काठमाडौं- आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७८/७९ मा चार अर्बभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले लक्ष्यको ९८ प्रतिशत अर्थात् चार अर्ब १६ करोड ९५ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिए । आव २०७८/७९ मा कार्यालयले चार अर्ब २४ करोड ७४ लाख ६९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो ।
कार्यालयअन्तर्गत इलाम र फिदिममा समेत करदता सेवा कार्यालय सञ्चालन हुँदै आएको छ । भद्रपुर कार्यालयबाट तीन अर्ब सात करोड १६ लाख ३५ हजार रुपैयाँ, इलाम सेवा कार्यालयमार्फत ५६ करोड ८९ लाख ६८ हजार रुपैयाँ र फिदिम सेवा कार्यालयमार्फत ५२ करोड ८९ लाख ७० हजार रुपैयाँ गरी कूल चार अर्ब १६ करोड ९५ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
कार्यालयले आयकरबापत एक अर्ब ८७ करोड ३१ लख ५८ हजार रुपैयाँ, बहाल करबापत चार करोड २० लाख ४४ हजार रुपैयाँ, ब्याज करबापत ६ करोड ५८ लाख ८१ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत एक अर्ब ७० करोड सात लाख १० हजार रुपैयाँ, अन्तः शुल्कबापत ४८ करोड ७८ लाख ८४ हजार रुपैयाँ र शिक्षा सेवा शुल्कबापत ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
विभिन्न सात शीर्षकमा कर संकलन गर्दै आएको कार्यालयले स्वास्थ्य सेवाबापत १० लाख ९० हजार ६९० रुपैयाँ राजस्व संकलनको लक्ष्य पाए पनि कर संकलन शून्य रहेको छ ।
अघिल्लो वर्ष कोरोना भाइरसको महामारीका कारण राजस्व असुलीमा कमी आए पनि यो वर्ष बढेको प्रमुख कर अधिकृत रिजालले बताए । ‘सबै उपाय अपनाएर राजस्व असुलीलाई करिब शत्प्रतिशतकै हाराहारीमा ल्याउने प्रयास गरेका छौँ’, उनले भने, ‘समग्रमा राजस्व असुली सन्तोषजनक नै छ ।’
करदाता सचेतना अभिवृद्धि गर्न सरोकारवालाहरुसँग अन्तरक्रिया र १२ वटा करदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको उनको भनाइ छ ।
ताप्लेजुङ, पाँचथर, इलाम जिल्ला र झापाको मेचीनगर नगरपालिका, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दिबारी गाउँपालिका र केचनाकवल गाउँपालिका कार्यालयको कार्यक्षेत्र रहेको छ ।
प्रतिक्रिया