देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वामपन्थ साम्यवाद छाडेर कांग्रेसको समाजवादतर्फ आकर्षित


पाँच वर्षअघि त्यसबेला संसद्का दोस्रो र तेस्रो हैसियतमा रहेका दुईवटा ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी आपसमा विलय भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । विलय हुनुभन्दा अघि यी दुई दलले आपसमा गठबन्धन गरेर निर्वाचनमा सहभागी भएका थिए । त्यसमा करिब दुई तिहाइको मत प्राप्त भयो । त्यसपछि दल नै विलयन भएर नेकपा बनेको हो जसको राजनीतिक गन्तव्य साम्यवाद हुने भन्ने उल्लेख छ ।

प्रचलित संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका वाम नेता खिमलाल देवकोटाका अनुसार ‘नेपाली कांग्रेस आफूलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारामा उभिएको पार्टी भन्छ । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाले आफ्नो राजनैतिक दस्तावेजमा समाजवाद हुँदै साम्यवाद प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’

पछिल्लो समय यी दुई दलमध्येको एउटा दल माओवादी समाजवादी केन्द्र नै खोल्ने र अरु कम्युनिस्टहरूलाई पनि त्यसैमा आबद्ध गर्ने अभियानमा छ । उल्लेखित अन्त्यमा साम्यवाद प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेको अर्को दल एमालेबाट अलग्गिएको एउटा समूहले यसअघि नै आफ्नो नयाँ दलको नाम एकीकृत समाजवादी भनेर दल दर्ता गरिसकेको छ । यद्यपि यसले आफूलाई कम्युनिस्ट भन्न चाहिँ छाडेको छैन । यहीबेला पहिले नेकपा माओावदीका नामबाट दशकभरि हिंसात्मक अभियान चलाएर र ठूलो संख्यामा जनधनको क्षति गराउने कामको नेतृत्व गरेका व्यक्तिबाट भर्खरैमात्र कम्युनिस्ट भन्ने परिचयको कतै पनि गन्धसमेत नआउने गरी नयाँ दल खोलिएको छ जसको नाम नेपाल समाजवादी पार्टी भन्ने छ ।

संविधानसभाले घोषणा गरेको नेपालको संविधानले समाजवादकाबारे स्पष्ट उल्लेख गरेको छ । त्यसको मूल कुरा हो समाजवाद उन्मुख अर्थतन्त्रको स्थापना र त्यसबाट आर्थिक र सामाजिक विकास गर्ने लक्ष्य किटान हुनु । यो संविधान घोषणा हँुदा त्यो सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल र देशको नेतृत्व गरिरहेको अवस्थामा थियो । तर त्यही सभामा माथि उल्लेख भएका दुईवटा कम्युनिस्ट पार्टी एमाले र माओवादी दोस्रो र तेस्रो हैसियतका थिए । सभाको बहुमत पनि कम्युनिस्टकै पक्षमा थियो । तर यो संविधानमा साम्यवाद भन्ने शव्द कतै परेको छैन । यसको अर्थ हो कम्युनिस्ट दलका, उनको स्थापनाकालका मूल लक्ष्य साम्यवाद यो संविधानमा कतै प्रतिविम्बित भएन । नेपाली कांग्रेसले आफ्नो आफ्नो स्थापनाकालमै निर्धारण गरेको आफ्नो मूल गन्तव्य समाजवाद भने संविधानमा यो रूपले उल्लेख भयो । वास्तविक समाजवादीहरूका लागि भने यो खुसीको कुरा पनि हो ।

यसबाट बुझिने कुरा हो, नेपालका कम्युनिस्ट पार्टीहरूले आफ्नो स्थापनाकालको साम्यवादी सिद्धान्त छाडेर नेपाली कांग्रेसले आफ्नो स्थापनाकालमै किटान गरेको समाजवाद उनका पनि आकर्षक बन्दै गएका छन् । नेपालको संविधानले समाजवादको आधार तयार गर्ने, समाजवादी अर्थतन्त्र निर्माण गर्ने र त्यसमार्फत देशलाई समृद्ध गर्ने भन्ने घोषणाको राजनीतिक र सैद्धान्तिक अर्थले पनि धेरै कुरा बताउँछ ।

साम्यवादलाई गन्तव्य मानिएको तत्कालीन एमाले र माओवादीको विलय भएर बनेको नेकपा यो तीनै वर्षमा टुट्यो । यी दुई कम्युनिस्ट पार्टीले वास्तवमा नै साम्यवादलाई गन्तव्य मानेका भए त्यसको प्राप्तिसम्म यो एकता कायम हुनुपथ्र्यो । यसपछि सबैभन्दा पछिल्लो समयको त्यो राजनैतिक दस्तावेजमा भनिएको समाजवाद हुँदै साम्यवाद प्राप्त गर्ने प्रतिबद्धता यी दुईमध्ये कसको भागमा पर्न गयो भन्ने चर्चा चल्न थालेको छ । यी दुईमध्येकै एउटा कम्युनिस्ट पार्टी अहिले सबै वामहरूलाई एक ठाम राखेर समाजवादी केन्द्र खोल्ने अभियानमा लागेको अवस्था छ । त्यस्तो होला नहोला भन्ने चाहिँ अलग कुरा हो । त्यो विलयमा रहेको अर्को दल एमाले पनि त्यही रूपमा सग्लो रहेन । त्यसबाट अलगिएको एउटा हिस्साले पनि समाजावाद नै रोज्यो । यस्तो विभाजनपछि त्यो विलयकालमा लेखिएको साम्यवाद मूल गन्तव्य हुने भन्ने कुरालाई एमालेले पनि त्यसपछिका आफ्ना दस्तावेजहरूमा कतै उल्लेख गरेको छैन । यो बीचमा यसका नीति निर्धारणका लागि थुप्रै औपचारिक कार्यक्रमहरू सम्पन्न भइसकेका छन् ।

प्रजातान्त्रिक समाजवादलाई नेपालमा आफ्नो राजनीतिक मूल सिद्धान्त भनी स्थापनाकालमा नै उल्लेख गरेर त्यसलाई देश विकासको आधार बनाउने दल नेपाली कांगे्रस नै हो । तर अब चाहिँ कांग्रेसको यो समाजवाद देशकै मूल र साझा राजनीतिक सिद्धान्त बन्न लागेको देखिन थालेको छ ।

एउटा विवरणअनुसार हाल निर्वाचन आयोगमा एक सयवटा राजनीतिक दल सूचीकृत भएका देखिन्छन् । पछिल्लो पटक एउटा नयाँ दल दर्ता भएको छ । समाजवादी नाम गरेकै दलबाट अल्लग्गिएर नेपाल समाजवादी पार्टी नाम राखिएको छ । यसका अध्यक्ष माओवादी हिंसात्मक विद्रोहका प्रणेता (डा. बाबुराम भट्टराई) हुनुहुन्थ्थो । त्यसअघि नेकपा एमाले विभाजित भई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजित भई लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सूचीकृत भएका थिए । दुवै दलले आफ्नो पार्टीको नाममा ‘समाजवाद’ शब्द समावेश गरेका अवस्था छ ।

यो भनेको नयाँ दल खुल्दा आफ्नो दलको नाममै ‘समाजवाद’ वा ‘समाजवादी’ विशेषण राखेर निर्वाचन आयोगमा दर्ता हुने क्रम बढ्नु हो । यसअघि पनि प्रकट भएका समाजवाद नाम लेखिएका दलहरूको संख्या ठूलै थियो । जस्तो, नेपाल संघीय समाजवादी पार्टी, आधुनिक नेपाल समाजवादी दल, नेपाल समाजवादी कांग्रेस, समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी (लोहियावादी), राष्ट्रिय समाजवादी पार्टी नेपाल आदि । यतिबेला सत्तामा रहेका पाँचदलमध्ये तीनवटा दल समाजवादी हुन् । यो सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको नामैमा त समाजवादी छैन तर आफ्ना कुनै पनि साना ठूला अल्पकालका र दीर्घकालका राजनीतिक दस्तावेज देखिका आफ्ना ‘लेटर प्याडमा’ र पर्चा सबैतिर नै तिनका शिरमा ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ लेखिन्छन् जसले यी तीन कुरा ‘हाम्रा (नेपाली कांग्रेसका) आदर्श हुन’ भन्ने जनाउँछ बुझाउँछ । नेपाली कांग्रेसको मूल नारा पनि यही हो ।

नेपाली कांग्रेसको स्थापनाकालदेखिको यो समाजवादका बारे आजको मितिमा हेर्ने हो भने नेपालका कुनै पनि प्रमुख– सानाठूला राजनीतिक दलका दस्तावेजमा उल्लेख हुने गरेका नै भेटिन्छन् । यो भनेको कुनैपनि नयाँ पुराना सबै दलका लागि समाजवाद अपरिहार्य बन्दै गएको अवस्था हो । नेपाली कांग्रेसको समाजवाद प्रजातान्त्रिक हो । कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’ भनेको कारणबाट पनि हुनसक्छ यस्तो समाजवादका पछाडि विशेषण जोडिएका होलान् । त्यसैकारण कुनैले ‘वैज्ञानिक समाजवाद’ भने त कसैले समाजवादी पार्टी भने । कसैले एकीकृत समाजवादी त कसैले समाजवादी केन्द्र । यतिबेला सबैभन्दा उग्र भनी चिनिएको नेकपा माओवादीको एउटा समूह हाल शान्तिपूर्ण राजनीतिमा आएको छ, त्यो दल नेकपा माओवादी (विप्लव) समूहले समेत वैज्ञानिक समाजवादको प्रस्ताव गरेको अवस्था छ । यी विवरणहरूले वताउने प्रमुख कुरा हो यतिबेला सबै दल समाजवादी राज्य व्यवस्था स्थापित गर्ने राजनीतिक उद्देश्य र सिद्धान्त बनाउने क्रममा लागेका छन् ।

यो भनेको कम्युनिस्ट सिद्धान्तको मूल आधार समाजवादबाट साम्यवादमा पुग्ने पूरा फेरिएर त्यसको उल्टो साम्यवादबाट समाजवादतर्फ फर्किएको अवस्था हो । नेपाली कांग्रेसका लागि सैद्धान्तिक पक्षमा यो धेरै ठूलो विजय हो । करिब ७० वर्षअघि, जुनबेला कांग्रेसले देशमा यस्तो समाजवादको प्रस्ताव गरेको थियो त्यसबेला त्यसपछिको लामो समयसम्म अर्को पक्ष खासगरी वाम धार यसबारे सुन्न पनि चाहँदैन थियो । त्यसबेला यो धारको मूल लक्ष्य र मान्यता नै सर्वहाराको अधिनायकवाद भन्ने थियो । आखिरमा त्यो सर्वहाराको होस् कि राजाको होस् वा राजनीतिक दलको, अधिनायकवादको स्थापना त ‘अधिनायकवादी’ नै हो नि । यो राजनीतिक परिदृश्यको एउटै सन्देश हो, अब यस्तो सोचको कुनै सम्भावना छैन । प्रजातन्त्र वा लोकतन्त्र अपरिहार्य भैसकेको छ । आवधिक निर्वाचनलाई अब कसैले इन्कार गर्न सक्तैन । नेपाली कांग्रेसले ७० वर्षअघि प्रस्ताव गरेको जनाले चुनेको प्रतिनिधिमार्पmत राज्य चल्ने कुरा र राज्यशक्तिको एउटै मात्र स्रोत सार्वभौमसत्ता सम्पन्न जनता हुन् भन्ने कुरा उल्लेख भैरहनुपर्ने विषयमा नै आउँदैन । यो आफंै स्थापित भैसकेको छ ।

अब प्रश्न उठ्छ यस्तो समाजवादको कार्यान्वयनको अवस्था । समाजवाद भनको नै लोक कल्याणकारी राज्य व्यवस्था स्थापना गर्नु हो । नेपालको संविधान २०७२ ले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्रनिर्माण गर्ने नै भनेका हो । यी कुरा संविधान र दलहरूको दस्तावेजमा लेखिएर मात्र हँुदैन त्यसतर्फ उन्मुख नीति, कार्यक्रम तथा हाम्रा व्यवहार समाजवादी हुनुपर्छ । नेपाली कांगे्रसको वि.सं. २०१२ सालमा वीरगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट समाजवादी अर्थनीति अवलम्बन हुन थालेको हो । महामानव बीपी कोइरालाको अग्रसरतामा त्यसबेला नेपाली कांग्रेसले समाजवादलाई पार्टीको सिद्धान्तमा समावेश गरेको थियो । बीपी कोइराला समाजवादी अर्थनीतिका सम्बन्धमा भन्नु भएको थियो ‘आर्थिक योजनाको लागि त्यहाँ दुई वटा टेस्ट हुन्छन् । पहिलो आर्थिक उन्नतिलाई बढावा दिनु, दोस्रो सामाजिक न्यायलाई बढवा दिनु । आर्थिक वृद्धि र सामाजिक न्यायमा मेल खाएन भने मुलुक कम्बोडिया हुन केही बेर लाग्दैन ।’ आज समाजवाद भनी उल्लेख गर्ने सबै दल दल र तिनका नेतृत्व ध्यान दिनुपर्ने र आवश्यक परे सुध्रन पनि पछि हट्न नहुने ठाउँ यही हो ।