काठमाडौँ – बेलायतमा मन्त्रीसहित विभिन्न जिम्मेवारी सम्हालेका सल्लाहकारले राजीनामा दिएका छन् ।
सरकारका प्रभावशाली केही मन्त्री तथा सल्लाहकार गरी ४० जनाभन्दा धेरैले राजीनामा दिएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसन दबाबमा परेका छन् ।
अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेदले राजीनामा गरेको २४ घण्टा बित्न नपाउँदै जोनसनको साथ छोड्ने मन्त्री र सल्लाहकारको सङ्ख्या ४० भन्दा धेरै पुगेको बीबीसीले जनाएको छ ।
आफ्नै मन्त्रिपरिषद्का मन्त्री र सल्लाहकारले नै राजीनामा दिएपछि प्रधानमन्त्री जोनसन दबाबमा परेको हो । उनको कन्जरभेटिभ पार्टीभित्र र बाहिरबाट राजीनामा माग गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
गृहमन्त्री प्रीति पटेललगायतले अनौपचारिक रूपमा भेटेर राजीनामा दिन सुझाए पनि जोनसन त्यसका लागि तयार नभएको खबरमा उल्लेख छ । बेलायतमा राजनीतिक सङ्कट गहिरिएको छ । प्रधानमन्त्री जोनसनको कार्यशैलीप्रति चर्को आलोचना हुँदै आएको छ । तर उनले सन् २०१९ को चुनावले दिएको जनादेश आफूसँग रहेको भन्दै मन्त्रीहरु परिवर्तनले जनादेश नगुम्ने बताएका छन् ।
सत्तारुढ दल कन्जरभेटिभ भित्रै प्रधानमन्त्री जोनसनको विकल्प खोज्न यसअघि ल्याइएको अविश्वास प्रस्ताव विफल भएको थियो । अहिलेको नियम अनुसार उहाँले एक वर्षका लागि अर्को त्यस्तो चुनौतीको सामना गर्नुपर्ने छैन । तर अर्को अविश्वास प्रस्तावका लागि पार्टीको विधान परिवर्तन गर्ने प्रयास भइरहेको छ ।
बीबीसीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले क्रिस पिन्चरविरुद्ध लागेको यौन दुर्व्यवहारसम्बन्धी आरोपबारे जानकारी हुँदाहुँदै पनि आफूले सहायक प्रमुख सचेतक नियुक्त गर्नु गल्ती भएको स्वीकार गरेका छन् । जोनसनले गल्ती स्वीकार गरेपछि राजनीतिले नयाँ मोड लिएको हो ।
प्रतिक्रिया