काठमाडौं – अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । बीबीसीले समाचारमा जनाएअनुसार भूकम्पमा परि १५ सयभन्दा बढी नागरिक घाइते भएका छन् । भूकम्पमा मृत्यु हुने र घाइतेको उद्धारको काममा उद्धारकर्मीहरु परिचालित भएको त्यहाँको सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको संख्या धेरै भएकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार भूकम्पबाट सबैभन्दा बढी पक्तिका प्रान्तमा भएको छ । यहाँका ठूला भवन र घरहरुमा धेरै क्षति पुगेको समाचारमा जनाइएको छ । यसअघि सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूबाट घाइते ओसारिएको देखिएको थियो।
भूकम्पको केन्द्र अफगानिस्तानको दक्षिण(पूर्वी खोस्त सहरभन्दा ४४ किलोमिटर टाढा रहेको बताइन्छ । यो भूकम्पको महसुस अफगानिस्तान, पाकिस्तान तथा भारतसम्मै गरिएको छ । अफगानिस्तानको राजधानी काबुल तथा पाकिस्तानको राजधानी इस्लामाबादसम्मै भूकम्पको महसुस गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । यो भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँचसय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करिमीले तत्काल उद्धार, राहत तथा थप प्रकोप रोक्न आवश्यक टोली परिचालन गरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया