देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस कहिल्यै व्यवस्थित र संगठित हुन सकेन


१४औं महाधिवेशन सकिएको ६ महिना पूरा हुँदै गर्दा नेपाली कांग्रेसको आन्तरिक विवाद फेरि छताछुल्ल हुन पुगेको छ । नेतृत्वले पार्टीमा सबैलाई समेटेर सन्तुलित एवम् वैधानिक रूपमा पार्टी सञ्चालन नगरी स्वेच्छाचारी ढंगले पार्टी चलाएको कारणले नै नेपाली कांग्रेसमा फेरि विरोध र विद्रोहको स्वर सुनिएको हो ।

प्रजातन्त्र बलियो हुन, राजनीतिक स्थायित्वसहित देश प्रगतिको मार्गमा अगाडि बढ्नका लागि मुलुकका सबै राजनीतिक दलहरू ढंगसँग चल्नुपर्दछ भन्नेमा कुनै द्विविधा रहेन । त्यसका लागि अनुशासित कार्यकर्ता पंक्ति एवमं सबल नेतृत्वका साथै पार्टीले विधानलाई राम्रोसँग पालना गरेको हुनु पर्दछ । हाम्रो दुर्भाग्य, नेपालका सबै राजनीतिक दल यसरी चलेको देखिन्न । अरू दल जे जसरी चले पनि कमसेकम नेपाली कांग्रेस ठीकठाकसँग चल्नु पर्दथ्यो । देशको प्रजातान्त्रिक आन्दोलनको प्रमुख अथोरिटी नेपाली कांग्रेस पार्टीसमेत विधान र विधिअनुसार चल्दैन भने कम्युनिस्ट पार्टीसहित अन्य पार्टीबाट विधि, पद्धति र प्रजातान्त्रिक संस्कार र संस्कृतिको के अपेक्षा राख्ने ! देशको प्रजातान्त्रिक आन्दोलनको धरोहर, सात दशक लामो सबैभन्दा पुरानो ऐतिहासिक दल नेपाली कांग्रेसले विधि र पद्धतिलाई पछ्याउँदैन र पाटी नेताको स्वेच्छाचारितामा सञ्चालन हुन्छ भने देशको प्रजातान्त्रिक आन्दोलनको भविष्य कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । भारी मनले भन्नै पर्छ, नेपाली कांग्रेस वर्षौंदेखि यस्तै प्रवृत्तिबाट चलिरहेको छ ।

पहिलो कार्यकाल विधानसम्मत पार्टी सञ्चालन गर्न नसकेको आरोप खेपेका देउवाले १४ महाधिवेशनबाट सभापति निर्वाचित भैसके पछि महाधिवेशनमा कार्यकर्ता सामु आफैंले गरेको प्रतिबद्धताअनुसार पार्टीलाई सञ्चालन गर्न सकिरहेका छैनन् ।

नेपाली कांग्रेस पार्टी केवल एउटा राजनीतिक दल मात्र थिएन । यो त दलहरूको पनि दल थियो, यो सबै राजनीतिक दल र प्रजातान्त्रिक पद्धतिकै अभिभावक थियो । देशमा प्रजातन्त्र सुदृढ हुन केवल एउटा नेपाली कांग्रेस आफू मात्र बलियो र संगठित भएर पुग्दैन, अन्य प्रजातान्त्रिक संस्था र प्रजातान्त्रिक दलहरूलाई पनि संगठित वनाउने र बाटो देखाउने काम नेपाली कांग्रेसले गर्नुपथ्र्यो तर विडम्बना त्यो अभिभावकीय जिम्मेवारी निर्वाह गर्न कांग्रेस चुक्यो । कांग्रेस आफैं कहिल्यै समयानुकूल रूपमा व्यवस्थित र संगठित हुन सकेन ।
नेपाली कांग्रेस प्रजातन्त्रको लडाइँमा संघर्ष गर्न र नेतृत्व गर्न भने सधैं अब्बल रहँदै आएको छ । २००७ सालको जनक्रान्ति, पञ्चायत व्यवस्था विरुद्धको आन्दोलन र पछिल्लो राजाको निरंकुश कदमका विरुद्ध प्रजातन्त्र पुनर्बहालीको लागि भएको आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले नै गरेको हो । तर क्रान्ति र आन्दोलन पछि प्रजातन्त्रलाई संस्थागत गर्न र देशलाई अगाडि बढाउन भने नेपाली कांग्रेस सफल बन्न सकेन, पटकपटक चुक्दै आएको छ । नेपालमा प्रजातन्त्रले स्थायित्व नपाउनु वा प्रजातान्त्रिक शासन व्यवस्था असफल बन्नुमा बाह्य र आन्तरिक दुवै कारण छन् तर ती सबै चुनौतीलाई छिचोलेर प्रजातन्त्रको साथै सिंगो राजनीतिलाई स्थायित्व दिने कुरामा नेपाली कांग्रेस आजसम्म पनि सफल बन्न सकेको छैन । अहिलेमात्र हैन, २०४६ सालको राजनीतिक परिवर्तन पछिदेखि नै नेपाली कांग्रेस ढंगसँग नचल्दा, पार्टी नेतृत्व सत्ताको आन्तरिक द्वन्द्वमा फस्दा नेपाली कांग्रेस प्रजातन्त्रलाई सुदृढतासँगै देशको सफल नेतृत्व गर्दै अगाडि बढ्न असफल बन्दै आएको छ । कांग्रेसकै वैचारिक एवं सांगठनिक कमजोरीकै परिणाम देशमा प्रजातान्त्रिक दल र संस्था कमजोर बन्ने र कम्युनिस्ट अधिनायकवादी शक्ति बलियो हुने अवस्था आएको हो । त्यसैको परिणाम यतिका सफल प्रजातान्त्रिक क्रान्ति र आन्दोलन एवम् शान्ति प्रक्रिया र संविधानसभाबाट संविधान निर्माणको नेतृत्व गरेर पनि नेपाली कांग्रेस कमजोर वन्दै गएको छ, जनतामा लोकप्रिय वन्न सकेको छैन । कुनै पनि तहको निर्वाचनमा कम्युनिस्ट शक्तिभन्दा पछाडि पर्दै आएको छ ।

१३औं महाधिवेशनबाट पहिलो पटक नेपाली कांग्रेसको सभापति निर्वाचित भएर आएका शेरबहादुर देउवा १४औं महाधिवशनबाट पुनः थप शक्तिकासाथ सभापतिमा निर्वाचित भएर आएका छन् । पहिलो कार्यकाल विधानसम्मत पार्टी सञ्चालन गर्न नसकेको आरोप खेपेका देउवाले १४ महाधिवेशनबाट सभापति निर्वाचित भैसके पछि महाधिवेशनमा कार्यकर्ता सामु आफैंले गरेको प्रतिबद्धताअनुसार पार्टीलाई सञ्चालन गर्न सकिरहेका छैनन् । यसै क्रममा पछिल्लो महाधिवेशनमा देउवालाई सभापति पदमा कडा टक्कर दिएका शेखर कोइराला समूह पार्टीको आसन्न केन्द्रीय कार्यसमिति बैठकलाई ध्यानमा राखेर पार्टीलाई विधानसम्मत ढंगले हिँडाउन दबाब दिने उद्देश्यले आफ्नो समूहको भेटघाट र बैठकलाई तीव्रता दिएको छ ।

२०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रोसँग पराजय भोगेर संसद्मा कमजोर प्रमुख प्रतिपक्षको स्थितिमा रहेको अवस्थामा सत्तारूढ दल नेकपाभित्र आन्तरिक द्वन्द्व बढेर पार्टी विभाजित भएपछि पाँचौं पटक प्रधानमन्त्री वन्ने सौभाग्य पाएका देउवालाई निश्चय नै त्यो अवसरले दोस्रो पटक पार्टी सभापति बन्नसमेत सहज भयो ।

निश्चय नै गर्नु पर्ने धेरै कुरा छन्, पार्टीको नियमित बैठकसम्म बसेको छैन । पार्टी संस्थापन पक्ष जिम्मेवार देखिएको छैन । महाधिवेशनमा सम्मानजनक स्थान ल्याएको शेखर समूहलाई बेवास्ता गरेको देखिन्छ ।

प्रधानमन्त्री बनेपछि आफ्नो सम्पूर्ण ध्यान र शक्ति पुनः पार्टी सभापति बन्नका लागि लगाएका देउवाले पार्टी सभापतिमा निर्वाचित भैसकेपछि पार्टी सञ्चालनमा आफ्नो ध्यान र समय दिन सकिरहेको देखिन्न । निश्चयः नै यसबीचमा स्थानीय तहको निर्वाचन परेकोले त्यसलाई समय दिन पर्‍यो तर स्थानीय तहको निर्वाचन सकिएको पनि दुई महिना पुग्न लागिसक्यो । पार्टी विधान बमोजिम केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने, कोषाध्यक्षको नियुक्ति, संसदीय समिति, विभागलगायतका समितिहरू गठन गरी पार्टीलाई गतिशील बनाउनुपर्ने, पछिल्लो महाधिवेशनको निर्देशनअनुसार नीति महाअधिवेशन बैठक बोलाउन तत्परता देखाउनुपर्ने लगायतको जिम्मेवारी निर्वाह गर्नबाट चुक्दै गएको अवस्थामा उपरोक्त विषयलाई लिएर आउँदो कार्यसमिति बैठकमा तयारीसाथ प्रस्तुत हुन डा. शेखर कोइराला समूहको सक्रियतालाई संस्थापन पक्षले भने जस्तो नाजायज भन्न मिल्दैन ।

पार्टीभित्रको वेथिति, अनियमितता र विधान पालना गर्ने गराउने विषयमा पार्टीको कार्यकर्ताले नेतृत्वको ध्यान आकर्षित गर्नु, दबाब सिर्जना गर्नु र आवश्यक परे विरोध गर्नुलाई नाजायज गतिविधि भन्न मिल्दैन । जीवन्त प्रजातान्त्रिक पार्टीमा यो स्वाभाविक गतिविधि हो । शेखर कोइराला समूहले अहिले अन्तर पार्टी मामिलामा उठाएका विषय मनन्योग्य विषय हुन भन्नेमा शंका छैन । तर पार्टीभित्रको विषयलाई क्रमिक रूपमा केन्द्रीय कार्यसमिति र पार्टी नेतृत्वलाई दबाब दिंदै जानु पर्नेमा एकै पटक खुल्ला गुटगत भेला आयोजना गर्ने बेला भैसकेको थिएन भन्नेहरूको विचार पनि मनन्योग्य छ । निश्चय नै गर्नु पर्ने धेरै कुरा छन्, पार्टीको नियमित बैठकसम्म बसेको छैन । पार्टी संस्थापन पक्ष जिम्मेवार देखिएको छैन । महाधिवेशनमा सम्मानजनक स्थान ल्याएको शेखर समूहलाई बेवास्ता गरेको देखिन्छ । निर्वाचित उपसभापति र महामन्त्रीलाई समेत जिम्मेवारी नदिएको र बेवास्ता गरेको अनुभूति हुन्छ । निर्वाचनमा पराजितलाई केन्द्रीय समितिमा मनोनीत गरेर उनैलाई जिम्मेवारी दिइएको छ । निर्वाचित पदाधिकारी र सदस्यहरूलाई भूमिकाहीन बनाइएको छ ।

चार महिनापछि संघ र प्रदेशको निर्वाचन आउँदै छ । स्थानीय निर्वाचन त सत्ता घटक दलसँग तालमेल गरेर लड्यौं । कम्युनिस्ट शक्ति कुनै पनि बेला एक हुन सक्छन्, त्यसको प्रयास पनि भैरहेको छ । यस्तो अवस्थामा पार्टीका सबै पक्षलाई मिलाएर एक भएर निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने खाँचो छ । संस्थापन पक्षले अहिले जस्तै आफ्ना प्रतिस्पर्धी र विरोधहरूलाई पेलेर नै एकपक्षीय ढंगले पार्टी चलाउने हो निर्वाचनको नतिजा कांग्रेसको पक्षमा नआउन सक्छ । यस्तो अवस्थामा पार्टी नेतृत्वलाई दबाब दिन जरुरी भैसकेको थियो । आफ्नो समूहको केन्द्रीय कार्यसमितिका साथीहरू गोप्यसँग बसेर केन्द्रीय कार्यसमितिमा के के मुद्दा उठाउने र कसरी प्रस्तुत हुने भनेर रणनीति तय गर्न सकिन्छ तर प्रारम्भमै कार्यसमिति भन्दा बाहिरका कार्यकर्ताहरूलाई बोलाएर मुद्दा र बहसलाई सार्वजनिक गरिहाल्न भने जरुरी थिएन, यो सन्दर्भमा शेखर समूह चुकेको छ । ठीक छ, प्रयास गर्दै जाँदा नेतृत्वले सुनेन भने विद्रोह गर्नुपर्ने अवस्था पनि आउन सक्छ तर त्यसको पनि सिलसिला र प्रक्रिया त हुन्छ नि ।

नेपाली कांग्रेसमा सभापतिका हैसियतमा देउवाको अन्तिम कार्यकाल हो । पार्टी फुटाएर गएको भए तापनि दुई दुई पटक सिंगो नेपाली कांग्रेसको नेतृत्व गर्ने अवसर मिलेको छ । इतिहासले पटकपटक प्रधानमन्त्रीका हैसियतमा देशको नेतृत्व गर्ने अवसर दिएको छ । पार्टी सभापति र देशको प्रधानमन्त्रीको हैसियतबाट इतिहासमा अमर बन्ने अवसर अझै बाँकी छ । पार्टी सभापति र प्रधानमन्त्रीका हैसियतमा चीरकालसम्म देश र जनताले सम्झननायक बन्नका लागि पहिले पार्टीका सबै साथीहरूलाई मिलाएर जना जरुरी हुन्छ । पार्टीलाई विधान र नीतिअनुसार ढंगसँग चलाउन जरुरी छ । पार्टीको सबै साथीहरूको साथले नै सफल प्रधानमन्त्री पनि बनिने हो । अन्यथा कति पटक पार्टी सभापति र प्रधानमन्त्री बनियो भन्ने कुराले जनतामा केही अर्थ राख्दैन । अर्थ त देश र जनताको पक्षमा के गरियो भन्ने कुराले नै अर्थ राख्छ । समय अझै छ, पार्टी नेतृत्व गम्भीर बनेर विवेकशील निर्णयका साथ अगाडि बढोस् । बस, आम कार्यकर्ताले यति खोजेका छन् ।