रको शीर्ष नेतृत्व पंक्तिको लाभाहानीको हिसाब गर्ने व्यापारिक प्रवृत्तिका कारण न भुतो, न भविष्यतिको त्यस्तो अवसर गुम्न पुग्यो र देश फेरि अस्थिरताको भासमा जाकिन पुग्यो ।

२००७ सालको क्रान्तिपछि कांग्रेस नेतृत्व पंक्तिको मतभेद र विभाजनले अन्तरिम सरकारबाट उसले बाहिरिनु परेको र फेरि एकमान सरकार गठन गर्दा पनि त्यही पुरानो ‘इँख’ र ‘रिस’ले सत्ताबाट बाहिरिनु प¥यो । परिणाम यो भयो कि संविधानसभाको चुनाव हुनै सकेन । सरकार निर्माण र परिवर्तनको प्रक्रियाबाट कांग्रेस ‘आउट’ भयो र राजदरबार र भारत ‘इन’ भए । २०१५ सालको चुनावमा कांग्रेसले दुई तिहाइको बहुमत ल्याएर गठन गरेको सरकारलाई प्रजातान्त्रिक प्रक्रियाबाट हटाउन सम्भव नभएकाले सैनिक प्रयोग गरेर ‘कु’ गर्नु परेको थियो । राजाको सक्रिय नेतृत्वको निर्दलीय पञ्चायत व्यवस्था हटाउन ३० वर्ष लाग्यो । प्रजातन्त्रको पुनस्र्थापनापछिको कांग्रेसको बहुमतको सरकार पनि पार्टी र सरकारको नेतृत्वबीचको समन्वय, सामञ्जस्य र सहकार्यको अभावमा २०५१ सालको मध्यावधिमा होमियो । भर्खर राजनीतिक स्थिरताको अनुभूति हुन थालेको बेलामा हठात् पुनः अस्थिरताको दलदलमा जाकिन पुगेपछि देश र जनताले कति गोता पाउनु प¥यो ? ती सबै निकट अतीतका र सबैले व्यहोरेका र भोगेका घटना भएकाले दोहो¥याइरहन आवश्यक छैन ।भाग्यमानी देखेर चेत्छ, अभागी भोगेर चेत्छ भन्ने नेपाली उखान नबिर्सने हो भने भन्नै पर्छ, उदार प्रजातन्त्रका नैतिकता, चरित्र र मूल्य र मान्यताप्रतिको कटिबद्धताको उल्लंघनमा कांग्रेसले जुन कीर्तिमान कायम गरेको थियो, ती सबै रेकर्डलाई अभागी कम्युनिस्टले धेरै पछाडि छाडिदिएको देख्दा निमुखा जनताले पुर्पुरोमा हात राखेर भन्न थालेका छन्– जुन जोगी आए पनि कानै चिरिएका रहेछन् । त्यसो भए शान्ति, स्थिरता र प्रजातन्त्रका लागि फेरि एक पटक कांग्रेसलाई किन नरोज्ने ?