देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘प्रदीप गिरिबाट सिक्ने कुरा धेरै छ’

देशान्तर

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको क्यान्सर रोगका कारण निधन भएको छ । पाँच वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । उहाँको निधनमा लाखौंले शोक व्यक्त गरेका छन् । नेपाली राजनीतिमा स्पष्ट र निडर वक्ताको रूपमा चिनिने गिरिले संसद्बाहेक कहिल्यै पनि लाभको पदमा भने आसीन भएनन् । कांग्रेसको नेता भएर पनि उनी कम्युनिस्टहरूका त झन् गुरु नै थिए । नेपालका समकालीन कम्युनिस्टहरूभन्दा गिरिमा अन्तर्राष्ट्रिय कम्युनिस्टहरूको बारेमा विशेष ज्ञान राख्ने नेताको रूपमा परिचित बने । समाजवादी जीवनशैलीका कारण पनि गिरि जहिल्यै केन्द्रमा रहेको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको बुझाइ छ । गिरिबाट धेरै कुराहरू सिक्न सकिने देशान्तरकर्मी मुक्तिबाबु रेग्मीसँगको छोटो कुराकानीका क्रममा निधिले बताएका छन् । उनै निधिसँग प्रदीप गिरिका विषयमा गरिएको कुराकानीको सम्पादित अंश ।

प्रदीप गिरिलाई कहिले र कसरी चिन्नु भयो ?
कहिले र कसरी भन्ने तिथि मिति त मलाई ठ्याक्कै याद छैन । प्रदीप गिरिको पिता मित्रलाल गिरि तत्कालीन नेपाली कांग्रेसको राजनीतिमा परिचित नाम हो । मित्रलाल गिरि, रुद्रप्रसाद गिरि उहाँहरू ‘गिरि फेमली’ साथै तुलसी गिरि पनि राजनीतिमा आउनु भयो । उहाँले राजासँग मिलेर राजनीतिलाई धोका पनि दिनुभयो । गिरि फेमलीसँग मेरो पिताजी महेन्द्रनारायण निधिको राजनीतिक र पारिवारिक सम्बन्ध थियो । हामी छिमेकी पनि भएको हुनाले उहाँहरूसँग सम्बन्ध थियो । मित्रलाल गिरिको छोरा उहाँ र म महेन्द्रनारायण निधिको छोरा भएकाले पनि सम्बन्ध थियो । म सरस्वती हाइस्कुल पढ्दा प्रदीप दाइ क्याम्पस पढ्नु हुन्थ्यो । उहाँ जनकपुर आउँदा मेरो घरसँगै जोडिएको जगतलाल गिरिको घरमा बस्नुहुन्थ्यो । यसैगरी रामा होटेल रहेको डिठ्ठा गौरीनारायण गिरिको घरमा पनि बस्नु भयो । हामीहरूको बीचमा आउने जाने छलफल पनि भइरहन्थ्यो । त्यसकारण पहिलादेखि नै उहाँसँग मेरो चिनजान थियो ।
खास गरेर राजनीतिक पृष्ठभूमिको उहाँको परिवार भएको कारणले नेपालमा बहुदलीय संसदीय व्यवस्था पुनस्र्थापित गर्नका लागि केन्द्रित थियो । राजनीति प्रतिबन्धित थियो । राजाले निर्दलीय पञ्चायती व्यवस्थाको नाउँमा सत्ता सञ्चालन गरेका थिए । त्यो बेलामा नेपाली कांग्रेसको आन्दोलन कसरी अघि बढाउने लगायतका विषयमा छलफल हुन्थ्यो ।

प्रदीप गिरि र नेपाली राजनीतिको सवालमा आम मानिसले के कुरा ग्रहण गर्ने ?
प्रदीप गिरिमा एउटा खुबी के थियो भने उहाँ एकदमै अध्ययनशील नेता हो । राजनीतिकका कुराहरू गर्दा राजनीतिक शास्त्र र प्रणाली, सिद्धान्तहरू अध्ययनमा उहाँको धेरै रुचि थियो । र त्यस्तै धार्मिक ग्रन्थहरू, अर्थशास्त्रका ग्रन्थहरू, कविताहरू समाजका सबै क्षेत्रका विषयमा अध्ययन गर्नु भएको छ । अध्ययन गरिसकेपछि राजनीतिका क्षेत्रमा कसरी र कुन सीमासम्म प्रयोग गर्न सकिन्छ भन्ने विषयमा उहाँको बढी रुचि थियो । दलीय राजनीतिमा उहाँले विश्वास अरूभन्दा पनि धेरै त गर्नुहुन्थ्यो, तर सत्ताको राजनीतिभन्दा टाढा रहनुहुन्थ्यो । त्यसैले उहाँलाई अहिलेको समसामयिक राजनीतिका कुराहरूमा उहाँबाट प्राप्त गर्ने सन्देश के हो भने राजनीतिलाई, शासन प्रणालीलाई जनतासँग जोड्नु पर्छ । सिद्धान्त राजनीतिक वैचारिक आधार त्यही हो । राजनीति जव जनतालाई केन्द्रमा राखेर गरिँदैन, त्यो राजनीतिले जनता र देशको पक्षमा परिणाम दिँदैन ।

तपाईं र प्रदीप गिरिको सम्बन्ध राम्रो थियो, अन्त्य अन्त्यतिर तपाईं र उहाँका बीचमा भएका कुरा उल्लेख गर्न मिल्छ ?
नेपाली कांग्रेसको १४औं महाधिवेशनको सन्दर्भमा उहाँसँग कुरा भएको थियो । म त्यतिबेला सभापतिको उम्मेदवार भएँ । त्यतिबेला म उम्मेदवार हुने वा नहुने भन्ने विषयमा छलफल हुँदाखेरि मेरो मनमा म सभापतिको उम्मेदवर शेरबहादुरले प्रस्ताव गरेरै बन्ने छु भन्ने थियो । म १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने विषयमा प्रदीपजी एकदमै उत्साहित हुनु भएको थियो । उहाँले मलाई ‘राइट टाइममा राइट डिसिजन’ गर्नुभयो भनेर भन्नु भएको थियो । उहाँलाई क्यान्सर त ५–६ वर्षदेखि थियो, मसँग त्यस विषयमा सबै जानकारी पनि थियो र हामीले उपचारको सवालमा पनि सरसल्लाह पनि गर्ने गरेका थियौं । १४औं महाधिवेशनमा मेरो लागि समर्थन गर्न प्रचार गर्न चाहनुहुन्थ्यो तर उहाँ बिरामी भएका कारण गर्न सक्नु भएन । त्यतिबेला पनि मलाई सभापतिको उम्मेदवार बन्नबाट पछि नहट्नुस् भन्ने सल्लाह दिइरहनु भयो । मलाई थाहा थियो सभापतिमा जित्दिन भन्ने कुरा । तर पनि मैले उहाँकै सल्लाहमा सभापतिको उम्मेदवारी कायम राखेको थिएँ । नेपालको दलीय राजनीतिमा जसरी हिमाल पहाड तराईको विविधतायुक्त राजनीति छ, त्यसको लागि छुट्टै किसिमको सन्देश जान्छ भन्ने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस विभाजित हुँदा शेरबहादुर देउवा राम्रो भएरभन्दा पनि गिरिजाप्रसाद कोइराला खराब भएकाले प्रजातान्त्रिक कांग्रेस रोजे भन्नु भएको रहेछ किन ?
एकदम ठिक भन्नुभयो । यो सन्दर्भमा म शेरबहादुर देउवासँग पहिलादेखि नै सँगै थिए । गिरिजाप्रसाद कोइरालाको राजनीतिसँग म पहिलादेखि नै असहमत उहाँ त झन् पहिलादेखिनै असहमत हुनुहुन्थ्यो । जव नेपाली कांग्रेस प्रजातान्त्रिक बनाउने कुरा भयो, त्यतिबेला उहाँ पटनामा हुनुहुन्थ्यो । पछि उहाँले भन्दै हुनुहुन्थ्यो, प्रदीप गिरि र शेरबहादुर देउवाजीको पनि सम्बन्ध राम्रो थिएन । मैले नै प्रदीप गिरिलाई आउनका लागि आग्रह गरे । त्यतिबेला किन आउने भनेर मलाई नै प्रश्न गर्नुभयो । मैले त्यतिबेला शेरबहादुरजीलाई सहयोग गर्नु प¥यो भनेर आग्रह गरेको थिए । त्यतिबेला गिरिजाप्रसादको विरुद्ध लागेर पनि सकिन्छ भन्नुहुन्थ्यो । त्यतिबेला मैले भनेको थिएँ तपाईं (प्रदीप गिरि) जस्तो नेताले शेरबहादुरलाई साथ दिनुहुन्छ भने पो उहाँले अडान लिने हिम्मत गर्नुहुन्छ । त्यसपछि उहाँ आउनु भयो र हामी दुई जना मिलेर शेरबहादुर देउवालाई साथ दियौं । शेरबहादुरसँग धेरै असहमत हुँदाहुँदै पनि गिरिजाबाबुको विकल्पमा नेपाली कांग्रेसमा नेतृत्वको विकास हुनुपर्दछ, त्यो नेतृत्वको विकास क्रममा राजनीतिक समर्थन दिइरहनु पर्छ भन्ने उहाँको भनाइ थियो ।

पार्टी कांग्रेस कार्यकर्ता कम्युनिस्ट उत्पादन गर्ने गुरुको रूपमा पनि प्रदीप गिरिलाई चिनिन्छ यो विषयमा तपाईंहरूले बैठकमा गिरिलाई कहिल्यै प्रश्न गर्नुभयो की नाईं ?
प्रदीप गिरिको अद्भुत क्षमता हो । मेरो आफ्नो बुझाइमा नेपालका कम्युनिस्टहरूले माक्र्सवाद, माओवाद र लेनिनवाद जति बुझेको र पढेको छ, म दावाका साथ भन्न सक्छु, प्रदीप गिरिले माक्र्सवाद, लेनिनवाद, माओवादसहित कम्युनिस्ट विचारधाराको उदयको इतिहास र कम्युनिस्ट विचारधारमा आइरहेको विसंगतिहरूको विषयमा पनि सबैभन्दा धेरै जान्ने मान्छे हो । कतिपय ठाउँमा उहाँले फलानाले यसरी कम्युनिस्ट आन्दोलनमा काम ग¥यो भन्ने उदाहरण दिनुहुन्थ्यो, त्यतिबेला तथ्यसंगत कुराहरू सुनेर नेपालका अरू कम्युनिस्ट नेताहरू जिल्ल पर्थे ।
नेपालका कुनै पनि विश्वविद्यालयबाट राजनीतिक, अर्थशास्त्र, समाजशास्त्र र साहित्यको पीएचडी गर्नेहरूका लागि प्रदीप गिरि एउटा आफैंमा विश्वविद्यालय थियो । उहाँ सानासाना कुराहरूका विषयमा जानकारी राख्ने मान्छेको रूपमा हामी बुझ्दछौं ।

उहाँ धार्मिक पनि मान्छे हो ? तर सँगसँगै समाजसँग पनि जोड्नु भएको छ ?
उहाँ रामायण महाभारत पुराण उपनिषद्हरूको सन्दर्भ उहाँलाई धेरै नै मन पर्ने विषय थियो । उहाँले सबैभन्दा धेरै रामायण मन पराउनु हुन्थ्यो । उहाँले रामायणको विभिन्न कालखण्डको चर्चा गर्नुहुन्थ्यो । नेपाल र भारतमा रामायण कथामाथि प्रवचनकर्ताहरू धेरै नै आउनुहुन्छ, उहाँलाई मैले एक पटक भनेको थिएँ, रामायण कथाको प्रवचन दिनुस् भनेर । म नेपाली कांग्रेसको उपसभापति भएर प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिएँ त्यतिबेला मैले उहाँलाई भनेको थिएँ, सवै विषयमा तपाईंले प्रवचन दिन सक्नुहुन्छ तर राजनीतिक मान्छेले धार्मिक ग्रन्थमाथिको टिप्पणी र प्रवचन गरेको पाइँदैन, त्यसैले तपाईंले रामायणमाथिको प्रवचन गर्नुस् भनेको थिएँ । उहाँ उत्साहित पनि हुनुहुन्थ्यो तर क्यान्सरको उपचारका क्रममा रहेकाले त्यतिबेला उहाँले समय दिन सक्नु भएन । यो सपना उहाँको अधुरै रह्यो ।

अब संसद्को प्रसँग ।
उहाँ किन संसद्को लास्ट बेन्चर ?
संसद्मा उहाँभन्दा राजनीतिक हिसाबले जुनियर व्यक्तिहरू आएका थिए । संसद्मा खासगरी मर्यादाक्रमको कुरा पनि हुन्छ । मर्यादाक्रममा हामी तँछाडमछाड गर्छौं । कहिलेकाहीँ पदले मात्रै सिनियर हुन्छ र ? राजनीतिक जीवनले पनि सिनियर हुन्छ । त्यसैअनुसार सिट यसरी राख्नुपर्छ भन्ने कुरामा संसद्मा विवाद भइरहन्छ । यो कुरा कांग्रेस एमाले र माओवादी सबैमा भइरहन्छ । पदाधिकारीहरू अगाडि बस्नुपर्छ । पदाधिकारीहरू प्रदीप गिरिको सामुन्नेमा फुच्चे थियो । त्यसैले उहाँ कुनै पनि विवादमा नपरेर सबैभन्दा पछाडि गएर बस्ने गर्नुहुन्थ्यो । उहाँका लागि संसद्मा सिट छुट्ट्याएको थिएन । उहाँ जहाँ बसे पनि त्यो ठाउँ नै मर्यादित हुन्थ्यो । त्यो ठाउँबाट जे बोल्दा सबैले चासो दिएर सुन्थे । प्रदीप गिरि आज संसद्मा बोल्दै हुनुहुन्छ भने पछि सबैले कान ठाडो पार्दथे ।

उहाँले संसद्मा गरेका कुराहरू जो तपाईंले सम्झने ?
उहाँले गरेका हरेक कुराहरू सम्झन र ग्रहण गर्न योग्य छन् । उहाँले नेपालको विविधता र पहिचानका साथै प्रतिनिधित्वको सवाल उहाँले उठाउनु भयो । नेपाली कांग्रेस प्रजातान्त्रिकमा हामीहरू रहेका बेलामा उहाँले ‘दमजम’ सुरु गर्नुभयो । त्यो भनेको समावेशिताको सवालमा फर्मुला नै निकाल्नु भयो । पछि हामीले त्यसमा ‘क’ थप्यौं । क भनेको कर्णाली हो । दमजम भनेको द–दलित, म–महिला,ज–जनजाति, म– मधेसी । त्यसपछि भौगोलिक क्षेत्र पनि पिछडिएको छ भनिसकेपछि उहाँले त्यसलाई स्वीकार गरेर कर्णाली राख्नुपर्छ भन्नुभयो । त्यसपछि बनेको हो ‘कदमजम’। कुनै राजनीतिक दलहरूको आन्तरिक जीवनमा हेर्ने हो भने समावेशिताको लागि यति स्वस्पष्ट सिद्धान्तको आधार नेपाली कांग्रेस प्रजातान्त्रिक भएकै बेला राखिएको हो । त्यो बेलमा माओवादी युद्धरत थियो । माओवादी आतंकवादी हो भन्ने एकतिर मत थियो भने प्रदीप गिरिले माओवादीलाई कहिल्यै पनि आतंकवादी भन्नु भएन । उहाँको बुझाइ थियो ‘माओवादीप्रति उदार देखिनुहुने उहाँले यसलाई समकालीन राजनीतिक विसंगतिको परिणाम भन्नु भयो ।’
गिरिजाप्रसादले नेतृत्व गरेको नेपाली कांग्रेस, शेरबहादुरले नेतृत्व गरेको नेपाली कांग्रेस प्रजातान्त्रिक । केही साथीहरूले प्रजातान्त्रिकलाई त ‘तान्त्रिक’ पार्टी नै भन्नुभयो । नेपाली राजनीतिमा प्रदीप गिरिकै कारण प्रजातान्त्रिक कांग्रेसले संविधानसभाको निर्वाचनको कुरालाई स्वीकार गरेको हो । संसदीय प्रणाली जुन हामीले अभ्यास गरिरहेका छौं त्यसमा केही परिमार्जन आवश्यक छ भन्ने कुरामा पनि गिरिको जोड हुन्थ्यो ।

संविधान जारी हुँदा कांग्रेसका जम्मै सांसदले हस्ताक्षर गर्दा प्रदीप गिरिले किन नगर्नु भएको त ?
उहाँले संविधान सर्वस्वीकार्य नभएका कारण हस्ताक्षर गर्दैन भन्नु भएको हो र अन्तिम समयमा वहिष्कार गर्नुभयो । यो उहाँको हिम्मतको रूपमा पनि बुझ्छु म । उहाँको आफ्नो मनमा जे विचार आउँथ्यो, त्यो विचारका सन्दर्भमा उहाँले कसैसँग पनि सम्झौता गर्नु भएन । उहाँले समयसँग भने सम्झौता गर्नुहुन्थ्यो । तर त्यसमा उहाँले विचार मेरो यो हो, उपचार यस्तो हुनुपर्छ भन्ने तर्क पनि दिनुहुन्थ्यो, तर म अहिले एक्लै यो गर्न नसकेकाले आफ्नो विचारको जीवन्तता र निरन्तरतालाई कायम राख्दै तत्कालीन उपलब्धिलाई उहाँले स्वीकार गर्नुहुन्थ्यो । त्यसकारण उहाँले संघीयता र गणतन्त्रलाई उहाँले मान्नु भएकै थियो । तर दलित, मधेसी, महिलाको बारेमा यो संविधानले उपयुक्त संरचना गर्न सकेन अधिकारलाई केन्द्र र जिल्लामा विकेन्द्रीकृत हुन सकेन भन्नुहुन्थ्यो ।
अहिलेको संविधान हेर्नुहुन्छ भने अविशिष्ट अधिकार केन्द्रमा राखिएको छ । अविशिष्ट अधिकार भनेको संविधानमा नलेखिएको अधिकार हो । त्यस्तो अधिकारको बारेमा कसैले केही गर्नुपर्ने अवस्था आएमा त्यो कहाँ राख्नेभन्दा त्यो अधिकार केन्द्रमा राखिएको छ । उहाँ जहिले पनि अविशिष्ट अधिकार जहिले पनि जनताको हातमा हुनुपर्छ भन्ने पक्षको नेता हो । जनताको सवैभन्दा नजिकको निकाय भने तल्लो तह हो । विकेन्द्रीकरण हो ।

अन्त्यमा,
सिरहाको बस्तीपुरमा रहेको प्रदीप गिरिको आश्रमलाई कसरी संरक्षण गर्ने ?
सिरहाको बस्तीपुरमा रहेको आश्रममा जो संलग्न हुनुहुन्छ उहाँहरूसँग सल्लाह गरेर यसलाई नेपाली कांग्रेसले पनि र सरकारले पनि यसको संरक्षण र संवद्र्धन गर्नुपर्छ । उहाँले केटाकेटीहरूलाई पढाउँदै आउनु भएको थियो । यसैगरी अनन्त कालसम्म सम्झनयोग्य गराउनका लागि आश्रममा रुख रोप्नु भएको थियो । अब प्रदीप गिरिको इच्छाअनुसार नै आश्रम सञ्चालन गरेर उहाँलाई जीवन्त बनाइराख्नु पर्दछ ।