जिउँदोमा जसका कोही थिएनन्, मरेपछि थाहा भयो, प्रदीप गिरिका सबै रहेछन् । उनका अनुयायी मात्र नभएका रहेछन् । वाहवाही गर्नेको कुनै कमी रहेनछ । चिनियो, नेपालीहरू कति गुणग्राही रहेछन् । लगभग सबैले समवेत स्वरमा नारा लगाए, उनी महान् चिन्तक थिए । त्यसो भनेर उनीहरूले आफैंलाई त्यस्तो महान् चिन्तनको अनुसरण नगर्ने मूर्खको पंक्तिमा उभ्याएको होसै पाएनन् । जोशका बेला होस् हुँदैन, त्यसै भनिएको त होइन नि !
वृहस्पति सत्य बोल्थे, त्यसैले त्यो जमानामा पनि उनी एक्लो थिए । सत्ययुगका वृहस्पतिको त त्यो हविगत थियो भने बजारमुखी अर्थव्यवस्थाको चकचकीमा प्रजातान्त्रिक समाजवाद, अर्थात् समताको राग अलाप्ने प्रदीप गिरिका कुरा, बुद्धिजीवीले सुनेनन् भन्नेमा के गुनासो ? उनीहरूका लागि विचार भनेको पढ्ने कुरा हो, पालन गर्ने विषय होइन । उनीहरू त्यही भिरेर हिँड्छन्, जुन बजारमा बिक्री हुन्छ । नबिक्ने वस्तु बोकेर बजारमा एक्लै चिच्याउँदै घुम्नेलाई सनकी भन्छन् । हिजो प्रदीप गिरिलाई त्यो पदवी प्रदान गर्नेहरू आज दूरदर्शीको तक्मा भिराउँदैछन् । उनका लागि उनीहरू हिजो अज्ञानी थिए, आज चाहिँ पाखण्ड प्रदर्शन गर्ने भीडमा परिणत भएका छन् । बाँच्नेले देखेको त्यत्ति हो !
राजनीतिमा प्रजातन्त्र चाहिन्छ र प्रजातन्त्र भनेको अरूको भन्दा भिन्न सोच राख्ने अधिकारको सम्मान हो, भन्थे उनी । पार्टी प्रजातान्त्रिक हुँदैमा त्यसभित्र प्रजातन्त्र हुनै पर्छ भन्ने छैन । कांग्रेसभित्र त्यो प्रश्न सशक्त ढंगले पहिलो पल्ट उठाउने र बारम्वार दोहो¥याइरहने व्यक्ति थिए– प्रदीप गिरि । उनको प्रयास थियो, कांग्रेस पार्टीलाई आफ्नो बनाउन होइन, सबैको तुल्याउन त्यसभित्र अलग विचार राख्न पाउने स्वतन्त्रताको परिपाटी बसाल्न आवश्यक मात्र होइन, अपरिहार्य पनि छ । होइन भने राजा महेन्द्रको पञ्चायत र बीपी कोइरालाको कांग्रेसका बीचमा अन्तर के बाँकी रहन्छ र ?
उनको त्यही प्रश्नले उनलाई कांग्रेसभित्र विवादास्पद व्यक्तिका रूपमा चर्चित मात्र तुल्याएन, खुमबहादुर खड्काकाण्ड व्यहोर्न विवश पनि पारेको थियो । सन् १९७० को दशकको प्रारम्भिक अवस्थामा वनारसमा भएको त्यो घटनाले प्रदीप गिरिलाई पाँचौं धारको पहिचान प्रदान गरेको थियो । त्यो विभाजनका बारेमा प्रकाश पार्न सक्ने धेरै व्यक्ति अब हामीबीच छैनन्, तर जति छन्, तिनले पनि प्रष्ट हुन नचाहेको देखिएकाले त्यस बेलाको प्रदीप गिरिको ओझेलमा पर्न थालेको त्यो कालखण्डको दुस्साहसको प्रसंग कोट्याउनु परेको हो ।
तिनताका नेपाली कांग्रेसको झण्डा मात्र चारतारे थिएन, पार्टी पनि चार समूहमा विभाजित थियो ।
स्वदेशमा त प्रतिबन्धित छँदैथियो, प्रवासमा पनि त्यस प्रकार चार नेतामा बेग्लाबेग्लै समूहमा विभाजित थियो । बीपी कोइराला समूहलाई एकथरी पार्टीको मूल प्रवाह मान्थे भने सुवर्णशमशेरको मेलमिलापको नीतिका कारण बीपी कोइरालालगायत धेरैले आममाफी पाएकाले त्यो लाइनबाट विचलित हुनुहुँदैन भन्थे । उता, सूर्यप्रसाद उपाध्याय २०१७ साल पुस १ गतेदेखि चलेको आँधीबेहरीबाट कांग्रेस जोगाउने स्वदेशभित्र आफू मात्र भएको दाबी गर्थे । चौथो धार थियो, कृष्णप्रसाद भट्टराईको, जसले भारतमा बसेर उसकै सहयोगबाट हुने आन्दोलनले प्रजातन्त्रको पुनस्र्थापना सम्भव छैन, देशभित्रैबाट शान्तिपूर्ण आन्दोलनको विकास गरेर प्रजातन्त्र पुनस्र्थापना गर्ने राष्ट्रवादी अडानमा थिए । प्रदीप गिरि, यद्यपि भट्टराई निकट थिए, तथापि उनीमाथि भौतिक आक्रमण भएपछि प्रतिरक्षा उनको बाध्यता बन्नपुग्यो । त्यसपछि नै हो उनले संख्यामा थोरै भए पनि संगठनमा आफ्ना मानिस बनाउन थाले । त्यसरी कांग्रेसभित्र एक अर्को समूह जन्म्यो, गिरि समूह । कांग्रेसभित्र त्यो समूह ठूलो थिएन, तर सानो भए पनि ठोस थियो ।
संगठन विस्तारमा उनलाई अपेक्षित सफलता मिलेन, किनभने जोगीको घरबार हुँदैन भन्ने उखानले काम गरेको थियो । उनले शिक्षा प्रदान गरेर डाक्टर, इन्जिनियर, वकिल, प्राध्यापक बनाएका असंख्य शिक्षितहरू सबैतिर छरिएर रहेका छन् र तिनले कांग्रेसलाई सघाएका पनि छन् । तर उनीहरूलाई राजनीतिक औजारका रूपमा उनले प्रयोग गरेनन्, समाज रूपान्तरणको माध्यम तुल्याउन मात्र प्रोत्साहित गरिरहे । शायद अहिले उनीहरू प्रदीप गिरिका सादा जीवन, उच्च विचारका जीवनशैली अपनाउन आफ्ना वरिपरिका मानिसलाई गिरिका विचारका अलख जगाइरहेका होलान् । उनका विचार फैलाउने काम गरिरहेका होलान् ।
प्रदीप गिरिको पँुजी भनेको उनको वैचारिक स्पष्टता मात्र थियो, कांग्रेस संगठनमा उनको पकड थिएन र त्यसका लागि प्रयास गरेको पनि देखिएन । प्रजातान्त्रिक समाजवादलाई उनले बीपी कोइरालाबाट विरासतमा प्राप्त गरेका थिए । तर कोइरालासँग गन्तव्यका सम्बन्धमा मतभेद नभए पनि रणनीति र साधनको प्रयोगका सवालमा मतभेद थियो । सबैभन्दा ठूलो मतभेद उत्पन्न भयो, अलग धारणा राख्ने स्वतन्त्रताका सन्दर्भमा । सशस्त्र संघर्ष र त्यसको नियतिमाथि प्रष्टता नभएसम्म त्यसका निम्ति गरिने बलिदान खेर जानसक्छ भन्ने गिरिको दृष्टिकोणलाई कोइरालाको टालटुले जवाफले सन्तुष्ट पार्न सकेन । गिरिले पनि कोइरालासँग सम्झौता गरेनन् ।
यद्यपि नेपालको प्रजातान्त्रिक आन्दोलनलाई तार्किक निष्कर्षमा पु¥याउन कोइरालाको वैचारिक प्रष्टता, संगठनात्मक कौशलता, गतिशील नेतृत्व क्षमताका उनी कायल थिए । कोइरालाका संघर्षका विविध पक्षलाई उजागर तुल्याउने उनका दर्जनौं प्रकाशन त्यसका साक्षी छन् । उनी कोइरालाका प्रशंसकमध्ये सर्वश्रेष्ठ थिए, त्यसमा पनि कुनै मतभेद हुन सक्तैन । तथापि कोइरालाको देवत्वकरणप्रति भने उनी सन्तुष्ट थिएनन् । कुरा त्यत्ति हो ।
उनले आफ्नो अध्ययनबाट अर्जित ज्ञानलाई समाजका पिछडिएका वर्गको उत्थानमा लगाउन तब थालेका थिए, जब कांग्रेसको संगठनलाई अन्त्योदयको अभियानमा लगाउन सकिन्न भन्ने निष्कर्षमा उनी पुगेका थिए । उनको स्थिति कस्तो थियो भने वर्तमान कांग्रेसको संरचनाबाट नेपाली समाजको समग्र रूपान्तरणको अपेक्षा पूरा हुने विश्वास पनि थिएन, मोहभंग पनि भइसकेको थिएन । अब कांग्रेसले उनका त्यस्ता अधुरा सपना, साकार पार्ने दिशामा कदम अघि बढाउँछ कि बढाउँदैन, त्यो समयले मात्र बताउनेछ । अहिले उनको बैकुण्ठवास् होस्, उनको अमर आत्माले शान्ति पाओस् भन्ने कामना गरौं ।
प्रतिक्रिया