देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनैतिक र व्यापारिक मिलोमतो


जेनेभा (स्विजरल्याण्ड) को लामो बसाइकालमा दुई व्यक्तिसँगको प्रथम भेटमै अत्यन्त प्रभावित भएको थिएँ । ती हुन् युवराजाधिराज दीपेन्द्र तथा डा. आरजु देउवा राणा । युवराजाधिराज लुजानस्थित ओलम्पिक कमिटीको औपचारिक भ्रमणपश्चात् जेनेभा भ्रमणमा थिए । राजदूत डा. शम्भु सिंखडाले युवराजाधिराजसँग त्यहाँ रहेका केही नेपालीसँग ‘दर्शनभेट’ कार्यक्रम गर्नुभएको थियो ।

युवराजसँग भेट पाउने अन्तिम व्यक्ति थिएँ म । राजपरिवार सदस्यसँगको यो प्रथम (तथा अन्तिम) संवाद थियो । एक घण्टाजति गफिएपछि तिनको बौद्धिक तीक्ष्णता, बहुविषयसम्बन्धी अभिरुची, उद्धार धारणा, सादगी तथा मैत्रीवत् व्यवहारजस्ता गुणबाट अत्यन्त प्रभावित भएँ र निष्कर्ष पनि निकालें– ‘यिनी देशको आवश्यकताअनुरूपको संवैधानिक राजा हुने छन्’ । संयोग पनि कस्तो भेट भएको एक साता नबित्दै दरबार हत्याकाण्ड घट्यो । आफूमा मानवीय चारित्रिक मूल्यांकन क्षमता प्रचुर अभाव भएको महशुस गरें ।

अर्थमन्त्री कमरेड प्रभाकर प्रकरणले गलैंचामुनि दशकौैंदेखि लुकाइएका केही थान साहू-महाजन तथा शीर्ष नेताबीचको ‘काले काले मिलेर खाउँ भाले’ सम्बन्धहरू छताछुल्ल भएका छन् ।

विवाहित जीवन पदार्पण गरेपश्चात् शेरबहादुर ‘दाइ’सँग गफिने क्रममा तिनले भने ‘मैले गतिली गृहिणी पाएँ । मेरो स्वास्नी अत्यन्त बुद्धिमान् छे’ उक्त कथन सुनेको केही महिनापछि डा. आर्जु राणासँग जेनेभामा परिचित हुने मौका मिल्यो । उहाँको प्रायः सबै विषयमा भएको ज्ञान, नेपाली पर्यावरणसम्बन्धी चासो, देश विकाससम्बन्धी धारणा तथा मैत्रीवत् व्यवहारजस्ता गुणले प्रभावित भएँ । उनले शेरबहादुर दाइको राजनैतिक जीवनलाई पूर्णता दिन्छिन् भन्नेमा विश्वस्त भएँ । योग्य राजनैतिक पात्रको अर्धांगिनी बन्ने सम्पूर्ण गुण भएकी नारी । समय बित्दै जाँदा डा. आर्जु ‘भाउज्यू’मा परिणत हुनुभएको छ । कांग्रेस दलका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा बढी चर्चित तथा विवादग्रस्त उहाँ हुनुभएको छ ।

संघीय लोकतन्त्र स्थापनापश्चात् पछि झन परिवारवाद झाँगियो । सत्तासीन नेता तथा साहू-महाजनबीचको सम्बन्ध बलियोसँग गाँसिएर झाँगिएको समाचार प्रकाशमा आउँछन् । प्रम प्रचण्डले गिरिजाप्रसादको बिँडो थामेका छन् । तिनको परिवारको साहू-महाजनसँगको संलग्नता अदृश्य रहे पनि राजनैतिक औपचारिक भएको छ । माधव नेपाल तथा झलनाथ परिवार बहुचर्चित भए । नेपाल परिवारका सदस्यले नाताकै आधारमा महत्वपूर्ण पदमा आसीन हुन पाएका छन् । पुत्रलाई व्यापारीमा परिणत गरेको आरोप खेपेका छन् राष्ट्रिय कोषबाट ‘सर्पपालन’का संस्थापक पूर्व प्रम खनाल र डा. बाबुराम भट्टराईपत्नी अत्यन्त विवादित रहिन् ।

विगत तीन दशकमा प्रम परिवार सदस्यको संलगनता राज्य तथा अर्थ सञ्चालन दुवैमा बाक्लिएको छ । उनी तथा साहू÷महाजनबीचको सम्बन्धले राजनीतिको लक्ष्मणरेखालाई नै मेटिदिएको छ । साहू÷महाजनसँगको सुमधुर सम्बन्धकै कारणले राष्ट्रहितभन्दा साहू-महाजन हितले प्राथमिकता पाएको देखिन्छ ।

जसको चर्चा अत्यधिक हुने गर्छ

सुरुमै उल्लेख गरिएजस्तो नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रम शेरबहादुरको भन्दा बढी चर्चा ‘आर्जु भाउज्यू’को हुने गर्छ । दलका उमेदवार छनौट, उच्च संवैधानिक तथा सरकारी निकायमा हुने नियुक्ति, सार्वजनिक खरिद, ठेक्कापट्टा तथा ‘टेन्डर बिजनेस’ आदि प्रकरणमा तिनको नाम गाँसिने गरेको छ । के उनी वास्तवमै संलग्न भएर विवादित भएकी हुन् ? शेरबहादुरका राजनैतिक विरोधीले सभापति एवं प्रमको चरित्रहत्या गर्ने अभिप्रायले गरिएको कार्य हो ? अथवा डा. आरजु देउवाको राजनैतिक जीवनलाई समाप्त गर्न हिलो छ्याप्ने प्रयोजित कार्य ? एकिन गर्न कठिन छ । डा. आर्जुले हालसम्म आफूविरुद्ध गरिएको कुप्रचारविरुद्ध आधिकारिक उजुरबाजुर गर्ने अधिकारको उपयोग गरेको छैन । मानहानि मुद्दा लगाएको खुलासा भएको छैन ।

अर्थमन्त्री कमरेड प्रभाकर प्रकरणले गलैंचामुनि दशकौैंदेखि लुकाइएका केही थान साहू-महाजन तथा शीर्ष नेताबीचको ‘काले काले मिलेर खाउँ भाले’ सम्बन्धहरू छताछुल्ल भएका छन् । अर्थमन्त्रीले कर निर्धारण कार्यमा निर्णायक भूमिका ‘खेताला विज्ञ’ नायब सुब्बा स्वदेसी भए पनि ‘सीए साहेब’ सीए डिग्री प्राप्त नगरेका विदेशी नागरिक रहेछन् । तिनलाई खटाउने महाजनलाई अर्थमन्त्रीको दक्षतामा अलिकति पनि विश्वास भएको भए शायद आफ्ना कर्मचारीलाई खटाउने थिएनन् । उक्त महाजनको पहुँच र शक्तिको क्षमता आँकलन कामरेड अर्थमन्त्रीको भिडियो फुटेजलाई जनसमक्ष प्रस्तुत गर्न गरिएको आनाकानीले उदाङ्गो पारेको छ । भिडियो फुटेज सार्वजनिक हुँदा धेरै शीर्ष नेताको कट्टु झर्ने प्रबल सम्भावना छ ।

सत्तासीन व्यक्तिको परिवार सदस्यको सामीप्यमा रहन साहू-महाजन मरिहत्ते गर्छन् । सत्ताको राप र तापबाट बढी मुनाफा आर्जन हुन्छ भने त्यस्तो सम्बन्ध प्रफुल्लित तुल्याउन किन लागि नपर्ने ?

अर्थमन्त्रीले गरेको आयातित ‘सेनिटरी’ प्याडमा भन्सार दर घटाउने तथा आन्तरिक उत्पादन हुने सोही वस्तुको महसुल बढाउने प्रस्तावले नयाँ आयाम थपेको छ । उक्त निर्णयको प्रत्यक्षलाभ प्रमपुत्रलाई भएको खुलासा भयो । यस प्रकरणले ‘भाउजु’मात्र नभएर युवा पुत्र पनि मुछिए अपराध–कार्यमा । प्रम परिवार र साहू÷महाजनबीचको स्वार्थ सम्बन्ध मात्र उदाङ्ग भएको छैन । राजनैतिक वृत्त तथा साहू÷महाजनबीचको स्वार्थ सम्बन्ध हितका निमित्त राष्ट्र कसरी प्रयोग हुँदैछ– त्यसलाई पनि छरपष्ट पारिदिएको छ । देश सञ्चालक तथा तिनको परिवारलाई व्यापारिक माध्यमबाट पोस्ने कार्य भएको छ । स्वार्थ बाझिएको (कन्फिलट अफ इन्ट्रेष्ट) को यो एक पराकाष्ठा उदाहरण हो । जुनसुकै लोकतान्त्रिक मुलुकमा पनि यस कार्यलाई अपराध ठहर गरिन्छ ।

सार्वजनिक जीवन र विवाद
राजनैतिक जीवनयापन गर्ने व्यक्तिको सार्वजनिक तथा व्यक्तिगत जीवनबीचको भिन्नता न्यून हुन्छ । राजनैतिक परिवारका सदस्यले अन्य नागरिकले पाउनेभन्दा बढी सुविधा प्राप्त गर्छन् । उनीहरूको मान र शान धेरै हुन्छ । सहजै उनीहरूले प्रभाव पार्न सक्छन् राष्ट्रिय निर्णय–प्रक्रियालाई । यही कारणले गर्दा सत्तासीन व्यक्तिको परिवार सदस्यको सामीप्यमा रहन साहू-महाजन मरिहत्ते गर्छन् । सत्ताको राप र तापबाट बढी मुनाफा आर्जन हुन्छ भने त्यस्तो सम्बन्ध प्रफुल्लित तुल्याउन किन लागि नपर्ने ? परिवारजनका निमित्त पनि सत्तासीन भएबापत पाइने लाभको सुविधा किन नलिने ? यस्तो सम्बन्ध राष्ट्रका निमित्त भने घातक हुन्छ । निर्माण ठेकदारको मेहरवानीमा घर प्राप्त गर्ने नेताकै कारणले गर्दा उक्त ठेकेदार निर्माण कार्यलाई अलपत्र परेर छोडेका छन् । निर्धारित मापदण्डभन्दा निम्न कोटीको निर्माण गरेमा पूर्ण भुक्तानी पाउँछन् । मलखाद आयात गर्न रकम लिन्छन् तर मलखाद आयात गर्न सक्दैनन् । त्यतिमात्र होइन– राष्ट्र कोभिड संक्रमणको त्रासले भयभित भएको अवस्थामा अग्रिम भुक्तानी लिने ठेकेदार औषधि उपचार सामग्री नल्याएर लाखौं लाख जनसाधारणको जीवन जोखिममा पु¥याउँछन् । भ्याक्सिनको कृत्रिम मूल्य अभिबृद्धि गरेर राष्ट्रलाई ठग्न अग्रसर हुन्छन् । आदि आदि ।

राजनैतिक परिवार सदस्यका निमित्त राजनैतिक आकांक्षा हुनु स्वाभाविक हो । त्यसैगरी तिनका परिवारका सदस्यले धन आर्जन गर्ने उद्देश्य राख्नु पनि किमर्थ अस्वाभाविक मान्न सकिन्न । तर राजनैतिक आकांक्षा पनि राख्ने तथा राजनैतिक शक्तिको आधारमा धन बटुलेर राजनैतिक भविष्य सुनिश्चित गर्ने प्रयास आपराधिक हो । मञ्चन भएको यस प्रकरणले प्रमपुत्रको भविष्यमा राजनैतिक जीवनयापन गर्ने उद्देश्य भएको भए त्यसलाई सुरुवातमै अन्तय गरिदिएको छ । देउवापुत्रको ‘दुवै हातमा लड्डु’ पर्ने यस कार्यमा तिनका अभिभावकको भूमिकाले निर्धारण गर्छ मैले गरेको डा. आरजुको मूल्यांकन । निश्चय पनि अभिभावकको संलग्नता बेगर युवा देउवाले यो पहलकदमी अघि बढाएका हुन् भने तिनलाई जीवनभर यस घोटालाले पछ्याउने निश्चित छ । यो अभ्यासले प्रमको राजनैतिक जीवनमा के कति असर पार्छ ? त्यो भविष्यले खुलासा गर्ने छ । सुशासनको अनुभूति दिन चुकेको नेपाली कांग्रेस दलका निमित्त यो प्रकरण अर्को ऐतिहासिक कालो धब्बा हुने निश्चित छ ।