सामूहिक बलात्कारको आरोपमा आजीवन काराबासमा परेका ११ जनालाई रिहा गर्ने निर्णयको विरोधमा भारतभर विरोध प्रदर्शन भएको छ ।
राजनीतिक शक्तिको आडमा दोषीलाई रिहा गरिएको भन्दै भारतका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । सन् २००२ मा गुजरातमा मुस्लिम समुदायकी बिलकिस बानोमाथि सामूहिक बलात्कार भएको थियो भने त्यतिबेला भएको धार्मिक दङ्गामा उहाँका परिवारका १४ जनाको मृत्यु भएको थियो ।
पाँच महिनाकी गर्भवती रहेकी बानोलाई बलात्कार गरेको आरोपमा ११ जनालाई सन् २००८ मा जन्मकैदको सजाय सुनाइएको थियो । तर, १५ वर्षको जेल सजाय भोगका उनीहरुलाई अहिले स्वतन्त्रता दिवसको अवसरमा रिहा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो ।
प्रदर्शनकारीहरुले बलात्कारीको रिहाइ स्वीकार्य नरहेको बताएका छन् । उनीहरुले यस्ता घटनामा संलग्नको रिहाइले महिलाको सुरक्षामा असर पार्ने बताएका छन् । बानोलाई बलात्कार गर्नेहरु रिहा भएपछि उनको गाउँ रणधीकपुरबाट झण्डै पाँच सय मुसलमान विस्थापित भएका बीबीसी हिन्दीले जनाएको छ ।
प्रतिक्रिया