प्रदीप गिरीको नियति भनौं वा भाग्य, जीवन यति नै रहेछ, मित्र एवं शुभेच्छुकहरूलाई विस्मित पार्दै ७५ वर्र्षीय सक्रिय जीवनमा घातक क्यान्सर रोगका कारण सबैलाई सदाका लागि छोडेर गए । राष्ट्रिय जीवनका ख्याति प्राप्त व्यक्तिको निधन हुँदा समाज र राष्ट्रले सम्झने, समाज र राष्ट्रलाई लगाएको योगदानको चर्चा गर्ने, श्रद्धाञ्जली दिने आदि गरिन्छ । प्रदीप गिरीको हकमा पनि त्यो भयो । उनका शुभेच्छुक र समर्थकहरू पार्टी कार्यालय र आर्यघाटमा ठूलो मात्रामा उपस्थित भएर उनलाई सम्मान गरे, बिदाइ र श्रद्धाञ्जली अर्पण गरे । आम मेडियामा पनि उनलाई आजसम्म पनि सम्झने, सम्मान गर्ने र श्रद्धाभाव व्यक्त गर्ने क्रम चलिरहेको छ ।
प्रदीप गिरीको जीवन उनले रोजेको जीवन हो । उनलाई नपुग्दो केही थिएन । सम्भ्रान्त परिवारमा जन्मिएका थिए । सुविधाको जीवन जिउन सक्थे । काठमाडौंमा बंगला, गाडीसहित सुविधा र ऐयाशी जीवन बिताउन सक्थे । तर उनले ऐयाशी जीवनको बाटो रोजेनन्, सामान्य सादगी जीवनको बाटो रोजे । बनारस गल्ली र काठमाडौंमा सामान्य डेरामा नै जीवन बिताए । सामान्य जीवनशैलीमा जीवन चलाए । राजनीतिक विचार एवं समाजवादी चिन्तक थिए, थोरै सन्यासी, जीवन पनि जोगी सन्न्यासीकै शैलीमा बिताए ।
प्रदीप गिरीले आफ्नो सिंगो जीवन देशको प्रजातान्त्रिक आन्दोलनमा बिताए, कांग्रेसमा बिताए, विचार निर्माण र राजनीतिक चिन्तनमै बिताए । पार्टी राजनीति त गरे तर उनले आफ्नो लागि सत्ताको राजनीति कहिल्यै गरेनन् । प्रधानमन्त्री बनाउने, आफ्ना निकटका मित्रलाई मन्त्री बनाउने, पार्टी सभापति कसलाई बनाउने, पदाधिकारी कस–कसलाई वनाउने भनेर त उनी खुबै लागे तर उनले आफंै बन्न भने कहिल्यै लागेनन् । उनले राजकीय सत्ता र पार्टीको कार्यकारी पद लिँदा संवैधानिक, कानुनी एवं पार्टी विधानको अनुशासनमा बस्नुपथ्र्यो, त्यो बन्धन वा अनुशासनमा बस्ने मानिस उनी थिएनन्, एक प्रकारले उनी एक अनौठो खालको अराजक मानिस थिए । पार्टी एवं सत्ता राजनीति गर्नेले विद्यमान कानुन, पद्धति वा अनुशासनमा बस्नै पर्ने हुन्छ । बिहान सबेरै उठ्नु पर्छ । कार्यकर्तालाई नियमित भेट्नु पर्छ । विवाह, ब्रतवन्ध, सप्ताह, पूजा आदिमा गैरहनु पर्छ, आर्यघाट वा क्रियापुत्रीलाई भेट्न जानुपर्छ । राजनीतिक कार्यक्रमको अतिरिक्त अन्य सार्वजनिक कार्यक्रम र समारोहमा गैरहनु पर्छ । प्रदीप गिरी यस्ता झन्झटमा पर्ने मानिस नै होइनन् । खाने बस्ने र सुत्ने टुंगो छैन । कार्यकर्तादेखि पत्रकारसम्म र आफन्तले समेत खोज्या बेलामा भेट्नै नसक्ने एक प्रकारले जीवनको लय नभएको मान्छे । सक्रिय राजनीतिमा किन लाग्थे । पार्टी अनुशासनमा किन बस्थे । आफ्नो व्यक्तिगत स्वतन्त्रता र मस्तभरे जीवन भोगाइका गिरी सरकार र पार्टीको कुनै कार्यकारी पदमा बसेर आफ्नो स्वतन्त्रता र आफ्नै शैलीको जीवन भोगाइमा किन सम्झौता गर्थे !
आम मानिसले बुझ्ने राजनीति भनेको मन्त्री, प्रधानमन्त्री बन्ने पार्टीको महामन्त्री वा सभापति वन्ने, राज्यको शासनभारमा रजगज गर्ने, असीमित पैसा कमाउने, आफन्तलाई पनि पोस्ने भन्ने नै बुझ्दछन् । यस हिसाबले प्रदीप गिरीले राजनीति नै गरेनन् । केही मान्छेलाई मन्त्री बनाउने, सांसद बनाउने, कसैलाई प्रधानमन्त्री बनाउन उनले आफ्नो पक्षधरता लिए, पार्टीको एउटा नेता वा गुटको फेरो पनि समाते, केन्द्रीय सदस्य पनि एउटा समूहबाट नै भए । तर यति गरेर पनि प्रदीप दाइले खै कस्तो राजनीति गरे ? मन्त्री नबन्ने, प्रधानमन्त्री नबन्ने, पार्टीको कुनै कार्यकारी पद नलिने यस्तो के राजनीति गरे सामान्य मान्छे त के, राजनीति कै धुरन्धर पण्डितले पनि प्रदीप गिरीलाई बुझ्न सक्दैन ।
पटकपटक सांसद त भए तर राजकीय सत्ताको कुनै कार्यकारी पदमा कहिल्यै नबसेका प्रदीप गिरीलाई देश र जनताको लागि यो यो गरे भनेर तारिफ गर्ने ठाउँ छैन । पदमा नबसेको कारणले उनले यो बिगारे भनेर आलोचना गर्ने ठाउँ पनि छैन । केही नगरे पनि उनी आलोचनामुक्त मानिस होइनन् । भगवान्को त आलोचना हुन्छ, कुनै पनि मानिस आलोचनाबाट मुक्त हुन सक्दैन । राजनीतिक जीवनमा आफ्नै खालको विशिष्ट उचाइ बनाएका विवादास्पद छवि भएर पनि लोकप्रिय रहेका प्रदीप गिरी मात्र किन अलग वा भिन्न हुन्थे । उनी त सर्वाधिक विवादित मानिस हुन् । उनी आफैं विवाद मन पराउने, विवादमै खेल्न रुचाउने मानिस हुन् । विद्यार्थी कालमा वनारसमा बस्दै आफ्नैबाट चुटाइ खान्थे, आफ्नैलाई जेल हाल्थे, विश्वविद्यालयबाट साथीहरूलाई रेस्टिकेट पनि गराउँथे । शान्तसँग चुपो लागेर वस्नै नसक्ने मानिस गिरी, एउटा न एउटा अभियानमा लागि रहन्थे, निरन्तर विचार र तर्क प्रवाह गरी रहन्थे । उनी सामान्य मानिसभन्दा एउटा भिन्न मानिस थिए ।
आधुनिक नेपाली राजनीतिमा बीपी कोइराला पछि विचार र चिन्तनको राजनीति गर्ने मानिस प्रदीप गिरी नै थिए । विचार र चिन्तनको राजनीतिमा समकालीन नेपाली राजनीतिमा प्रदीप गिरीलाई भेट्ने अर्को व्यक्तित्व छैन । राजनीति, धर्मशास्त्र, दर्शनशास्त्र, मानवशास्त्र, समाजशास्त्रलगायत हर विषयमा उनी पोख्त थिए, आफ्नो विचार र चिन्तन गरिरहन्थे । उनी प्रजातान्त्रिक समाजवादका कट्टर पक्षपाती थिए । समाजवादी चिन्तन प्रवाहधारा नै प्रदीप गिरीको प्रधान विचार थियो, तथापि उनी हर विषयमा आफ्नो विचार दिन सामाथ्र्य राख्थे । उनमा वामपन्थी झुकाव थियो, उनी माक्र्सवादी भने होइनन् तर पनि वामपन्थी र घोर कम्युनिस्टहरू पनि उनको माक्र्सवादको व्याख्याबाट मन्त्रमुग्ध हुन्थे । संसद्मा होस् वा सडकमा, कांग्रेस हुन् वा कम्युनिस्टसहितका अन्य दलको मानिस हुन्, प्रदीप गिरीको भाषण वा प्रवचन सबैका लागि आकर्षणको विषय हुन्थ्यो ।
खादीको सामान्य कुर्ता पाइजामा र जहावरी कोटमा देखिने प्रदीप गिरीको सरल समाजवादी जीवनशैली सबैका लागि प्रेरणाको विषय हो । उनको खरो र स्पष्ट विचार राख्न सक्ने क्षमता भएर पनि वाणीमा मिठासपन नै मानिसलाई आफूतर्फ आकर्षित गर्न सक्ने सबैभन्दा ठूलो सामथ्र्य थियो । कुनै पनि विषयका पुस्तक पढ्ने सामथ्र्य, गहिरोसँग बुझ्ने, त्यसलाई दिमागमा राख्न सक्ने, अनि विचार निर्माण गरेर मीठोसँग सम्प्रेषण गर्न सक्ने अद्भुत सामथ्र्यले सामान्य प्रदीप गिरीलाई महान् विचारक र एवं चिन्तक प्रदीप गिरी बनायो र नेपाली राष्ट्रिय जीवनमा एक विशिष्ट पहिचान बनाएको थियो । उनको वाणीमा एक प्रकारको छुट्टै मिठास र मादकता थियो, जसका अगाडि समर्थक त लठ्ठ हुन्थे नै उनका विरोधीसमेत नतमस्तक हुन्थे ।
प्रदीप गिरीको विचारमा वर्तमान नेपाली राजनीति हिँडेको छ छैन, यो छुट्टै अध्ययनको विषय हुन सक्छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादी दलबीच दिल्लीमा भएको चर्चित १२ बुँदे साझा सम्झौताको पक्षपाती र त्यस यताको राजनीतिक विकासक्रमको प्रदीप गिरी कट्टर हिमायती भएको कारणले अहिलेको नेपाली राजनीति प्रदीप गिरीकै विचार र चिन्तनको मार्गबाट अगाडि बढिरहेको मान्न सकिन्न ।
यो विचार र राजनीतिक रोडम्यापले देशको राजनीतिलाई कहाँ पुर्याउँछ भन्न गाह्रो छ । तथापि बीपी कोइरालाको विचार र चिन्तनलाई छोड्ने नेपाली कांग्रेस, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले हिँडेको राजनीतिक मार्गलाई त्याग गर्ने वर्तमान कांग्रेसले भोलिका दिनमा प्रदीप गिरीकै विचारलाई पछ्याउनेछ भन्नेमा सन्देह नै छ । प्रदीप गिरीको निधनमा कांग्रेसजन, आम प्रजातन्त्रवादी र कम्युनिस्टहरूले समेत ठूलो सम्मान त दिए तर विचार र चिन्तन छोडेर र व्यवहारवादी राजनीतिका नाममा कम्युनिस्ट पार्टीहरूसँग मिलेर सत्ताको राजनीतिमा रमाइरहेको वर्तमान कांग्रेसले प्रदीप गिरीको विचारलाई पछ्याएर राजनीति गर्नेमा भने सन्देह नै छ तथापि विचार र चिन्तनको पक्षमा राजनीति गरिनुपर्छ भन्नेहरूले र प्रदीप गिरीले लिएको विचारप्रति विमति राख्नेहरूले समेत आफ्नो विचार चिन्तनबाट नेपाली राजनीतिलाई सदा तरंगित बनाइराख्ने प्रदीप गिरीलाई सदा स्मरण गरिरहनेछ । नेपाली राजनीतिले प्रदीप गिरी जस्तो महान् विचारक र चिन्तकको सदा अभाव महसुस गरिरहनेछ ।
हार्दिक श्रद्धाञ्जली प्रदीप दाइ !
जय नेपाल !
प्रतिक्रिया