काठमाडौं । जापानमा पछिल्ला दुई दशकमा सबैभन्दा लोकप्रिय रहेका पूर्वप्रधानमन्त्री तथा लिवरल डेमोक्रेटिक पार्टीका नेता सिन्जो आबेको गोली हानी हत्या गरिएको छ । आसन्न संसदीय निर्वाचनको पूर्वसन्ध्यामा राजधानी टोकियो नजिकैको सहर नारामा आयोजित चुनावी सभालाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान आबेमाथि पछाडिबाट गोली प्रहार भएको थियो ।
दुई वटा गोली हानिएकोमा एउटा गोली लागेको थिएन भने दोस्रो गोलीले उनको छाती छेडेको थियो । भाषण गरिरहेका बेला गोली लागेर ढलेका आबेलाई प्राथमिक उपचारपछि तत्कालै हेलिकप्टरबाट उद्धार गरी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको निधन भयो ।
सन् २००६ मा पहिलो पटक जापानको प्रधानमन्त्री बनेका आबे २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बने भने उनी २०२० सम्म पदमा रहे । अन्तर्राष्ट्रिय सम्बन्ध सुधार तथा आर्थिक विकासमा उल्लेख्य काम गरेका आबे कार्यकाल बाँकी रहँदै स्वास्थ्यको समस्याका कारण पदबाट बाहिरिएका थिए । दोस्रो विश्वयुद्धपछि जापानमा सबैभन्दा बढी समय प्रधानमन्त्री बन्ने नेता आबे थिए भने सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने नेता पनि उनी नै थिए ।
आबे नेपालसँगको सम्बन्धका बारेमा सकारात्मक थिए । प्रधानमन्त्री रहेका बेला विभिन्न शीर्षकमा सहयोग गरेका आबेले लुम्बिनीलाई बौद्ध उद्गम स्थलको विकास गर्न जापानले सहयोग गर्ने वचन दिएका थिए । सन् २०१९ मा राष्ट्रपति विद्या भण्डारीको जापान भ्रमणका क्रममा पनि आबेले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाल सरकारले आबेको हत्याको निन्दा गरेको छ । कुनै पनि आतंकवादी क्रियाकलापलाई सहन नसक्ने नेपाल सरकारले स्पष्ट पारेको छ । आबेको निधनमा दुःख व्यक्त गर्दै नेपालले शनिबार शोक मनाएको छ ।
प्रतिक्रिया