काठमाण्डौ । आजदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले गएराति १२ बजेदेखि चालु आर्थिक वर्षको भुक्तानी निकासा रोक्न यसअघि नै सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाईहरुलाई निर्देशन दिएको थियो ।
प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार निर्देशन दिइएको महालेखा कार्यालयले जनाएको छ । महालेखा नियन्त्रक कार्यालयको निर्देशनअनुसार अस्ति शुक्रवार नै लेखा नियन्त्रक कार्यालय र इकाईहरुले आफ्नो प्रणाली बन्द गरिसकेका छन् । केही निश्चित प्रयोजनको बिल भने भुक्तानी हुने व्यवस्था नियमावलीमा छ ।
चालु आर्थिक वर्ष सकिन अब ७ दिन मात्रै बाँकी छ । सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म कुल १० खर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षमा कुल ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।
कार्यालयका अनुसार कुल लक्ष्यको ८४ दशमलव ७६ प्रतिशत बराबर राजस्व सङ्कलन भएको छ । त्यसमा कर राजस्व कुल ९ खर्ब २६ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबर सङ्कलन भएको छ । यो कुल लक्ष्यको ८६ दशमलव ७५ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षमा १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ बराबर कर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । बाँकी रहेको अवधिभित्र कर राजस्व तोकिए बराबर नै सङ्कलन हुने सरकारको विश्वास छ ।
प्रतिक्रिया