देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापतिले सबैलाई समेटेर चलाउन सक्नु भएन 

देशान्तर

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाएका छन् । सभापति देउवाले १३औं महाधिवेशनदेखि १४औं महाधिवेशनपछि पनि आफ्नो कार्यशैलीमा सुधार नगरेको बताउँदै यसले नेपाली कांग्रेसलाई नै घाटा पुग्ने बताए । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै नेता घिमिरेले विधानअनुसार पार्टी सञ्चालन गरभन्दा आफूहरूलाई विरोधीको बिल्ला लगाउने गरेको टिप्पणी गरे । आसन्न केन्द्रीय समितिको बैठकमा आफूहरूले पार्टी सञ्चालन र आसन्न चुनावको विषयमा छलफल गर्नुका साथै स्थानीय तहको निर्वाचनको समीक्षा गर्ने पनि बताए । घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश ।

नेपाली कांग्रेसमा गुटगत भेलाहरू सुरु भएका हुन् ?
नेपाली कांग्रेसमा गुटगत भेलाहरू हुने भनेको सनातन परम्परा जस्तै भएको छ । पार्टीभित्र रहेका प्रतिस्पर्धी समूहरूले आ—आफ्नो भेला राख्ने, पार्टीभित्रका गतिविधिहरूको बारेमा समीक्षा गर्ने, आफूलाई लागेको कुराहरू पार्टी नेतृत्वलाई भन्ने यी सबै कुराहरू हाम्रा परम्परागत अभ्यासका रूपमा स्थापित छन् ।

महाधिवेशनपछि यस्ता गुटहरू हुँदैनन् त सबैले भन्या होइन ?
सबैले चाहेको कुरा के हो भने महाधिवेशनमा प्रतिस्पर्धाको दौरानमा गुटहरू, प्यानल र समूह आवश्यक हुन्छ । आफ्नो पक्षमा जनमतलाई एकीकृत गर्नका लागि पनि त्यस्ता समूह र गुटहरू चाहिन्छन्, त्यो भनेको प्रतिस्पर्धाको चरणमा मात्रै हुनुपर्छ । प्रतिस्पर्धा सकिएपछि यस्ता गुटहरूलाई निरन्तर अगाडि बढाउने र अस्वस्थ खालका गतिविधिहरू अगाडि बढाउने काम राम्रो हुँदैन । तर नेपालको राजनीतिक व्यवहारमा यो देखिएको छैन । यहाँ एक प्रकारको गुट महाधिवेशनको बेलामा मात्रै नभई अरुबेला पनि पार्टीको आन्तरिक जीवनमा संस्थागत भएर अगाडि बढ्ने देखिएको छ ।

तपाईंहरूका भेला त पार्टी यसरी चल्यो, पदाधिकारी यसरी चले भनेर आलोचना गर्नका लागि केन्द्रित भए, यसले कांग्रेसलाई फाइदा गर्छ त ?
हाम्रो पार्टीलाई चलाउने जुन पद्धति छ । त्यही पद्धतिअनुसार प्रक्रिया पनि निदृष्ट गरिएको छ । एउटा हाम्रो परम्परागत अभ्यास छ । स्थापित विधिको हामीले निष्ठापूर्वक अभ्यास गर्दैनौं । १३औं महाधिवेशनदेखि १४औं महाधिवेशनसम्म आइपुग्दाखेरि हाम्रो तितो अनुभव छ । त्यो बेलाका अभ्यास विधिसम्मत भएनन् । त्यसकारण हाम्रो यात्रा सुखद् भएन । १४औं महाधिवेशनमा यो कुरा उठ्यो । १४औं महाधिवेनपछि पार्टी विधिसम्मत तरिकाले अघि बढ्छ, विधानको प्रबन्धलाई हामीले निष्ठापूर्वक अभ्यास गर्छौं । त्यो प्रक्रियालाई अपनाएर विधानका व्यवस्थाअनुसार चल्छ भनिएको थियो । तर अहिले केन्द्रीय कार्यसमितिको पूर्णता, विभागका साथै अन्य समितिहरूको पनि पूर्णता दिनुपर्ने थियो । पदाधिकारीहरूको मनोनयनको विषय विधानको धारा ६० ले महाधिवेशन सकिएको ६ महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था गरेको छ । अझ कोषाध्यक्ष त तीन महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था गरेको छ । तर, ६ महिना पूरा हुँदा पनि हामीले ती कुराहरू गर्न सकेनौं । अहिले थालनी भयो भनेर मात्रै हुँदैन । ६ महिनाभित्र गरिसक्नु पर्छ । किटानीका साथ पूर्णता दिइसक्नु पर्ने, गरिसक्नु पर्ने उल्लेख भएको हुनाले ६ महिनाभित्र कुनै काम यसो थालनी गरेर पूरा गर्छौं भन्न मिल्दैन ।
त्यसैले विधानअनुसार यी कामहरू भएनन् । अर्को कुरा १० वटा भ्रातृ संस्थाको नेतृत्व खाली थियो । सुरुमा २ वटा र पछि २ वटा गरी ४ वटा सभापतिले बनाउनुभयो । यति महत्वपूर्ण भ्रातृ संस्थाहरू गठन गर्दा वा सभापति मनोनयन गर्दा एक पटक पनि परामर्श गर्ने काम सभापतिबाट भएन । ठीक छ, सभापतिले आफूलाई लागेको विषय नै निर्णयमा पुर्‍याउनु हुन्थ्यो होला, तर एक पटक परामर्श पनि त गर्नुपर्ने थियो । जस्तो नेविसंघ गठन गर्दा नेविसंघमा काम गरेका नेता तथा साथीहरू जो अहिले पार्टीको मुख्य भूमिकामा रहेकाहरूसँग पनि परामर्श भएन भन्ने कुरा हामीले सुन्यौं । तरुण दल गठन गर्दा पनि हामीले त्यही सुन्यौं । अहिले पछिल्लो समय किसान संघ र नेपाल आदिवासी जनजाति संघ गठन गर्दा पनि त्यस्तै भयो भन्ने कुरा हामीले सुन्यौं । यो त हाम्रो पार्टीको परम्परा विपरीतको कुरा हो । पार्टीका भ्रातृ संस्थाहरूको पनि समयमा अधिवेशन गर्न नसकेर ती कमजोरी गरेका छौं । त्यसबाट हामीले असाध्यै ठूलो क्षति पनि व्यहोरका छौं । विद्यार्थी तथा युवाहरूको ठूलो जमात पार्टीको सम्पर्कमा आउन असफल भएको छ ।

युवा तथा विद्यार्थीलाई नेतृत्वमा आउन त विधानमै उमेर तोकेर बन्देज लगाउनु भएको होइन र ?
उमेरहद लगाउने कुरा त सही हो । विद्यार्थी भएर संगठनको नेतृत्व गर्ने उमेर ३२ वर्ष भनेको एकदमै धेरै हो । अन्तर्राष्ट्रिय अभ्यासहरू हेर्नु भयो भने २७–२८ वर्षभन्दा माथि विद्यार्थीको सदस्यता पनि लिन पाइँदैन । वल्लबल्ल २८ वर्षको उमेर विश्वविद्यालयको विनियममा आयो । त्यो पनि स्ववियु निर्वाचनका लागि  । भनेको, पढिरहेका विद्यार्थीलाई नेतृत्व दिने कुरा वैज्ञानिक नै हो ।

पार्टी विधिसम्मत तरिकाले चलेन भनेर होटेलमा बसेर निष्कर्ष निकाल्नुभन्दा त सभापतिलाई भेटेर असन्तुष्टि जनाएको भए हुने ?
पार्टीका पदाधिकारीहरूले सभापतिसँग बारम्बार कुरा गरेको कुरा हामीले सुनेकै छौं । मूल कुरा पार्टी चलाउने मूल दायित्व सभापतिको हो । पार्टी सभापतिले नै आवश्यकता हेरेर नेताहरूसँग परामर्श गर्नुपर्ने, सल्लाह गर्नुपर्ने काम गर्नुपर्ने थियो । त्यसो गर्नु भएकै छैन । नौ लाख क्रियाशील सदस्यहरूको अभिभावक सभापति हो । पार्टी सञ्चालन गर्ने विषय नौ लाख सदस्यको चासोको विषय हो । सभापतिको निजी मामिला होइन ।
पछिल्लो समय गुटगत भेला भनेको सभापतिले यहाँ यहाँ कमजोरी गर्नुभयो, यी कुराहरू सच्याउनु पर्छ भनेर भएको हो ।

तपाईंहरूको भेला सभापतिलाई करेक्सन गर्नका लागि सुझाव दिनलाई ?
सभापतिलाई राम्रो बाटोमा हिँडाउनका लागि खबरदारी गर्नु पनि उहाँलाई सहयोग नै हो ।

तर अर्को पक्षले तपाईंहरूलाई यो बार्गेनिङ गर्नका लागि गरिएको भेला भन्छ ?
जसले जसरी बुझ्छ, त्यो उसको कुरा भयो । हामीले त्यसरी गरेका छैनौं । तर हाम्रो प्रयत्न के हो भने अहिलेको अवस्थामा नेपाली कांग्रेस पार्टी राम्रोसँग चलेन । सभापतिले सबैलाई समेटेर पार्टी चलाउन सक्नु भएन । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा अहिलेसम्म १३ जना मनोनयन गर्नुभयो, ती १३ जना आफूलाई महाधिवेशनमा मत हाल्नेलाई मात्रै केन्द्रीय कार्यसमितिमा ल्याउनु भयो । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत हालेको समूहको नेतासँग कुनै परामर्श गर्नु भएन । पार्टी त शतप्रतिशत होला । ४० प्रतिशत मत प्राप्त गरेका शेखर कोइरालालाई बेवास्ता गरेर पार्टीले कस्तो परिणाम हासिल गर्न खोजेको, हिजो १३औं देखि १४औंसम्म आउँदाखेरि सुखद छाप छोड्न सक्नु भएन । अहिले १४औं पछि पनि त्यही पद चिह्नमा हिँड्न थाल्नु भयो ।

तपाईंहरूले विगत र वर्तमानका सभापतिबाट परिवर्तनको महसुस गर्नु भएन ?
अहिलेसम्म कुनै पनि अनुभव गर्न पाइएको छैन । सरकार चलाउँदा पनि सरकार एकलौटी । नेपाली कांग्रेस नेतृत्वमा सरकार छ, तर आमकार्यकर्ताले त्यसको अनुभूति गर्न पाएका छैनन् ।

नेपाली राजनीतिमा गुट उपगुटहरू हुने, टुटफुट र बेमेलका कुराहरू आइरहन्छन्, यसले नेपाली राजनीतिलाई फाइदा गर्छ त ?
हामी अहिले इतिहासको गम्भीर मोडमा उभिएका छौं । समग्र नेपाली राजनीतिको यात्रा क्रमलाई समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छौं । २०४६ सालमा हामीले प्रजातन्त्र पुनस्र्थापना गर्‍यौं । प्रजातन्त्र पुनस्र्थापना गरेर हामीले के भन्यौ भने ‘निरंकुश पञ्चायती व्यवस्थालाई फाल्यौं, अव प्रजातन्त्र आयो, अब मुलुकको सम्पूर्ण समाज व्यवस्था र यहाँको राजनीतिक सबै ठीकठाक हुन्छ, जनताले गुनासो गर्नु पर्दैन, जनतामाथि अन्याय हुँदैन विकासको गति अघि बढ्छ र प्रगतिको ठाउँमा पुर्‍याउँछौं भन्यौं ।’ यो बीचमा संसदीय राजनीतिमा के कस्ता कमीकमजोरी र गन्जागोलहरू भए त्यसको हामी भुक्तभोगी नै हौं । सबैभन्दा बढी भोग्ने पुस्ता हाम्रो नै हो । यहीबीचमा माओवादीको सशस्त्र हिंसात्मक विद्रोहको पनि सुरु भयो । त्यसले मुलुकको १० वर्षको बहुमूल्य समयलाई पनि नियन्त्रणमा लियो । २०६२–०६३ को आन्दोलनमार्फत हामीले राजालाई पनि हटायौं, संघीय लोकतान्त्रिक शासन व्यवस्था पनि स्थापना गर्‍यौं ।

२०६५ साल जेठ १५ बाट गणना गर्ने हो भने १५ वर्षभन्दा बढी नै भयो । उताको १५ र यताको १५ गरी ३० वर्ष अर्थात् तीन दशकको बहुमूल्य समय खर्च गर्दा परिणाम के त ? यो बीचमा जनताले आहा भन्ने के कुरा गर्‍यौं त? पूर्वाधारमा कीर्तिमान कायम गर्‍यौं कि ? समाजमा एउटा ‘हार्मोनी’ सहिष्णुता कायम गर्न सक्यौं कि ? मानव संसाधनका होनहार युवाहरूलाई विदेश पलायन रोक्यौं कि ? त्यसैले हामीले राजनीतिकरूपमा गम्भीर समीक्षा गर्ने बेला आएको छ । अहिले हामी विदेशी मुद्रा सकिएर देशमा विकराल आर्थिक संकट आउने अवस्थामा मुलुक पुगेको छ । श्रीलंकाले अहिले एउटा चकलेट पनि आयात गर्न सक्दैन, त्यस्तो अवस्थामा श्रीलंका पुगिसकेको छ । त्यस्तै बाटोमा नेपाल पनि पुग्दै त छैन यसमा समीक्षा आवश्यक छ । अहिले पनि हामी सुध्रिएका छैनौं । पार्टी कसरी चल्या छ, देश कसरी चलेको छ त्यसको बारेमा छलफल गरौं भनेको हो । पार्टी राम्रोसँग चलाउभन्दा विरोध गर्‍यो भनेर आरोप लगाउँछन् ।  अहिले अब संसदीय चुनाव आउँदै छ । यो सबै मिलेर चुनाव सफल बनाउन र पार्टीलाई जिताउनका लागि सबै एक ढिक्का बनाउने काम त सभापतिको हो ।

असार २७ मा केन्द्रीय समितिको बैठक बस्दै छ, तपाईंहरू कसरी प्रस्तुत हुनुहुन्छ ?
हामीले केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीले विधान पालना नगरेको कुरा, भ्रातृ संस्थाको विषयमा यसअघि भएको निर्णय कार्यान्वयनका कुरा, सरकार सञ्चालन गर्दा कुनै पनि लोकप्रियता हासिल गर्न नसकेको कुरा र आगामी निर्वाचनमा नेपाली कांग्रेसमा युवाहरूलाई आकर्षित गर्ने कुराहरू गर्न नसकेको विषय हामीले उठाउँछौं ।

स्थानीय तहको नतिजाप्रति तपाईंको विश्लेषण ?
यो स्थानीय तहको निर्वाचनमा हामीले गठबन्धन नगरेर एक्लै प्रतिस्पर्धा गरेको भए अहिलेको भन्दा धेरै सिट प्राप्त गर्ने थियौं, सिधा कुरा छ । हामीले गठबन्धन गरेको भन्दा नगरेको बढी ठाउँमा जितेका छौं । दुई सयभन्दा बढी त गठबन्धन नगरेका ठाउँमा जितेका छौं । कुनै पनि ठाउँमा गठबन्धन नगरेको भए हाम्रो संख्या धेरै नै हुने थियो । अहिले हामीले ३२९ ठाउँमा जित निकालेका छौं गठबन्धन गर्दा यो संख्या त न्यून हो ।

तपाईंहरूले गठबन्धन नगरेको भए जम्मै कम्युनिस्ट पार्टी एकातिर हुन्थे होला, तपाईंहरूको हालत त विगतकै जस्तो हुन्थ्यो होला, यसरी पनि सोँच्ने कि ?
उनीहरूको कुनै पनि हालतमा गठबन्धन हुँदैनथ्यो । उनीहरूका बीचका तिक्ताको स्तर जुन हिसाबको छ त्यसले गर्दा पनि हुँदैनथ्यो । यदि उनीहरू (कम्युनिस्टहरू)को गठबन्धनलाई नेपाली जनताले नौटंकीको रूपमा हेर्थे । हिजो गठबन्धन गरेर सरकार चलाउँदा जुन गाईजात्रा देखाए त्यही दुःखद् घटनाबाट गुज्रिएर आएका कारण पनि मतदाताले कम्युनिस्टलाई मत हाल्ने अवस्था पटक्कै बन्ने थिएन ।

जम्मै पार्टीले घात, अन्तरघातका कुरा गर्छन्, गठबन्धनमा रहेको एकीकृत समाजवादीलाई कांग्रेस र माओवादीले धोका दियो भन्छन् त ?
हामीले गठबन्धन गरिदिएर माओवादीले चितवन र एकीकृत समाजवादीले पोखरा र हेटौंडा त जितेका हुन् नि । हामीले नै चितवन र पोखरामा गठबन्धन गरेर नै जिताएका हौं । तर हामीले गठबन्धन गरेर काठमाडौं महानगरमा के फाइदा भयो मेयर त हार्‍यौं । धरान गुमायौं, विराटनगरमा जेनतेन मेयर जिते पनि उपमेयर गठबन्धनले हार्‍यो. यसैगरी धनगढी, धरानलगायतमा पनि हामीले गुमाएका छौं । त्यसैले यो गठबन्धनको अभ्यास सुखद रहेन । राष्ट्रिय राजनीतिमा सरकार चलाउनका लागि गाह्रोसाह्रो हुँदा गठबन्धन हुने कुरा अन्तर्राष्ट्रिय प्रचलन पनि छ । तर स्थानीय तहमै गठबन्धन गरिदिने । स्थानीय तह भनेको त दलहरूकै परीक्षण हुने ठाउँ हो । गठबन्धन गर्दा पार्टीको लोकप्रियता, उम्मेदवारको लोकप्रियता नै परीक्षण गर्ने ठाउँ दिएनौं ।

अब कसरी करेक्सन गर्ने, संघ र प्रदेशको चुनाव आउँदै छ ?
हामीले स्थानीय तहको निर्वाचनमा कमजोरी गरेका छौं । यो गठबन्धलाई चिरकालसम्म लैजान हुँदैन ।
संघ र प्रदेश चुनावमा गठबन्धन भनिएको छ नि ?
व्यक्तिगत रूपमा भन्नुहुन्छ भने म गठबन्धनको पक्षमा हिजो पनि थिइनँ र आज पनि छैन । पार्टीले गठबन्धन गर्ने निर्णय गर्‍यो । त्यसलाई हामीले मान्यौं । पार्टीले अब पनि गठबन्धन गर्ला त्यो पनि मान्नै पर्ने बाध्यता छ । त्योभन्दा अर्को उपाय हामीसँग छैन । तर यो प्रत्युपादक नै हुनेवाला छ । आम मतदाताको मनोविज्ञान हामीले बुझिसकेका छौं । भोलि गठबन्धन गरिहाल्यौं भने जादुको छडी लगाएको जस्तो चमत्कार हुनेवाला छैन ।

तपाईंले स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नुभयो रे हो ?
योभन्दा हास्यास्पद कुरा के हुन सक्छ र । म माथि त हिजोदेखि नै षड्यन्त्र हुँदै आएको छ यो विषयमा धेरै चर्चा नै मैले गर्न पर्दैन । अहिलेको प्रकरण भनेको मेरो चरित्र हत्या गरेर गुरुराज घिमिरेलाई क्षति गर्न सकिन्छ कि भन्ने मानसिकता मात्रै हो ।

यो प्रकरणलाई आसन्न चुनावमा उम्मेदवार बन्नका लागि रोक्न खोजिएको हो भनेर बुझ्दा हुन्छ ?
त्यस्तो गर्नु भएको हो भने यो पनि हास्यास्पद नै हो । जुन कोसिस उहाँहरूले गर्दै हुनुहुन्छ, निरर्थक प्रयास मात्रै हो भन्छु म । हामी कसरी पार्टीलाई बलियो बनाउन सकिन्छ, पार्टीको पक्षमा परिणाम निकाल्न सकिन्छ भनेर हिँडेको हुँदा यस्ता झिनामसिना कुराहरूले केही पनि फरक पार्दैन । तर पार्टीका केही मित्रहरू यस्तैयस्तै काममा लाग्नु भएको छ । उहाँहरूलाई पार्टीलाई बलियो बनाउनु पनि छैन । उहाँहरूमा पार्टीलाई लोकप्रिय बनाएर नेपालको राजनीतिमा योगदान गर्ने कुनै पनि चिन्तन छैन । त्यसो भएको हुनाले संकीर्ण चिन्तन भएका र छुद्र स्वार्थ भएकाहरू अहिले यो काममा लागेका छन् ।

सरकारको समीक्षा गर्दा, सफल कि असफल ?
अहिलेको सरकारले चमत्कारिक कामहरू गर्न सकेको छैन । हिजो केपी ओली नेतृत्वको सरकारले ज्यादती गरेको थियो, त्यो ज्यादतीलाई रोक्ने काम यो सरकारले गरेको छ । कोभिडका सन्दर्भमा खोप ल्याउनेदेखि लिएर, राज्य सञ्चालनमा केपी ओलीको प्रभुत्वबाट मुक्त गर्ने काम यो सरकारले गर्‍यो । अहिले इन्धनको मूल्य घटाए पनि त्यो बेला र अहिले कति बढेको छ यो बारेमा सबै जानकार छौं । साथै सरकार सञ्चालनका कामहरू चित्तबुझ्दो देखिँदैन । सरकारले महँगी नियन्त्रण गर्न सकेको छैन । श्रम गरेर खाने जनतामा अहिले त्राहिमाम बढेको छ । अहिले पाँच दलको सरकार भए पनि जो सरकारमा सहभागी छन् उनीहरूको मात्रै सरकार छ । समग्रमा यो पार्टीहरूको सरकार होइन । 

कूटनीतिक सम्बन्धका हिसाबले सरकार सफल कि असफल ?
कूटनीतिलाई सन्तुलित राख्नका लागि यो सरकारले केही प्रयत्नहरू गर्‍यो । विगतको सरकार एकातिरमात्रै ढल्किन खोजेको थियो तर यो सरकारले यसमा करेक्सन गरको छ । तर अहिले पनि केही आरोप भने लागेकै छ । कुरा के हो भने नेपालको जुन भूराजनीतिक अवस्थामा रहेको छ, दक्षिणमा भारत र उत्तरमा चीन छिमेकी राष्ट्रहरू हुन् । छिमेकी हामीले बदल्न नसक्ने भएकाले सम्बन्ध सुमधुर राख्नुपर्छ । अलि टाढाका छिमेकीलाई स्पेस दिँदै नदिने भन्ने होइन । त्यसैले छिमेकीहरूको विकासबाट हामीले फाइदा लिन सक्नुपर्छ । २०५० सम्म चीन र भारत दुनियाँका पहिलो र दोस्रो शक्ति राष्ट्र हुँदैछन् भन्ने प्रक्षेपण पनि छ । यो हाम्रा लागि सुखद् कुरा हो यसबाट हामीले फाइदा लिन सक्नुपर्छ ।