देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘गठबन्धन अहिलेको आवश्यकता हो’

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनील थापाले मंसिर ४ गतेको आम निर्वाचनमा सत्तारूढ गठबन्धनलाई जित निकाल्न अप्ठेरो नपर्ने दाबी गरेका छन् । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट धेरै कुराहरू सिकेकाले विगतको गल्तीहरू सच्याएर अघि बढ्दा गठबन्धन सफल हुने बताए । सिट बाँडफाँटलगायतका कुराहरू समयमै टुंगिने भएकाले प्रचारप्रसारका लागि पनि समय हुने र जनतालाई गठबन्धनको मर्म र आवश्यकताबारे बुझाउन सकिने प्रष्ट पारे । देशान्तर साप्ताहिकका लागि मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै सदस्य थापाले आफू धनकुटाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताउँदै त्यसका लागि जिल्लामै केन्द्रित रहेको पनि जानकारी दिए । उनै थापासँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईंहरू चुनावको तयारीमा कसरी केन्द्रीकृत हुनुभएको छ ?

 हाम्रो हरेक जिल्लाबाट १६ गतेभित्र समानुपातिक र प्रत्यक्ष निर्वाचनका लागि इच्छुक तथा लड्न सक्ने साथीको नामावली संकलन भइरहेको छ । यो २० गते भित्र केन्द्रमा पठाउनुपर्ने भएकाले हरेक जिल्लामा उम्मेदवार छनोटको प्रक्रिया चलिरहेको छ । छनोट नै चुनावको सबैभन्दा पहिलो चरण हो ।

अब छनोट हुँदै गर्दा अहिलेसम्मको जुन प्रक्रिया अवलम्बन गरेको छ नि त्यो कत्तिको पारदर्शी र व्यावहारिक छ ?

एकदम पारदर्शी र व्यावहारिक छ । पहिलाको जस्तो कोठामा बसेर भएको छैन् । सर्कुलर जारी गरेर सबैलाई समेटेर पारदर्शी ढंगबाट उम्मेदवार छनोट गर्ने निर्देशन भएको छ । त्यही अनुरूप नै भइरहेको छ ।

छनोटका लागि सर्कुलर जुन पठाइएको छ । संविधानको व्यवस्थाअनुसार ८ वटा क्लस्टर छन् । अब एउटा ठाउँबाट ३ जना मात्र पठाउभन्दा चैं संविधानको मर्मअनुसार छनोट भएर प्रतिनिधिले उम्मेदवार पठाउँछन् त ?

पठाइहाल्छन् नि किनभने क्लस्टर त सबै ठाउँबाट मिलाएर आउनु प¥यो नि । आखिर समानुपातिक हिसाबले हेर्दाखेरी ३३ प्रतिशत महिला चाहियो । यसमा कुनै आपत्ति होला जस्तो लाग्दैन ।

अब नेपाली कांग्रेसको रोडम्याप चैँ के हो त ?
हामीहरूको रोडम्याप स्पष्ट के थियो भने केन्द्रीय कार्यालयले निर्णय गरिसकेको छ गठबन्धनमा जाने भनेर । सबैको एउटै आवाज छ । गठबन्धनलाई अगाडि बढाउनु पर्छ । यसको आवश्यकता पनि छ । अब सिटहरू मिलाउँदा खेरी चैं जिल्लाको परिस्थिति समानुपातिकको आधार आदिलाई लिएर मिलाउने भनेर वार्ता टोलीलाई अधिकार सुम्पिएको छ ।

कार्यदलका सदस्यहरूलाई कांग्रेसले जित्ने कन्फर्म भएको क्षेत्र नछाड्नु पनि भन्नु भएको छ हो ?
यो गलत कुरा हो । कसरी बाहिर समाचार आयो यसमा म जानकारी छैन । गठबन्धन भनिसके पछि सबैजना मिलेरै जाने हो ।

गठबन्धन गर्दा कति सुरक्षित त ?
गठबन्धनको साथ साथै जिल्लामा भएको पपुलारिटी, जिल्लाले आशा गरेको व्यक्तिहरूको छनोट त्यसैअनुसार भयो भने हामी सफल हुन्छौं । अहिले नै सिट संख्या निर्धारण भएको छैन । हामी छलफलमै छौं । सिट बाँडफाँटका लागि कार्यदल नै बनेको छ । कार्यदलले काम गरिरहेको छ । कार्यदलले सही निर्णय लिन्छ भनेर हामीले विश्वास पनि गरेका छौं ।

कांग्रेसले १०० सिट दाबी गरेको हो ?
हामीले सरसर्ती हिसाब गर्दा ६०–४० को रेसियोमा जाने भन्दाखेरि ६० भनेको १०० सिट हो । त्यसैका आधारमा नेपाली कांग्रेसले १०० सिट भनेको हो ।

यो गठबन्धन के का लागि ?
नेपालको संविधानमाथि पटकपटक प्रहार भएपछि हामी सबै मिलेर गठबन्धन बनायौं । हाम्रो एकमात्र उद्देश्य संविधान जोगाउने र जनतालाई राहतको अनुभूति दिलाउन नै हो । संविधानको मर्मअनुसार संसद्को कार्यकाल पूरा हुन नदिइकन बीचमा विघटन गर्ने काम केपी ओलीले गरेपछि हामी बाध्य भएर सबै मिलेर संविधान र संसद्को रक्षाका लागि गठबन्धन गरेका हौं ।

गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा कसरी काम गर्दै हुनुहुन्छ ?
नेपालमा गठबन्धनको इतिहास छोटो अवधिको मात्रै छ । पहिलाको गठबन्धनहरू जहिले पनि केन्द्रीयस्तरको थियो । विगतमा प्रतिनिधिसभामा मात्रै सरकार बनाउनका लागि गठबन्धन हुन्थ्यो । त्यो सजिलो पनि थियो । किनभने त्यतिबेला अंकको हिसाबले सिट जितेको हिसाबले गठबन्धन गर्न सकिन्थ्यो । हामीले स्थानीय तहको निर्वाचनमा पहिलो पटक अभ्यास गरेका थियौं । त्यसैले त्यतिबेला कठिनाइ र प्राविधिक समस्या पनि भयो । जितेको ठाउँमा पनि हाम्रा मतहरू बदर भएका छन् । त्यतिबेला एउटै मतपत्रमा ३ पार्टीका उम्मेदवार हुँदा मत संकेत गर्दा धेरै बदर पनि भएका हुन् ।

गठबन्धन गरेर अरू दललाई मिलाएजस्तै कांग्रेसभित्रको गठबन्धन कसरी मिलाउने ?
नेपाली कांग्रेसमा कुनै पनि समस्या छैन । पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सबैले एकै स्वरमा आफ्ना कुराहरू राख्नुभयो । त्यहाँ त मैले कुनै समस्या भएको जस्तो देखेन । बैठकमा सबैले कसरी नेपाली कांग्रेस र गठबन्धन गरेका उम्मेदवारहरूलाई जिताउनका लागि पहल गर्ने भन्ने विषयमै समान धारणा राख्नुभयो । अहिले पार्टीभित्र गुट, उपगुटभन्दा पनि आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउने अभियान नै मुख्य कुरा हो ।

कांग्रेसको चुनावी एजेन्डा के हो ?

नेपाली कांग्रेसले घोषणापत्र लेख्ने तयारीमा पनि छ । यस विषयमा छलफल हुन भने बाँकी छ । पार्टी सभापति शेरबहादुर देउवाले फेरि छलफलका लागि बोलाउनु हुन्छ । हामीले छोटो र लामो दुईथरी एजेण्डा बनाएर चुनावमा जानुपर्छ । तर अहिले नै यस्तो र उस्तो एजेन्डा भन्ने बेला भएको छैन ।

समानुपातिकमा दोहोर्‍याएर नपठाउनुस् भन्ने सर्कुलर छ, यसले कस्तो प्रभाव परेको छ ?
यसको अहिले नै एक्ज्याक्ट रियाक्सन आएको त छैन । समय बाँकी भएर पनि होला । यो सर्कुलरका कारण नेगेटिभभन्दा पनि पोजेटिभ भाइभ आएको छ । यस्तो गर्दा अरूले पनि मौका पाउँछन् भन्ने बुझाइ अधिकांशको रहेको मैले पाएको छु । विगतदेखि नै समानुपातिकमा बसेर नेतृत्वमा पुगेकाहरू असन्तुष्ट हुन भने सक्छन् । यो व्यक्ति व्यक्तिको कुरा पनि हो । तर अधिकांशले यसलाई सकारात्मक रूपमा लिएका छन् ।

तपाईं कहाँबाट उम्मेदवार ?
म धनकुटाबाट उम्मेदवार हुन्छु । धनकुटाबाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएको छु । कांग्रेसको क्षेत्रीय, जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिहरूको छलफलले मलाई उम्मेदवारमा सिफारिस गरेको छ । अब गठबन्धन छ, भागबन्डा कसरी हुन्छ त्यसका आधारमा पनि भर पर्छ । तर मेरो पूरापूर तयारी धनकुटाबाट उम्मेदवार बन्ने हो ।

तयारी कस्तो छ ?
म त स्थानीय तहको निर्वाचनदेखि नै जिल्लामा तयारी सुरु गरेको छु । २०७४ सालको चुनावमा पनि त्यहाँ उम्मेदवार भएको थिएँ । त्यतिबेला राप्रपाबाट उम्मेदवार बनेको थिए । अहिले नेपाली कांग्रेसको जिम्मेवारीमा छु र साथ साथै गठबन्धन पनि रहेकाले अहिलेको तयारी पनि राम्रो गरेको छु । पहिलादेखिनै धनकुटाबाटै राजनीति सुरु गरेकाले यहाँ मेरो तयारी राम्रो छ । अहिले म धनकुटाका विभिन्न ठाउँमा पुग्ने भेटघाटमा केन्द्रित हुने क्रम निरन्तर चलिरहेको छ । पार्टीको बैठकका लागि मात्रै म काठमाडौं केन्द्रित छु, अरूबेला मेरो ध्यान धनकुटामै कन्द्रित छ ।

टिकट पाउनुहुन्छ ?
हन्ड्रेड पर्सेन्ट । सबैले सर्वसम्मत सिफारिस गरेकाले पनि टिकट पाउँछु भन्नेमा म ढुक्क छु ।

विगतमा अर्को पार्टीमा हुनुहुन्थ्यो, विगतको र अहिलेको चुनाव कसरी तुलना गर्नुहुन्छ ?
त्यतिबेला राप्रपाको गठबन्धन नेपाली कांग्रेस र उपेन्द्र यादवको जनता समाजवादीसँग थियो । गठबन्धनको पूर्वतयारी थिएन । त्यतिबेला चुनाव हुने या नहुने कुराले गर्दाखेरि सवै तयारी झन्डैझन्डै ‘ट्वेल्भ’ आवरमा भएको थियो । त्यसले गर्दा हामीसँग समय भएन । त्यसले गर्दा हामीले गाउँघरसम्म पुग्ने मौका नपाउँदा हामीले पराजय भोगेका हौं । यसपटक स्थानीय तहको निर्वाचनदेखि नै पूरा तयारी गर्दै आएको हुनाले विगतको भन्दा यसपटक चुनाव हाम्रा लागि सहज हुन्छ भन्नेमा ढुक्क छौं ।

किन उम्मेदवार चयन गर्न ढिला गरेको त ?
उम्मेदवार चयन गर्ने कुरामा अहिले जिल्लाजिल्लामा कामहरू भइरहेका छन् । त्यसका लागि नेता तथा कार्यकर्ताहरू जिल्ला जिल्लामा खटिएका छौं । तर विगतका कुराहरूबाट सिकेर नै अहिले हामी चाँडो काम टुंग्याउनुपर्छ भन्ने अभियानमै केन्द्रित रहेका छौं । हामीले सकेसम्म भदौ महिनाभित्र नै सकेर बस्ने तयारीमा छौं । समानुपातिक तर्फको लिस्ट २ गतेभित्रमा बुझाइ सक्नु पर्नेछ । त्यसले गर्दा पनि यस पटक छिटो र राम्रो काम हुन्छ । त्यसले गर्दा प्रत्यक्ष र समानुपातिकतर्फको कुराहरू त्यतिबेला टुंगिनुपर्ने भएकाले यसपटकको तयारी पहिलाको भन्दा धेरै राम्रो हुन्छ ।

नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेर गराएको चुनावको नतिजा त राम्रो छैन नि ?
त्यस्तो हुन्छ हेर्नुस् । कहिलेकहिले रुलिङ गर्भमेन्टको वा जो सरकारमा बसेको हुन्छ उसलाई अप्ठेरो हुन्छ । जनताको आशा सरकारसँग धेरै माथि हुन्छ । त्योअनुसारको काम नहुँदा त्यसको असर पर्छ । तर अहिले जुन परिस्थितिमा यो गठबन्धन बनेको छ, त्यो कुरा हामीले जनतालाई बुझाउन सकियो भने यस पटकको नतिजा सुखद आउँछ भन्नेमा हामी ढुक्क छौं ।

चुनाव गठबन्धन सरका कति पटक फेर्ने ?

अब बन्ने गठबन्धनको सरकारले अहिलेसम्म भएका गल्ती कमी कमजोरीहरू सुधार गरेर सरकारले गर्ने स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्छ । गठबन्धन एकदमै छोटो तयारीमा बनेकाले त्यतिबेला हामीले यो गर्ने भन्ने कुरा गर्न सकेनौं । तर अब अहिले हामीसँग समय छ । अबको गठबन्धनले समग्र देश र जनताको मनोभावनालाई बुझेर काम गर्न सक्नुपर्छ ।

२०७४ को कम्युनिस्ट गठबन्धन र २०७९ को वाम लोकतान्त्रिक गठबन्धन किन ?
अहिलेको गठबन्धन भनेको ‘फ्युजन’ हो । नेपालको संविधानअनुसार कुनै पनि पार्टीले एकलौटी सरकार बनाउन ठूलो अप्ठेरो छ । हाम्रो निर्वाचन प्रणाली पनि अप्ठेरो भएकाले गठबन्धन अहिलेको उत्तम उपाय हो ।