काठमाडौं – भारतमा एकै दिनमा कोरोना संक्रमितको सङ्ख्या १० हजार भन्दा कम भएको छ । यहाँ चौबीस घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म ९ हजार ५३१ जना कोरोना संक्रमित भएका संघीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।
यसैसँगै भारतमा चार करोड ४३ लाख ४८ हजार नौ सय ६० जना कोराना भाइरस संक्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्यांक अनुसार एक दिनमा ११ हजार पाँच सय ३९ जनामा संक्रमण देखापरेको थियो ।
दैनिक संक्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय संक्रमितको सङ्ख्या ९७ हजार छ सय ४८ जना रहेका छन् । गत २४ घण्टाको समयअवधीमा कोरोना संक्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँ पाँच लाख २७ हजार तीन सय ६८ व्यक्तिको मृत्यु भइसकेको छ ।
भारतमा हिजो एक दिनमा १२ हजार सात सय ८३ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख १२ हजार दुई सय १८ जना कोरोनामुक्त भएका छन् ।
नयाँ संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।
यो समयबाट हालसम्म दुई अर्ब दश करोड २४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
प्रतिक्रिया