काठमाडौं – भारतको मणिपुरमा पहिरोमा परी मृत्यु भएकाहरूको संख्या बढेर २४ पुगेको छ । रेल मार्ग निर्माण कार्य भइरहेको मणिपुरको नोनी भन्ने ठाउँमा घटना भएको हो । पहिरोमा परी आजसम्म २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
उनीहरूका अनुसार पहिरोका कारण अरु ३८ जना अझै पनि बेपत्ता नै रहेका छन् । ती मध्ये १२ जना प्रादेशिक सेनाका व्यक्ति रहेका छन् भने २६ जना सर्वसाधारण रहेका छन् । बेपत्ता भएका सबैको खोजी कार्य भइरहेको जनाइएको छ । खोजी तथा उद्धारका लागि सेना, आसाम राइफल्स, प्रादेशिक सेना, स्थानीय स्वयंसेवक, उद्धारकर्ता र सरकारी अन्य अधिकारीहरू खटिएका छन् ।
घटनास्थलबाट प्रादेशिक सेनाका १३ जना र स्थानीय बासिन्दा पाँच जनालाई उद्धार गरिएको छ । मृत्यु भएका मध्ये प्रादेशिक सेनाका १८ जना र स्थानीय छ जना गरी २४ जनाको शव निकालिएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएका मध्ये १४ जनाको शव सम्बन्धितको आफन्तलाई बुझाइसकिएको छ । अरुको पनि पठाउने प्रक्रिया चलिरहेको जनाइएको छ ।
प्रतिक्रिया